दण्डहीनता अन्त्य गर्न पत्रकारको माग

तस्बिरः एजेन्सी

दण्डहीनता अन्त्य गर्न माग गर्दै हेटौँडामा पत्रकारले आज प्रभातफेरी तथा कोणसभा गरेका छन्।

‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनता विरुद्ध दिवस’का अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ ले आयोजना गरेको कार्यक्रममा पत्रकारमाथि हुने आक्रमण, हत्या एवं प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी दण्डहीनता अन्त्य गर्नुपर्ने माग गरिएको थियो।

पत्रकार महासङ्घ प्रदेश ३ तथा जिल्ला शाखाका पदाधिकारी एवं सदस्यहरु तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारको हेटौँडा बजारको सीमाचोकबाट शुरु भएको र्याली बुद्धचोक हुँदै पुनः सीमाचोकमा पुगेको थियो।

र्यालीपछि आयोजित कोणसभामा नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भएको विचार व्यक्त गरे। लोकतन्त्रको पूर्ण अभ्यास भएमा न्याय र स्वतन्त्रताको वातावरण बन्ने र त्यसले स्वतः दण्डहीनता अन्त्यको अवस्था सृजना हुने अध्यक्ष विष्टको धारणा थियो।

पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्न दबाब दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ प्रदेश ३ का महासचिव कृष्ण सारु मगरले जानकारी दिए। (रासस)

प्रकाशित मिति: : 2019-11-24 13:23:36

प्रतिकृया दिनुहोस्