उत्तर प्रदेश, मध्य प्रदेश र जम्मु–काश्मीरमा कर्फयुको घोषणा, अयाेध्यामा इन्टरनेट सेवा काटियाे

Agency

भारतको सबैभन्दा विवादास्पद मुद्धा राम जन्मभूमी–बाबरी मस्जिदको जमिन विवादको आज भारतको सर्वोच्च अदालतले अन्तिम निर्णय गर्दैछ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गगोईको नेतृत्वमा ५ न्यायाधीशको बेञ्चले मुद्धाको फैसला शनिबार बिहान पौने ११ बजेदेखि सुनाउँदै छ।

५ सय वर्ष पुरानो तथा ७० वर्षदेखि अदालतमा विचाराधीन रहेको यो मुद्धाको गम्भीर्यतालाई महसुस गरेर सरकारले उत्तर प्रदेश, मध्य प्रदेश र जम्मु तथा काश्मीरमा धारा १ सय ४४ लागु गरेको छ।

उत्तर प्रदेश खास गरेर विवादास्पद अयोध्यामा केही दिन अघिदेखि नै राती कर्फयु लागु गर्दै आइरहेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सर्वोच्चको निर्णयपछि शान्ति व्यवस्था कायम राख्न जनतासँग अपील गरेका छन्।

साबधान! भारत जाँदै हुनुहुन्छ?

सरकारले मुद्धाको संवेदनशीलतालाई मनन गर्दै सोमबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। हिन्दु र मुसलमानबीच दंगा भड्किन सक्ने आशंकामा विभिन्न ठाउँलाई ४ वटा समूहमा विभाजन गरिएको छ। जसमा विवादास्पद अयोध्यालाई ‘रेड जोन’ मा राखिएको छ।

यस्तै, महाराष्ट्रबाट मात्र थप १० हजार सिआरपिएफका जवानलाई बोलाइएको भारतीय सञ्चारमाध्यमले बताएका छन्। अयोध्यालाई सैनिक छाउनीमा रुपान्तरण गरिएको छ। साेसल मिडियामा नकरात्मक सन्देश फैलन सक्ने सम्भावनाका बीच आज दिनभरी इन्टरनेट सुविधा बन्द गरिएकाे छ।

सन् १९९२ मा सत्तारुढ भारतीय जनता पार्टीकै समर्थकले बाबरी मस्जिदकाे ढाँचा फुटाएका थिए। उत्तर प्रदेश सरकारले आज अयाेध्यामा चार पाग्रे गाडीलाई प्रवेश गर्न राेक लगाएकाे छ। प्रहरीले दंगा फैलाउन सक्ने सम्भावनाका बीच ४२ जनालाई यसअघि नै पक्राउ गरिसकेकाे छ।

 

प्रकाशित मिति: : 2019-11-09 08:51:57

प्रतिकृया दिनुहोस्