युएईमा आत्महत्या र मदिरा सेवनबाट मर्नेको संख्यामा बृद्धि, यस वर्ष १ सय ३ को निधन

CNN

युएईमा बीएल–४

संयुक्त अरव इमिरेट्स (युएई) मा रोजगारीका लागि आएका १ सय ३ नेपालीले एक वर्षको अवधिमा ज्यान गुमाएका छन्। 

युएईको आबुधाबीमा रहेको नेपाली दुतावासले जनाएअनुसार रोजगारीका लागि आएका सयभन्दा बढी नेपालीहरूको विभिन्न कारणले मृत्यु भएको छ।
दुतावासका अनुसार ३१ नेपालीले आत्महत्या गरेका छन् भने ५२ जनाको विभिन्न कारणले मृत्यु भएको छ।

सडक दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या १८ रहेको पनि दुतावासले जनाएको छ। यस्तै २ नेपालीको हत्या भएको छ ।
हत्या आपसी विवादमा नेपालीबाटै भएको दुतावासले जानकारी दिएको छ।

आत्महत्याको घटना बढ्दो

नेपाली दुतावासका अनुसार युएईमा आत्महत्या गर्ने नेपालीको संख्या बढ्न थालेको छ ।

आत्महत्या गर्नुको कारण विभिन्न देखिएको दुतावासले जनाएको छ।

राजदुत कृष्णप्रसाद ढकाल भन्छन्, ‘घरबाट ठूलो सोच पालेर नेपाली दाजुभाई यहाँ आउने गर्नुहुन्छ। तर, यहाँ सोचेजस्तो काम र तलब नभेटिएपछि चरम निराशामा गएको थुप्रै घटना देखिएको छ।’

नेपालीहरूले आत्महत्या गर्ने अर्को कारण लामो समय घर फर्किन नपाउने समस्या पनि हो।

राजदुत ढकाल भन्छन्, ‘रोजगारीका लागि आएका दाजुभाईहरू लामो समय घर जान पाउँदैनन्। उनीहरू हरेक दिन घरमा विभिन्न खाले समस्या सुन्ने गर्छन्। यसले उनीहरूलाई विचलित तुल्याउने गर्छ।’

युएईमा अहिले नेपाली कामदारहरूमा आत्महत्या विस्तारै कहाली लाग्दो समस्या बन्न थालेको छ।

यसको रोकथामका लागि दुतावासले नेपालीहरू काम गर्ने ‘लेभर क्याम्प’ मै पुगेर विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ।

मदिरा सेवनले मृत्यु हुनेको संख्या बढ्यो

रोजगारीका लागि युएई आए पनि मदिरा पीउने लतले केही नेपालीलाई छोडेको छ्रैन्। यसले मृत्युलाई पछ्याइरहेको छ।

नेपाली दुतावासका अनुसार यस वर्षमात्र मदिरा सेवनबाट ज्यान गुमाउँने नेपाली संख्या ५२ पुगेको छ।

३५ डिग्रीभन्दा माथि गर्मीमा काम गरेर फर्किएका नेपाली मजदुरहरू साँझ गुणस्तरहीन मदिरा सेवन गरेर सुत्ने गर्दछन्। र, उनीहरू राती सुतेपछि सुतेको सुतै हुने। ओछ्यानमै मृत्यु वरण गर्ने समस्या पनि बढ्दै गइरहेको छ।

‘यो निकै डर लाग्दो समस्या हो,’ राजदुत ढकालले भने, ‘यहाँ नेपालमा जस्तो जहाँ त्यहीँ मदिरा बिक्रि वितरण गर्न पाइँदैन्। यसको फाइदा उठाउँदै नेपालीहरूले नै गुणस्तरहिन मदिरा लुकीछिपी व्यापार गर्ने गर्छन्। त्यही मदिरा आफ्नो साथीको ज्यान लिने माध्यम बन्ने गर्छ।’

सडक दुर्घटना ज्यान गुमाउँने पनि उत्तिकै

बितेको एक वर्षमा १८ नेपालीले सडक दुर्घटनामा ज्यान गुमाएका छन्। युएईको विभिन्न शहरमा भएको छुट्टाछुट्टै सडक दुर्घटनामा मृत्यु हुने नेपाली संख्या बढेको दुतावासले बताएको छ।

नेपाली कामदारले जथाभावी बाटो काट्ने र द्रुतगतिमा आएको सवारीको तिब्रगतिलाई नाप्न नसक्दा दुर्घटना हुने गरेको छ।

गाउँ घरमा गाडी नदेखेका र काठमाडौंलगायत विभिन्न शहरमा बाटो असावधानीपूर्ण तरिकाले बाटो काट्ने गरेका नेपालीहरू युएईमा पनि त्यही फर्मुला प्रयोग गर्न खोज्छन्। त्यसले नै संकट निम्त्याइरहेको छ।

राजदुत ढकालले ब्रेक एन लिंक्ससँग भने, ‘हामीले धेरै पल्ट नेपाली दाजुभाईलाई सम्झाईसकेका छौं। जनचेतनाको कार्यक्रमलाई अझै तिब्र बनाउनु पर्ने आवश्यकता छ।’

प्रकाशित मिति: : 2019-07-07 16:58:39

प्रतिकृया दिनुहोस्