भिजिट भिसाको मारमा नेपालीहरू, अध्यागमन कर्मचारीको सेटिङमा हुन्छ काम (भिडियोसहित)

तस्बिरः बिएल

युएईमा बीएल भाग–२

तीन वर्षयता सरकारले भिजिट भिसामार्फत खाडी मुलुक जाने नेपालीहरूलाई निकै कडाई गरेको दावी गर्दै आइरहेको छ । अझ, नेपाली युवतीको हकमा वैदेशीक कानुनलाई झन् बढी कडा बनाएको बताउँदै आएको छ।
तर, सरकारले भिजिट भिषामा खाडी जानेका लागि जति नै कडा कानुन बनाएको बताए पनि त्रिभुवन विमानस्थलको दृश्य सरकारले दावी गरेअनुरुप देखिदैन्।
देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि जो कोही नेपाली भिजिट भिषामा बिना रोकटोक खाडी मुलुक गएको देखिन्छ।

सरकारी दावीलाई गलत सावित गर्न विमानस्थलका केही अध्यागमन कर्मचारीहरू अहोरात्र खटेका देखिन्छन्।
यसको भुक्तभोगी म आफंै भएको थिए। केही साताअघि कामको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई प्रस्थान गर्दा अध्यागमन कर्मचारीको व्यवहार देखेर म आफैं चकित परे।
मसँगै अध्यागमनको लाइनमा एकजना सुट लगाएका अधबैसें अगाडि उभिएका थिए।
उनको पासपोर्ट हेरेपछि अध्यागमनका एक कर्मचारीले भने, ‘तपाईं जान मिल्दैन्। उता बस्नुस्।’
मलाई लाग्यो, अध्यागमनका कर्मचारीले राम्रो काम गरिरहेका रहेछन्।
तर, शारजहा पुगेपछि मेरो भ्रम टुट्यो। अध्यागमन कर्मचारीले रोकेका व्यक्ति कुनै सेटिङ बिना युएई जान लागेका रहेछन्।
शारजहामा बिचल्लीमा परेका १४ नेपालीले अध्यागमन कर्मचारीको पोल मसँग खोले।
विमानस्थलबाटै सेटिङमार्फत शारजहा पुगेका गोपाल बिकले भने, ‘हामीलाई काठमाडौंबाट पठाउने एजेन्टले अध्यागमनसँग सेटिङ छ, आत्तिनु पर्दैन्। सोधे भने घुम्न जान लागेको हो भन्नु भनेर सिकाएका थिए।’
तर, अध्यागमन कर्मचारीसँग सेटिङ भइसकेको हुनाले ती १४ मध्ये कसैलाई केही प्रश्न गरिएन्।

करिब ५ दिन भोकभौकै चौरीमा सुतेका नवलपरासी र बुटवलका ती नेपाली दाजुभाई अहिले शारजहामा अध्यागमन कर्मचारीको त्यही सेटिङका कारण अलपत्र परेका छन्।
वैदेशीक रोजगारमा लामो समय काम गरेकाहरू अध्यागमन कर्मचारीसँगको मिलेमतोमा दैनिक एक सय युवायुवती खाडी मुलुक जाने गरेको दावी गर्छन्।
श्रोतका अनुसार यसरी खाडी जाने एक व्यक्तिबाट १ लाख १५ हजारदेखि २ लाख ५० हजारसम्म उठाउने गरिन्छ।
युएईमा काम नपाएर बिचल्ली भएका बिक आफूले पनि २ लाख ५० हजार रुपैयाँ तिरेको दावी गर्छन्।

श्रोतका अनुसार पछिल्लो समय सरकारले प्रतिवन्द गरेको इराक जानका लागि ‘म्यानपावर’ व्यवसायीहरूले दुबईलाई सहज रुट बनाएका छन्। त्यसैले अध्यागमन कर्मचारीको सेटिङ पनि यही अनुसार दह्रो हुने गरेको छ।
दुबईमा इराक लैजाने ट्राभल एजेन्टहरू छ्यापछ्याप्ती भेटिन्छन्।
‘नेपालबाट सिधै जान नमिल्ने भएको हुनाले पहिले भिजिट भिषामा युएई ल्याइन्छ र यताबाट भिषा निकालेर इराक पठाउने गरिएको छ,’ एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ भन्छन्।

दुबई–नेपाल कनेक्सन ।

दुबईमा रहेका केही ट्राभल एजेन्सीले भिजिट भिषामा मानिस ल्याएर यतै अलपत्र पार्ने गरेको रहस्य खुलेको छ ।
यसै साता भिजिट भिसामा दुबई आएका नेपालगञ्जका युवा बरदुबईमा भएको एक ट्राभल एजेन्सीले आफूलाई भिजिट भिसा मिलाइदिएको बताउँछन्।
‘मलाई बरदुबईको एउटा ट्राभल एजेन्सीले भिषा र टिकटसँगै बिमानस्थलमा सेटिङ पनि मिलाइदिएको थियो,’ उनी भन्छन्।
उनी पनि आफू २ लाख २० हजार खर्चेर दुबई आएको बताउँछन्।

विमानस्थलमै कार्यरत एक प्रहरी अधिकारी भिजिट भिषाको सेटिङ सिधै दुबईबाट हुने गरेको बताउँछन्।

उनी भन्छन्, ‘युएईको बरदुबईमा रहेका केही ट्राभल एजेन्सीले सबै सेटिङ उतैबाट मिलाउँदै आएका छन्। भिसा देखि होटल बुकिङ सबै उतैबाट हुन्छ।’
उनी उजुरी नपर्दासम्म प्रहरीले हस्तक्षेप गर्न नमिल्ने तर अध्यागमनका कर्मचारीले केही पैसाको लोभमा फसेर आफ्नै दाजुभाई र दिदीबहिनीलाई विदेशमा विचल्ली बनाउँदै आएको बताउँछन्।

प्रकाशित मिति: : 2019-07-04 17:13:40

प्रतिकृया दिनुहोस्