उम्मेदवारी फिर्ता गराउन नेकपाले गर्‍यो हेलिकप्टरको प्रयोग, तैपनि समयमै पुग्न सकेनन् !

तस्बिरः उजिर मगर

उपनिर्वाचनमा आफ्ना बागी उम्मेदवार फिर्ता गराउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हेलिकप्टरको प्रयोग गरेको छ । बाग्लुङ २ (ख)को उपनिर्वाचनमा बागी उम्मेदवार बनेका नेकपाका शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टरको प्रयोग गरिएको हो ।

घर्तीमगरलाई लिन गएको हेलिकप्टर मेयर देवकुमार नेपालीको दरबार होटलको छतमा ल्याण्ड भएको थियो ।

पत्रकार उजिर मगरका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङले उम्मेदवारी फिर्ता लिने समय अपरान्ह १ बजेसम्मका लागि मात्रै तोकिएकाले सदरमुकाम जानको लागि हेलिकप्टर प्रयोग गरिएको हो। बुर्तीवाङबाट बाग्लुङ सदरमुकाम आउन सडकबाट तीन घन्टा लाग्छ। लगत्तै घर्तीमगर उक्त हेलिकप्टर चढेर सदरमुकाम लागेका थिए।

तर हेलिकप्टर चढेर बाग्लुङ बजार पुगेका घर्तीमगरको उम्मेदवारी भने फिर्ता हुन सकेन। नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले घर्तीलाई हेलिकप्टरबाट ल्याए पनि उम्मेदवारी फिर्ता लिने समय सकिएकोले फिर्ता हुन नसकेको जानकारी दिए ।

‘उहाँलाई हेलिकप्टरबाट ल्याइएको हो। तर उम्मेदवारी फिर्ता लिने समय १ बजेसम्म मात्रै थियो काम लागेन’ उनले भने, ‘अब चुनाव नै हुने भयो।’

प्रदेशसभाको सो क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ।०७४ को चुनावमा बाग्लुङ २ ‘ख’ मा जनमोर्चाकै टेकबहादुर घर्तीले नेकपाकै समर्थनमा चुनाव जितेका थिए । उनको निधन भएपछि १४ मंसिरमा उपचुनाव हुँदैछ ।

प्रकाशित मिति: : 2019-11-10 14:00:59

प्रतिकृया दिनुहोस्