महिला तथा बालबालिका हराउने क्रम बढ्दै

तस्बिरः बिएल

दाङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार चालू आर्थिक वर्ष २०७६/७७ का दुई महीनामा ३४ महिला तथा २९ बालबालिका हराएका छन् । जसमा १६ बालिका र १३ बालक हराएका छन् । तीमध्ये छ महिला, पाँच बालिका र पाँच बालक फेला परेका छन् भने अन्य २८ महिला ११ बालिका र आठ बालक सम्पर्कमा आउन सकेका छैनन्।

सो तथ्याङ्क हेर्दा महिला र बालबालिका गरी हराएका ६३ मध्ये १६ फेला परेका छन् भने अझै ४७ फेला पर्न सकेका छैनन् । हराएमा खोजीका लागि प्रहरीलाई खबर गरे पनि कतिपयले भने भेट्टाउँदा खबर नगर्ने प्रवृत्ति रहेकाले पनि तथ्याङ्कमा तलमाथि हुने गरेको उनको भनाइ छ । विभिन्न प्रलोभनमा पारेर महिला तथा बालबालिकालाई घरपरिवारबाट सम्पर्क टुटाएर काममा लगाउने, बाहिरी मुलुक लैजाने, महिला पारिवारिक समस्याका कारण तथा श्रीमान्, वैदेशिक रोजगारका क्रममा गएका र घरमा श्रीमतीले पैसा हिनामिना गरेर घरबाट हिँड्ने गरेकाले पनि यस्तो समस्या रहेको उनले बताए।

हराएका महिला बालबालिकालाई रोक्नका लागि बढी भूमिका अभिभावककै रहने हुँदा अभिभावक जिम्मेवार बन्न आवश्यक रहेको समेत प्रहरी निरीक्षक गौतमले बताए। यसैगरी नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । बालबालिकालाई काममा लगाउँदा पारिश्रमिक दिन नपर्ने भएका हुँदा श्रमको लागि लैजाने गरेको उनको भनाइ छ। रासस

प्रकाशित मिति: : 2019-09-25 09:44:47

प्रतिकृया दिनुहोस्