बिजेपीलाई उद्दवको हुँकार, शिव सेनालाई १७० विधायकको समर्थन

Agency

महाराष्ट्रमा सरकार बनाउने विषयलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) र शिव सेनाबीच तित्तता सुरु भएको छ। शिव सेनाले ५०–५० को फर्मुलाअन्तर्गत आधा–आधा कार्यकाल मुख्यमन्त्री पद बाड्ने प्रस्ताव राखेपछि बिजेपी तनावमा देखिन्छ। शिव सेना प्रमुख उद्दव ठाकरे सरकार बनाउन आवश्यक पर्ने संख्या आफूसँग भएको भन्दै बिजेपीलाई घुँडा टेकाउने अभियानमा छन्। उनले १ सय ७० विधायक आफूसँग भएको र बिजेपीले आफ्नो प्रस्तावमा समर्थन नजनाए शरद पवारको राष्ट्रवादी कांग्रेस पार्टीसँग मिलेर सरकार बनाउन आफू तयार भएको बताएका छन्।

यसैबीच आइतबार बाढी प्रभावित क्षेत्रको भ्रमण गर्दा उद्दव र मुख्यमन्त्री देवेन्द्र फडणवीस अलग देखिएका थिए।

स्थानीय पत्रिकाका अनुसार उद्दवले आफ्नो छोरा आदित्यलाई मुख्यमन्त्री बनाउन शिव सेनाका नेता संजय राउतलाई शरदका भाई अजित पवारसँग कुरा गर्न पठाएका छन्। शिव सेना नेता राउतले हाल १ सय ७० विधायक आफ्नो पार्टीलाई समर्थन दिन तयार रहेको र यो संख्या १ सय ७५ सम्म पुग्ने बताएका छन्।

शिव सेनाले आफ्नो मुखपत्र सामनामा पनि भाजपाले ५०–५० को अवधारणालाई नमानेको खण्डमा राष्ट्रवादी कांग्रेस पार्टी र कांग्रेसको समर्थनले सरकार बनाउने लेखेको छ।

प्रकाशित मिति: : 2019-11-03 16:51:21

प्रतिकृया दिनुहोस्