निर्मला प्रकरणमा डिएनएको च्याप्टर बन्द, विर्य पुरुषको नभएको प्रतिवेदनकाे ठहर

बिएल

'हात्ति आयो हात्ती आयो फुस्सा'

एक वर्षेदेखि निर्मलाको भेजिनल स्वाबबाट विकसित गरिएको डिएनए बोकेर अपराधी खोजिरहेको नेपाल प्रहरीलाई माथिको उखान ठ्याक्कै मिल्न आउछ। 

कञ्चनपुर भिमदत्त नगरपालकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा फेरि नयाँ टुइष्ट आएको छ। गतिलो प्रमाण मानेर प्रहरीले अनुसन्धान गरिरहेको डिएनएमा नै त्रुटी फेला परेपछि निर्मला बलात्कार र हत्याकाण्डमा टुइष्ट देखिएकाे हाे।

गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवनप्रसाद रिजालको नेतृत्वमा गठन गरेकाे तीन सदस्यीय छानविन समितीले बुझाएको प्रतिवेदनमा भेजिनल स्वाबमा भेटिएको दावी गरिएकाे पुरुष विर्यमाथि नै शंका उत्पन्न गरेकाे छ। करिब एक महिना लामाे अनुसन्धानपछि समितीले ११ वटा निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको छ। 

बिएल नेपाली सेवालाई प्राप्त प्रतिवदेनमा निष्कर्षको पाचौं नम्वर बुँदामा भनिएको छ–भेजिनल स्वाबमा भनिएको पुरुषको डिएनए विर्य हो भन्न नसकिने अवस्था छ।

प्रतिवेदनले भने जस्तै निर्मलाकाे भेजिनल स्वाबमा कुनै विर्य नदेखिएकाे हाे भने यसअघि प्रहरीले आफ्नाे प्रयाेगशालामा गरेकाे परीक्षणमा पुरुषकाे विर्य कसरी फेला पार्याे? यसले थप गम्भीर शंका उत्पन्न गराएकाे छ। 

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले भदौ २४ मा प्रकाशित गरेकाे रिपोर्टमा निर्मलाको भेजिनल स्वाबबाट संकलित नमूनामा एउटा मात्र 'वाईएसटिआर प्रोफाइल भेटिएको उल्लेख छ। यसकाे अर्थ हाे, उनकाे याेनाङमा पुरुषको विर्य देखिनु।

निर्मला–प्रकरण काण्डमा डिएनए परीक्षणमा ल्याबको त्रुटि हुनसक्ने प्रशस्त आधार रहेकाे भन्दै राष्ट्रिय मानवअधिकार आयोगले डिएनए र ल्याब परीक्षण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। तर, डाक्टर रिजालको नेतृत्वमा गठन भएको समितीले विर्यमा नै शंका उत्पन्न गरेपछि अब डिएनएकाे आधारमा अपराधी पहिचान गर्ने बाटो पनि टुङगिएको छ।

'अब डिएनएबाट नै अपराधी यहि हो भन्ने अवस्था छैन,एक डिएन विज्ञले बिएल नेपाली सेवालाई भने।

त्यति मात्र होइन, समितीको रिपोर्टमा निष्कर्षको बुँदा नम्वर १ मा निर्मलाको शव भेटिएको अवस्था, पोष्टमार्टम गरिएको समयबीच लामो अन्तराल भएका बताइएकाे छ। र, भनिएकाे छ– निर्मलाको योनीमा रहेको डिएनए क्षय र बिग्रिएको हुन सक्छ। 

समितीले प्रहरीको ल्याब अन्तर्राष्ट्रियस्तरको नभएको जानकारी गराउँदै पोष्टमार्टमका क्रममा प्रयोग भएको उपकरणपोष्टमार्टम गर्ने टेबलको कारणले पनि डिएनए दुर्षित हुन सक्ने तर्क गरेको छ।

निर्मलाकाे हत्या भएकाे २४ घण्टाभन्दा बढी समयपछि महाकाली अञ्चल अस्पतालमा साउन ११ मा लगेर पोस्टमार्टम गरिएको थियो। समितीले यस्ता घटनामा परम्परागत किटभन्दा आधुनिक किटको प्रयोग गर्न सुझाव दिएको छ। घटनामा किटको रुपमा चिकित्सकले झाडुको सिन्कासमेत प्रयोग गरेको पाइएकाे उल्लेख गरेकाे छ।

प्रहरीले निर्मला हत्या प्रकरणमा २०७५ भदौ ४ मा किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले दीलिपसिंंह बिष्टलाई सार्वजनिक गरेको थियो।

प्रहरीमा साविती बयान, परिस्थिति जन्य प्रमाण र  भौतिक प्रमाण समेतले विष्ट नै अभियुक्त भएको प्रहरीले दावी गरिरहेको समयमा डिएनए नमिलेपछि बिष्टलाई छोड्न प्रहरी वाध्य भएको थियो।

यसपछि पनि प्रहरीले ७० भन्दा बढीको डिएनए परीक्षण गराएको थियो। तर डिएनए नमिलेको भन्दै उनीहरु छुटेका थिए।

'अब डिएनएबाट अपराधी खोजेर हुदैन। भौतिक र परिस्थितजन्य प्रमाण जसको बलियो देखिन्छ, उसलाई नै अनुसन्धानको घेरामा तान्नुपर्छ,एक उच्च प्रहरी अधिकारीले बिएल नेपाली सेवालाई भने।

प्रतिवेदनमा भनिएको छ,'तीनवटै भेजिनल स्वाब निकालेर डिएनए गरिएकोबाँकी सुख्खा नमुना सामान्य फ्रिजमा राखिएको, यस्तो नमुना खोलिसकेपछि त्यही नमुना प्रयोगशालामा परीक्षण गर्न स्विकार्य हुदैन।'

प्रतिवेदनमा भनिएकाे छ– भेजिनल स्वाबबाट संकलन गरिएको नमुना बिग्रिने र दूषणको सम्भावना पनि उच्च रहेको हुँदा प्राप्त स्रोत वास्तविक अपराधीकाे हो वा दूषण परिमाण हो? निर्विवाद पुष्टाई सम्भव हुन नसक्ने अवस्थामा रहेकाले वाइ एसटीआर नतिजा एकमात्र प्रमाणको रुपमा लिन सकिन्न।

निर्मला बलत्कार काण्डमा अपराधीले छोडेको विर्य पाउने सम्भावना कम रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। निर्मला महिनावारी नभएको र महिनावारी नभइसकेको अवस्थामा योनीमा विर्य चाँडै नष्ट हुने उल्लेख गरिएको छ।

पछिल्लो समय निर्मलाकी आमा दुर्गादेवी पन्तले बिष्टविरुद्ध प्रहरीमा किटानी जाहेरी समेत दिइसकेकी छिन्। समितीले डिएनएनबाट अपराधी खोज्न नसकिने र डिएनएमा नै गल्ती भएको रिपोर्ट बुझाएपछि फेरि बिष्ट अनुसन्धानको दायरामा आउने सम्भावना देखिएको छ।

प्रकाशित मिति: : 2019-11-02 15:07:01

प्रतिकृया दिनुहोस्