सुदूरपश्चिम सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक जोड्ने गरी गोरेटो बाटो बनाउने

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेक जोड्ने गरी सीमा क्षेत्रमा गोरेटो बाटो बनाउने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले उक्त कुरा बताएका हुन्। उनले सुदूरपश्चिम प्रदेश सरकार सीमा सुरक्षाका लागि संघीय सरकारसँग समन्वय गरी अगाडि बढ्न लागेको जानकारी दिए।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेकोमा सुदूरपश्चिम प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको उनले बताए।

उनले दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने उक्त भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाए।

मन्त्री शाहले यस प्रदेशको भारतसँग सिमा जोडिएको सिमाना र सीमा नाकामा आवश्यकताअनुसार बिओपी समेतको व्यवस्थासहित प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-11 16:36:27

प्रतिकृया दिनुहोस्