वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारलाई लक्षित गर्दै कतार भिषा सेन्टरले नेपालमा आफ्नो सेवा सुरु गरेको छ।
काठमाडौं महानगरपालिका–४ महारागञ्जस्थित भिषा सेन्टरको बुधबार नेपालका लागि कताराका राजदूत युसुफ विन मोहम्मद अल हैल र कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले औपचारिक रुपमा उद्घाटन गरे।
सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ । सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा गर्न पाउनेछन्। कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछ। यसअघि ती सबै काम कतारमा हुने गर्थे। अब यी सबै काम नेपालबाट पूरा हुनेछ जसका कारण नेपाली कामदार कतारले पुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन् ।
कतारले भिसा सहजीकरणका लागि बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत देशमा यस्ता भिसा सेन्टर सञ्चालन गरिसकेको छ । यसले नेपाली श्रमिकहरूलाई भिसा प्रोसेसिङका लागि लामो समय कुर्नुपर्ने झन्झटबाट मुक्त गरेको छ। मेडिकल, बिमा र अन्य व्यक्तिगत कागजातहरु राम्रोसँग स्क्रिनिङ गरिने भएकोले मेडिकल फेल वा अन्य विभिन्न समस्या भएका व्यक्तिहरु नेपालबाट नै कतार जान पाउने वा नपाउने विषयमा टुंगो लाग्ने हुँदा कतार पुगेर फर्किनुपर्ने अवस्थाको पनि सेन्टरका कारण हट्ने कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले बताए ।
कतार भिसा सेन्टरबाट रोजगारीमा जाने नेपाली श्रमिकहरुको यकिन तथ्यांक राखिने हुँदा नेपाली रोजगारीमा कति गए र कति नेपाली कतारबाट फर्केर आए, कुन श्रमिक कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी अब सहज रूपमा प्राप्त हुनेछ । कतारको सरकारी प्रकृया अनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई भविष्यमा कुनै पनि समस्या नआउने नेपालस्थित कतारी दूतावासले जनाएको छ ।
कार्यक्रममा कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले महिनौ अघिदेखि गरेको प्रयास अहिले साकार भएको बताए । उनले भने–‘हामी नेपालमा धेरै काम गर्न चाहन्छौ । हामी नेपालीलाई धेरै मद्दत गर्न चाहन्छौ, लगानी गर्न चाहन्छौ । कतारमा सन् २०२२ मा हुने विश्वकपको लगभग ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ । हामी नेपालमा पनि खेलमैदान बनाइदिन चाहन्छौ । नेपालमा ठूला–ठूला पूर्वाधार निर्माण गर्न चाहन्छौं ।’ मोहन्नदीले
सबैलाई यो सुन्दर अवसरको भएको भन्दै हार्दिक धन्यवाद समेत ज्ञापन गरे ।
राजदूत हैलले भने –‘हामी नेपालमा के गर्न चाहन्छौ रु भिसा सेवामात्र पक्कै हैन, हामी त नेपाल देशको समृद्धि पनि चाहन्छौ र नेपाली कामदारहरु कतार जानुपूर्वका विभिन्न प्रक्रियागत झमेलाहरु जस्तो फिंगरप्रिन्ट, बायोमेट्रिक तथ्याङ्क, मेडिकल टेस्ट, भिसा परामर्श, कार्य सम्झौता परामर्श आदिजस्ता कामहरू छिटो छरितो, सरल र सहज ढङ्गले तुरुन्तै गर्नु नै हाम्रो लक्ष्य हो । यो सिन्डिकेट हैन, यो पूर्ण निशुल्क सेवा हो । यसमा कुनैपनि सिन्डिकेट लादिएको हुँदैन । अर्थात, कामदारहरूको सम्पूर्ण प्रक्रियाहरू यहाँ लगभग २ देखि ३ दिनभित्र नै सक्छौ । यसको लागि कतार जान चाहने नेपालीहरूले एजेन्टहरूलाई एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन । यही नै कतार भिसा सेन्टरको सुन्दर पक्ष हो । यही नै कतार भिसा सेन्टरको मूल उद्देश्य हो ।’
कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष सलिम मिया अन्सारी, नेपालका संचालक हेम गुरुङ, मेनपावर व्यवसायी, पत्रकार र यो क्षेत्रसँग सरोकार राख्ने व्यवसायीहरुको उपस्थिति रहेको थियो । उपस्थितहरुले कतार भिसा सेन्टरको अध्ययन गरि स्थलगत भ्रमण गरेका थिए ।