बिदेशबाट नेपाल जाँदा सुन लिएर जाने नेपालीका लागि ओली सरकारले केही राहत दिएको छ। यसअघि ५० ग्रामको सुनको गहना मात्र लैजान पाइने ब्यवस्था रहेकोमा अब भन्सार तिरेर एक सय ग्रामसम्म काँचो सुन र दुई सय ५० ग्रामसम्मका सुनका गहना लैजान पाइने भएको छ।५० ग्रामसम्मका सुनको गहनामा भने भन्सार नलाग्ने ब्यवस्था गरिएको छ।
ओली सरकारले प्रस्तुत गरेको पछिल्लो बजेटमा यस्तो प्रावधान ल्याइएको छ। विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको सीमा बढाएर यति पुर्याइएको हो। तर, यतिका सुन र गहना सबै भन्सार नतिरी भने लैजान पाइदैन।
कस्तो छ भन्सार व्यवस्था ?
सुनका गहनाको हकमा ५० ग्रामसम्म गहनाका लागि भन्सार लाग्दैन। त्यसभन्दा माथि दुई तहको भन्सार व्यवस्था गरिएको छ। जसअनुसार थप एक सय ग्राममा प्रति दश ग्रामको सात हजार दुई सय रुपैयाँ भन्सार तिर्नुपर्ने हुन्छ। बाँकी एक सय ग्रामको नौ हजार भन्सार लाग्छ।
५० ग्राम- भन्सार लाग्दैन
त्यसपछिको १०० ग्राम : प्रति १० ग्रामको सातहजार दुईसय
त्यसपछिको १०० ग्राम : प्रति १० ग्रामको नौहजार
काँचो सुनको हकमा भने भन्सार छुटको व्यवस्था छैन। तर, यसमा पनि दुई तहको भन्सार दर ब्यवस्था गरिएको छ। पहिलो ५० ग्रामका लागि प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ र बाँकि ५० ग्रामको प्रति १० ग्राम सात हजार दुई सय रुपैयाँ भन्सार व्यवस्था गरिएको छ।
एक सय ग्रामभन्दा बढी काँचो सुन र दुई सय ५० ग्रामभन्दा बढीका सुनका गहना भने कुनै पनि मानेमा नेपाल भित्र्याउन सकिन्न। त्यस्तो सुन भने भन्सारले जफत गर्ने र लैजानेलाई कानुनी कारबाही गर्ने व्यवस्था गरिएको छ।
गैरआवासीय नेपाली कार्डमा नेपाल गएकाहरूले पनि यही सुविधा प्रयोग गर्न पाउँछन्। तर, विदेशीले भने भन्सार तिरेर पनि सुन र सुनका गहना नेपाल लैजान सक्दैनन्। सुनका गहनाको हकमा भने उनीहरूले पछि फिर्ता गर्ने शर्तमा धरौटी राखेर लैजान सक्छन्। यसका लागि गहनाको कुल लागतको २० प्रतिशत धरौटी राख्नुपर्ने हुन्छ।जुन धरौटी पछि गहना देखाइएपछि फिर्ता हुने प्रावधान राखिएको छ।
कतिपय नेपालीमूलका मानिसहरू विदेशी पासपोर्टमा नेपाल गैरहेका हुन्छन्। उनीहरूले सुनका गहना पनि लगाएका हुन्छन् र सुन लगेका पनि हुन सक्छन्। उनीहरूले सुन त लैजानु नै भएन। गहनाचाँहि २० प्रतिशत धरौटी राख्नुपर्छ भनेर सोचेर लगे भयो। अन्यथा कुनै पनि बेला अप्ठ्यारोमा पर्न सकिन्छ।