तातोपानीको जर्मी । त्यहाँबाट थोरै उकालोमा छ, -गोप्थाड । सास फुलाउँदै उकालो लागे आइपुगिन्छ, ’रुखमुल ।’ पारिलो ठाउँ अनि न्यानो घाम । जस्तै चिसो मौसममा हिडे पनि गर्मीको अनुभूति भैहाल्छ यहाँ ।
रुखो डाँडामा निस्किएको ’रुखमुल’ पुग्नेबित्तिकै पिउँन मन लाग्छ चिसो पानी । पानी पेटमा पुग्दानपुग्दै शरीरभरी प्रवाह हुन्छ चिसोपन । अनि, विज्ञापन गर्न मन लाग्छ, पानीको । गरिदिन्छु, प्रतिरोधात्मक विज्ञापन- ’चिसो भनेकै कोकाकोला हुँदै होइन, चिसो त रुखमुलकै पानी हो ।’
बहुराष्ट्रिय कम्पनीको हल्का पेयपदार्थ कोकाकोलाका विभिन्न नामका उत्पादन चिसोपानीलाई विस्थापन गर्न गाउँगाउँ पुगेका छन् । तीन बीस तीन(६३) कटेकी तुली बुढा गाई चराउन जादैँछिन् । उनले बोकेको कोकाकोलाको खालि बोतलमा भरिन् ‘रुखमुल’को पानी । कास, त्यसरी नै बोतलमा राखेर रुखमुलको पानी बेच्न पाएको भए !
रुखो डाँडा, बुको खोलामा पानी आउँन थालेपछि त्यसको न्वारान गरियो ‘रुखमुल ।’ यस्तो डाँडामा कसरी पानी आयो ? अच्चम लाग्छ । अचम्म नलागोस् पनि किन ? यस्ता थुप्रै रुखा ठाउँ छन् जहाँ प्राय पानीको मूल भेटाउन मुस्किल पर्छ ।
एक दिन लछालकृति पैकेलो लाछु जिउलोबाट खेत बनाएर घर फर्किदै थिएँ । पिर थियो आफूभन्दा पहिला राजाका सिपाही पुगिहाल्छन् कि भन्ने । पुग्नु थियो अगाडि नै आफ्नो घर । हतार थियो हातगोडा धुनलाई । बाटोमा पानी कहीँ थिएन । अहिलेको रुखमुलमा पनि थिएन । उनले पाखोमा घुँडो कोचे पानी आयो ।(लछालकृती पैकेलाकाे लाेक कहावत अनुसार) त्यही पानीले गोप्थाड, जर्मी, लाछु सबैलाई पुग्यो । खेतमा सिंचाइ गर्न पुग्यो । त्यही पानी थियो जसले जुम्लामा पहिलोपटक रोपिएको धानलाई प्राण दियो ।
त्यहीँ थिइन्- धनकला ढाँगी । त्यहीँबाट तानिएका थिए- पाइप लाइन, त्यसमुनिका गाउँलेको प्यास मेटाउन । त्यहीँ थियो ठूलो धाँरो । थियो- गाइगोरुलाई पानी पिउँन मिल्नेगरी बनाइएको सिमेन्टको ठूलो डुँठो(गोडेलो) । खसिरहेथ्यो- कलकल पानी । संगीत छरिरहेथ्यो प्रकृतिलाई मनमोहक बनाउन । त्यही संगीतको तालमा प्रकृतिले रेकर्ड गरिरहेको थियो धनकलाको गीत ।
म कल्पनाको वायुयान चलाउँछु । उनी मेरो यान रिजर्भ गर्छिन् । हरेक वर्ष रोपाइँ गर्दा कठिन श्रमले जीउ ध्वस्त भएपछि झाल्लिएकी उनलाई लागेको थियो कम्तिमा यान रिजर्भ गरेर प्रत्येक ठाउँको रोपाइँ सजिलै सकाउन सकिन्छ । अब उनीलाई पुग्नुछ- जिल्लाका हरेक खेत खलियानको रोपाइँमा ।
चैत लाग्दै गर्दा उनी बेर्ना बनाउँदै हुन्छिन् । एकजोडी न्याउला आएर आगनमा गीत गाउँछन् । बीउ टुसाउन लागेको हुन्छ । माइतीको यादले उत्पात सताइदिन्छ । यादले मरुभूमिजस्तो रुखो बनेको अन्तस्करणबाट पोखिन्छ बह ।
ओल्लो बाडी पल्लो बाडी पालौरीको साग छ ।
चैत मास नबास न्याउला बोबै सउराई लाग्छ ।।
याद यसरी बढ्छ उनका बजै, बाबा, आमा, काका काकी, दाजु, भाउजू, भाइ-बहिनी सबैका अनुहार झलझली आँखा अगाडि आँउछन् । साउराईले व्याकुल बनाउँछ । यादसँगै दु:खका दिन पनि सुरु हुँदै थिए । कामको चटारोले माइती व्यस्त, उनी पनि व्यस्त । चाँडै भेट भैहाल्ने माैका थिएन । आग्रह गरिदिन्छिन्- ’न्याउला नबास’ भनेर ।
बीउ बढुन्जेल जेठको पहिलो साता आइपुग्छ । पहिलो रोपाइँको तयारी गर्न डाङ्ली सार्नु(साइत जुराउनु) थियो । घरको मान्यगन्य मस्टोले दिन दिएको थियो । उनले भने अनुसार गरी । विधि पुर्याइन् अनि गाइन् साइतको मागल ।
डाँडाकाँडा उदाइगया चुन्द(चन्द्र) र सुरज्या(सूर्य)
यिनु गडा जोतिहाल्या हलै र बलदो(गोरु)
कसुले त साया भयो कसुले इलछौ लायो
दूध दहीले सायो भायो ल्हौनीले इलछौ लायो
यिनु गडा रोपी हाल्या जाडु र सारसी
शंकर जोशी हेरी हाल ! तिम्री रानी दुलहीनी
सारली डाङ्ली !
(खडानन्द चौलागाई, कर्णालीको परिचय, पृस५५-५६)
रोपाइँ सुरु भयो । सुरु भएको होइन, रोपाइँ गर्ने ऋतु आएको हो । यो एक विशेष समय थियो । यो एक उत्सव थियो । संसारकाे अग्लाे स्थानमा धान फलाउने ऋतु । ऋतुहरुको ऋतु । त्यसैले गाइन् ’ऋतु रानाय !’
ऋतुको रानाय ! ऋतु, ऋतु आइर गयो ऋतु रानाय !
इल्छा पाती पलैगयो(बोटबिरूवा पलाए)
घाडी प्याउँली फुलिगयो (खोला किनारमा प्याउली फुल्न थाले ।)
घार मौरी ठुन्किगयो (बेगले उड्दै रस भेला गर्न थाले ।) ऋतु रानाय !
ऋतु रानाय ! ऋतु, ऋतु आइर गयो ऋतु रानाय !
पूर्व छुचो पश्चिम चाक्लो पुल्ति डाबय(ठुलाे खेत),
डिल लस्कै, घाडी छप्कै, मार्सी धानय,
बोबैका जीउनारी लाग्यै मार्सी धानय,
जियैका(आमा) औसर लाग्यै मार्सी धानय,
बाबैका जीउनारी लाग्यै.......!
धनकलाले लसक्क लस्किने धानका बाला हुन् भन्ने कामना गरिन् । माइती र पोइलीका मान्ने गन्ने देउतालाई रिझाउन मानाे फुल चामल, मुठाे ध्वजा तयार गरी र आग्रह गरिन्- सबै अनुकूल बनाइदिनु भनेर । एउटा यस्तो आशा गरी जसब़ सबैको पेट भरियोसॉ । सबैको जिउनारी लागोसॉ । उसको पसिनाले माटो सिञ्चित भयो । साराको भलाइको लागि धान रोपिरहेकी उनले आफैलाई भने भुलिन् । गीतामा भनिएजस्तै ‘कर्म गर तर फलको आश नगर’ अरुका लागि त गरिन् तर आफ्नै भने कुनै वास्ता गरिनन् ।
रोप्दारोप्दै उनलाई खेत खनजोत गर्न आएका हली-बाउसेको माया लाउँछ । अनि संवादमा हुन्छ सवाल-जवाफ ।
सवाल -रन घैटाय, क्या क्याको जीउनारी लायौ ? रन घैटाय,
जवाफ -रन घैटाय, दाल भातको जीउनरी लायौं, दुद भातको जीउनारी लायौ ।
उनीहरुले पाएको भोजनले धनकलालाई सन्तुष्ट बनाउँछ । उसले रोपाइँ सकाउँछ । लगत्तै आदेश दिन्छ । म यान चलाउछु । उसको आदेशमा यान अवतरण गराउने र उडाउने क्रम चलिरहेको छ ।
हामी खलंगा पुग्दा चन्दननाथको शेरा ढाबमा रोपाइँको तयारी भैरहेको छ । ऊ रोप्नलाई तयार हुन्छ । खेतको माटो दबदबे हिलो बनाइएको छ । उनी खेतमा पसिन् र रोपाइँसँगै सुरु भयो मागल ।
रघु बेसार जुमलाको ठुलो रोपाइँ आयो बेसार
रघु बेसार सिरमा सिन्दुर छैन क्या कि बेसार
रघु बेसार सिर सिन्दुर ताँई पु¥याउना रघु बेसार
रघु बेसार मुडा ढौठी ताँई पु¥याउना रघु बेसार
आँखी गाजल, आङ चोली, डाढ पाउडी ताँई पु¥याउना .....!
अब हामी कुडारी, सिञ्जाको तल्लो भेग नराकोट, हुँदै रनुखाना पुग्छौं । रोप्नीमाईको दर्शन गर्छाैं । उनी रोप्न लाग्छिन् । त्यही बताइन्छ धानको सग्लो जिवनकचक्र र इतिहासको सारांश ।
कुमाउकी तुलछाया, जुम्ला माइत आइछुन,
जाडो मार्स्या नासो ल्याइछुन,
चैतका आठ गते दिन सुपधारे(बताउने)भइन,
चैतका बारुवाँ(१२ गते) दिन चिसकोली(बेर्नामा छर्नु) गइन,
बैशाख रावणा मैना हरिछाया(हरियो) भइन,
जेठका रावणा मैना हातहात गाइन,
असार रावणा मैना कोरिपोछी(गोडमेल) भइन,
साउनको अँध्यारो मैना गुरवेनी(गर्भवती) भइन,
भदुअ रावणा मैना परसुति(सुत्केरी) भइन,
असौज रावणा मैना पहेलि छाया(पाक्नेबेला) भइन,
कात्तिक रावणा मैना लिन सुति(काटेर राखेको) रहिन,
(धानको विउलाई रावणा भनी उपमा दिएको हो ।)
धनकलाले सबै ठाउँको रोपाइँ गरिन्, सबैको मन जित्दै गइन् । उनको कामलाई, उनको रुप, गुणलाई सबैले तारिफ गरे । सहयोग पाउने जतिले उनलाई विछ्ट्टै राम्री देखे फलेको चामलजस्ती । सबैको मन जितेकी उनले पनि जवाफवा भनिन् 'तुम्मा मुखौदो दूध भात पसोस् ।'
प्रशंसाले जतिसुकै उत्साहित बनाए पनि जीउ विस्तारै गल्दै जान्छ पाकेको आँपजस्तै । लामो समय भेट्न नपाएका माइतीको फेरि याद आउँछ । आपतमा सबैभन्दा बढी सम्झनामा आउने माइती नै हुँदा रहेछन् । माइतीसम्म आफ्ना पीडाका सन्देश लिने माध्यम खोज्न मन लाग्छ । उनी अनुरोध गर्छिन् डालीमा बसेको सयपंखी चरालाई ।
डालीमा बसी ओइलन लाग्यो सयपंखी चरा माइतीदेश गैदियै,
बढा छन् दुख मै चेली कन सय पंखी चरा बजिउ ती कैदीयै(भन्दिएस),
बजुले सुन्लिन, बोब ती भुन्लिन, मो ल्याउन पठाउलिन् ।
उनले सोचेजस्तो भैरहेको थिएन । आशा गरेअनुसार माइतीले उनलाई लिन कोही पठाएनन् । उनी बाटोमा भेटिने जो कोहीलाई बोब, बजुजस्तै देख्न थालेकी थिइन् । जोगीको लहरको लस्कर आफूतिर आइरहेको देखिन् । माइतीको यादले अत्तालिएकी धनकला नजिकिन खोजिन् ।
बाटो तली बाटो माथि, डोइली फुलय,
जोगीको दंगल आयो, डोइली फुलय,
एक र जोगी बोब जस्ता, डोइली फुलय,
तिम्रो बोब होइन चेली, डोइली फुलय,
देश डुलुवा, गाउँ घुमुवा हुँ म चेली, डोइली फुलय
जोगीसँगको संवादबाट रसाएका आँखा र कुँडिएको मनले आश मान्दै धनकला लहरै देखिएका माताहरुको टोलीसँग संवाद गराउँछिन् ।
बाटो तली बाटो माथि, डोइली फुलय,
माताको दंगल आयो, डोइली फुलय,
एक र माता बजु जस्ती, डोइली फुलय,
तिम्री माता होइन चेली, डोइली फुलय,
देश डुलुवा, गाउँ घुमुवा हुँ म चेली डोइली फुलय
अब उनी निराशाको घनघोर अँध्यारोमा धकेलिएकी हुन्छिन् । भक्कानो फुटिसकेको थियो । विरह पोखिन थाल्छ ।
पियाला पैताला, माल जान्या सुन्तलीका
जनादेउ मैतेला, बोब सउराई लागिगयो,
बजु, बाबा, आमा साउराई......लागिगयो !
चित्त बुझाउन गाह्रो हुन्छ । साह्रै हुँदापनि माइती लिन नआएपछि भाइसँग गुनासो सुरु हुन्छ उनको ।
भाइलु मेरायौ, ढोल पूर्व पोइला दियौ, भाइलु मेरायौ,
भाइलु मेरायौ, ढाँड बिजाउछन् पाउ दुख्दाछुन, भाइलु मेरायौ,
दिदै मेरीयौ, वायुपंखि घोडो दिउला, दिदै मेरियौ,
दिदै मेरीयो, सजसज पाइली सार, लिदै मेरियौ
भाइले भनेजस्तो सजसजले हुनेवाला थिएन । घरका केही सदस्य मरे पनि गुटुमुटु पारेर लुकाएर काम जानुपर्ने समय थियो । त्यतिकै भनिएको थिएन ’सुंगुरको जस्तो काम गर्नु, कुकुरको जस्तो सुत्नु’ भनेर । संसारमै बढी उचाइमा धान फलाउन चानचुने मेहेनतले पुग्ने कुरै थिएन । गलेको ज्यान लिएर उनी पुग्छिन् संसारको उचोस्थान छुम जिउलोमा । त्यही गाउँन थाल्छिन्-
रोप रोप रोप्नेरीऔ, हातको बीउ छिन्जेल,
आउनै रया मा बहिनीयौ, यो मरो जीउ छिन्जेल,
आगे साल भेट गरौंला, यो मेरो जीउ छिन्जेल,
आउनै रहुँला, जानै रहुँला, जीयाको जीउ छिन्जेल.....!
त्यहीँ कसैले सोधिदिन्छ धनकलालाई । जवाफ दिन्छ बेर्नामा जन्मेर खेतमा बास बसेकी छु ।
प्रश्न -काँ हो तिम्मो जनम भूमि, काँ हो तिम्मो बाँस?
उत्तर -बेर्ना हाम्मो जनम भूमि, खेत हाम्मो बाँस।
निकै समयपछि बोब(बाजे) भेट्न आउँछन् । लामो समयको अन्तरालले उनीहरुलाई पराई बनाइदिएको हुन्छ । नातिनी बोब चिन्न सक्दिनन् । बोब भन्छन् ।
सोइसर्मिलाइका, सोइसर्मि घट्ट, सोइमेरी लाछौ, उवा पिन्निनौ क्या ?
सोइ छुट भयाका, सोइ बाह्र वर्ष, बोब चिन्निनौ क्या ?
फराकिलो समयको अन्तरले आफ्ना बोबलाई चिन्न नसकेर आत्मग्लानी हुँदा पनि बोबको उपस्थितिले धनकलाको मन हलुका हुन्छ । काम बाँकि नै रहेकोले चाहना हुँदाहुँदै पनि जान पाउँदिनन् । बोब घर फर्किन लाग्छन् । उनी हिक्का छोडेर रुन्छिन् ।
दुल्लुका देवलमाथि क्याचडो, बासन लाग्यो,
बोबको छुटन्या बेला, हृदय फाटन लाग्यो ।
सारा जिल्लाभरिको धान रोपार डाढ कुप्रो बनाउदै धनकलाले मधुरो स्वरमा आदेश दिदा म यथार्थमा रुखमुलनेरै हुन्छु । प्रकृतिले रेकर्ड गरिरहेको गीत सकिन्छ । म एकखेप फेरि पानी पिउँछु र फेरि भनिदिन्छु -’चिसो भनेकै रुखमुलको पानी’
याे पनि: