बागलुङ–२ (ख) मा वाम गठबन्धनबाट शाही उम्मेदवार

फाइल तस्बिर

बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्यको उपचुनावमा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार चयन भएका छन् । पार्टी केन्द्रले आज उम्मेदवारको टुङ्गो लगाएको राजमो जिल्ला अध्यक्ष अमर थापाले जानकारी दिए ।

वाम तालमेलको सहमतिअनुसार उक्त क्षेत्रमा राजमोलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सघाउने भएको छ ।

राजमो बागलुङले सम्भावित उम्मदेवारका रुपमा शाहीसँगै गत वर्ष निधन भएका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीकी पत्नी सुनमाया र जिल्ला उपाध्यक्ष धर्म कुँवरको नाम सिफारिस गरेको थियो । जिल्लाको राय, सुझाव र सिफारिसका आधारमा राजमो केन्द्रीय समितिले उम्मेदवार छनोट गरेको हो ।

अघिल्लो चुनावमा पनि तत्कालीन वाम गठबन्धनका तर्फबाट राजमोका उम्मेदवार घर्ती विजयी भएका थिए । घर्तीको गत वर्ष निधन भएपछि रिक्त रहेको प्रदेशसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।

प्रकाशित मिति: : 2019-11-05 22:08:10

प्रतिकृया दिनुहोस्