सगरमाथाको उचाई नापेर फर्किएको टोलीले भन्यो- वास्तविक नाप आउन ६ महिना लाग्छ

तस्बिरः नेहा शर्मा

सगरमाथाको नयाँ उचाईको वास्तविक नाप आउन ६ महिना लाग्न सक्ने उचाई नापेर फर्किएको टोलीले जानकारी दिएको छ। सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली बिहिबार काठमाडौं फर्किएको हो। नेपाल सरकारका तर्फबाट आफ्नै स्रोत र सानधनमा पहिलो पटक सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो।

सगरमाथाको उचाईको वास्तविक नाप आउन अझै ६ महिना लाग्ने नापी विभाग अन्तर्गतको सगरमाथा उचाई मापन कार्यलयका संयोजक शुसिल डंगोलले जानकारी दिए।

सगरमाथाको मापन प्रक्रिया सहज थिएन। सगरमाथाको उचाई मापन गर्न परम्परागत र आधुनिक गरी दुई किसिमको प्रविधिको प्रयोग गरिएको थियो।

उचाई नाप्न गएको टोलीले सगरमाथाको चुचुरोमा जिएनएसएस नामक रिसिभर राखेको छ जसले भू-उपग्रहको आधारमा त्यसको वरपरको अवस्थिति पत्ता लगाउँछ।

त्यो अवस्थितिको आधारमा सगरमाथाको मापनको लागि तोकिएका विभिन्न विन्दुहरुलाई आधार मानेर विभिन्न तथ्याङ्क संकलन हुन्छ जसको आधारमा सगरमाथाको वास्तविक उचाई पत्ता लगाइने डंगोलले जानकारी दिए।

उनले दुवै प्रविधिको प्रयोगबाट उचाई मापन गरिए पनि आधुनिक प्रविधिबाट गरिएको मापनले नै आधिकारिकता पाउने दाबी गरे।

सचिवालय संयोजक डंगोलले सगरमाथा उचाईमापनको   ८० प्रतिशत काम मात्र पुरा भएकोले जानकारी दिए।

उनले सगरमाथा नाप्न गएको टोली चुचुरोमा पुगेर १ घण्टा १६ मिनेटसम्म अध्ययन अनुसन्धानमा बिताएको बताए। ‘त्यहाँ हाम्रो टिमले पुगेर काम पनि गर्नुपर्ने थियो। त्यसैले त्यहाँ अब्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, जुन निकै गाह्रो काम पनि थियो’, उनले भने।

‘चुचुरोमा गएको टोली फर्कने बेला अक्सिजन सकिएपछि सबै जना अत्तालिएका थिए। तर, बिच बाटोमा भेटिएका अन्य मानिसले अक्सिजन उपलव्ध गराएपछि स्थिति समान्य बन्यो,’ गएको टोलीलाई उदृत गर्दै उनले भने।

सगरमाथा उचाई मापनको लागि गत आर्थिक वर्षमा २ करोड र यस वर्ष १५ करोड रूपैया खर्च गरिएको छ। तर, यतिका धेरै खर्च गरेर मापन गरिएको सगरमाथाको उचाईलाई भोलिका दिनमा अन्तर्राष्ट्रिय जगतले मान्यता दिन्छ या दिँदैन भन्ने प्रश्न भने सिर्जना गरेको छ।

अहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन। विभिन्न देशहरूले विभिन्न समयमा गरेका थिए। यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा गरेको हो।

प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की,  सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाई मापन गर्न गएका थिए।

जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गरेका थिए। प्रमुख गौतम र कार्कीले सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापनको कार्य गरेका थिए। पिक पर्मोशन प्रालिका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्‍याउन मद्दत गरेका थिए।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडि बढाएको हो।

सगरमाथाको सफल आरोहण भइ तथ्यांक संकलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट तथ्यांकहरू प्राप्त हुने क्रममा रहेकोले सम्पूर्ण तथ्यांकहरू प्राप्त भएपश्चात् तथ्यांकहरूलाई प्रशोधन गरी शुद्ध उचाई विश्वसामू प्रस्तुत गर्ने डंगोलले बताए।

  • सगरमाथा मापनसम्बन्धी केही तथ्यहरू
  •     संसारको सबैभन्दा अग्लो चुचुरोको उचाई करिब १७० वर्षअघि मापन भएको थियो।
  •     सन् २००५ मा चीनले नेशनल ब्यूरो अफ सर्भेइङ एण्ड म्यापिङले ८८४४.४३ मिटर उचाई मापन गरेको थियो।
  •     अमेरिकाले सन् २००० मा ८८५० मिटर उचाई रहेको उल्लेख गर्‍यो ।
  •     ईटालियनले सन् १९९२ मा ८८४८.६५ मिटर उचाई मापन गर्‍यो ।
  •     सन् १९७५ मा चिनले ८८४८.१३ मिटर मापन गर्‍यो ।
  •     सन् १९५४ मा सर्भे अफ इण्डियाले ८८४८ मिटरको उचाई मापन गर्‍यो । र हामीले अहिलेसम्म यसैलाई आधिकारिक उचाई पनि मान्दै आएका छौ ।
  •     सन् १८४९ मा ब्रिटिस सर्भे अफ इण्डियाले ८८४०.५० मिटर उचाई मापन गर्‍यो । तर त्यतिबेला पुरानो प्रविधिको प्रयोग भएको थियो ।
  •     नापी विभागले २०७२ सालमा भूकम्प गएपछि नगरकोट, चन्द्रकोट, फुल्चोकी लगायत काठमाडौं वरिपरिका डाँडालाई आधार मानेर सर्भे गर्दा ०.९१ मिटर करिब १.०० मिटर उचाई बढेको पाइयो।
प्रकाशित मिति: : 2019-05-27 16:07:18

प्रतिकृया दिनुहोस्