उपनिर्वाचन: ५५ पुरुष र नौ महिला उम्मेदवार

फाइल तस्बिर

आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्। निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेको जनाएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेका क्षेत्रमा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम आज सम्पन्न भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँको उम्मेदवारी फिर्तालगत्तै २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ।

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा विभिन्न राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नुहुनेभएको छ। यस्तै बाग्लुङमा राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङमा राजनीतिक दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोे आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-10 21:47:42

प्रतिकृया दिनुहोस्