पिजा पसलको कामदारहुँदै अमेरिकामा सयौं व्यवसायका मालिक बनेका पासाङ

तस्बिरः भोला आचार्य

२ वर्षको उमेरमा कामको खोजीमा रामेछापबाट बुवाआमासँगै धरान झरेको पासाङ लामालाई धमिलो याद बाँकी छ।

धरान झरेपछि उनको परिवारले जिविकोपार्जनका लागि ढुंगा/गिट्टी कुट्नुका साथै कुल्ली काम गरेर पेट पाले।

केही समय आफैंले ढुंगा गिट्टी कुट्दै गरेका उनीहरूले आफ्नो मातहतमा अरू मान्छेलाई पनि सहभागी गराउन थाले। त्यति बेला धरान-धनकुटा सडक बनाउने योजनामा सरकार लागिरहेको थियो।

पासाङका बुवाले धरान- धनकुटा सडकमा काम पाए। साथीलाई नेतृत्व गर्दै उनी काममा लागेका थिए।

धरानलाई सडक यातायातले छोए पनि धनकुटामा सडक पुगेको थिएन। सडकमा स्याउलाको घर बनाउँदै वाटो विस्तार गर्दै उनका बुवाले संघर्ष थाले।

केही सहयोगीको साथमा उनका बुबाले ४ वर्ष पछि उक्त सडकले धनकुटा छोयो। यसरी संघर्ष गर्दा गर्दा उनका बुबा ‘क’ वर्गको निर्माण व्यवसायीसमेत बने।

संघर्षको सफलतासँगै उनको परिवारको जीवनस्तर माथि उठ्यो। उनको परिवार अब धनाड्य परिवारको रुपमा चिनिन थाल्यो।

पासाड सम्झिन्छन्, ‘उनी सात कक्षामा पढ्दा नै उनका बुबा ल्याण्ड रोभर गाडी चढ्ने  भएका थिए।

संघर्ष गरेपछि सफलता पाइन्छ भन्ने गतिलो उदाहरण पासाङको बुबाले गरेर देखाएका थिए।

तर, बन्न जति समय लाग्यो बिग्रन क्षणभर पनि लागेन।

प्रजातन्त्रको उदयसँगै व्यवस्था परिवर्तन भयो। दिनरातको संघर्षबाट ठड्याएको महल ढल्यो। नवराज सुवेदीलगायतका तात्कालिक केही नेताको संगतमा उभिएको लामा परिवारलाई मण्डलेको आरोपमा सरकारले लखेट्यो।

व्यवस्था परिवर्तनसँगै पुरानाको श्रीसम्पत्ती नयाँले खोस्ने चलन थियो। पुरानो व्यवस्थाको जरो उखेल्ने हाम्रो संस्कार अन्तर्गत नयाँ प्रजातन्त्र आएपछि पुरानो व्यवस्थासँगको साईनो भएकाहरू सडकमै आए जसमा लामा परिवार पनि एक थियो।

लामा परिवारले हाँशिल गरेको सवै सुविधामाथि सरकारले प्रतिबन्ध लगायो। बचेको जायजेथा बैंकले लिएर गयो।

कृषि विकास बैंकमा रहेको ऋण तिर्न उनीहरूले आफ्नो सबै जाय जेथा दिँदा पनि पुगेन। लामाको परिवार पहिलेकै ठाउँमा आईपुग्यो। अर्थात शून्यमा।

घरमा टेलिफोनको घण्टी बज्दा वुवाआमाको झगडा भएको पासाड सम्झन्छन्, ‘फोन आउनासाथ बुवा आमाको अनुहारको कान्ति भंग हुन्थ्यो। उनीहरुको झगडा हुन्थ्यो।’

यो देखेर पासाङको मन छिया छिया हुन्थ्यो। यसबाट उनको किशोर मनोविज्ञानमा ठूलो असर पर्‍यो। अब उनले पैसा भन्दा ठूलो संसारमा केही रहेनछ भनेर सोच्न थाले।

संसारले नमस्ते गर्ने हिजोको कुरा ठिक उल्टो भएको उनले आफ्नै आँखा अगाडि देखे। १६ वर्ष लागेका उनले पैसाको ताकतलाई नजिकबाट महसूश गर्न पाए। हुँदा र नहुँदा आफन्तले गर्ने व्यवहार पासाङले भोगे। त्यसपछि सोच्न थाले, ‘एनिहाउ पैसा कमाउँ।’

विकल्प खोज्ने क्रममा उनी प्लस टु सकेर अमेरिका जाने सपना देख्न थाले। एकातिर भिसा लगाउन पनि गाह्रो नै थियो। प्रयास गर्दा भाग्यले भिसा पनि लाग्यो। तर, हवाई खर्चको पिरले सताउन थाल्यो। गुहार गर्दै जाँदा एक जना साथीले हजाई खर्च जुटाईदिए।

हवाईजहाज चढ्ने ऋण बोकेर अमेरिक आएका उनलाई सुरूका दिनमा यहाँ टिक्न सजिलो थिएन। अमेरिका आउँदा बुवाको साथीबाट लिएको दुई लाख र घरको ऋणले काम गर्नैपर्ने वाध्यता थियो।

त्यसो त पैसाको शक्तिलाई उनले नेपालमै तौलिसकेका थिए। अमेरिकाको टेक्सास आएका उनी भोलिपल्टै कामको खोजीमा निस्किए।

काम खोज्न दिनभर भौतारिने उनले भाग्यवस एक पिजा रेष्टुरेन्टमा काम पाए। काम पाएपछि भगवान भेटेको महसूस गरे। पैसा बन्ने ठाउँ भेटियो भनेर काममा निकै मेहनत गरे।

साहुँको नजरमा वेष्ट वर्कर भएपछि धेरै समय काम गर्न थाले। उनी दिनको २२ घण्टासम्म काममा जोतिन थाले। इमान्दार भएर राम्रो काम गरेपछि अवसर पनि राम्रै हात पर्छ भन्ने सुनेका उनले सेभेन इलाभेन स्टोरमा रातिको काम पाए।

रातिको काम पाउन सजिलो पनि थियो र उनले राति १० देखि बिहान ६ बजेसम्मको काम पाए। त्यहाँ पनि उनले निकै मेहनतका साथ काम गरे। उनको म्यानेजमेन्ट विषयको दुई वर्षे कलेज पढाई पनि सकिसकेका थियो।

वेष्टवर्कर बन्ने उद्देश्यले उनले निकै इमानदारिसाथ काम गरे। कामका लागि ‘एनि टाएम’ उपलव्ध हुने बताए पछि साहु निकै खुसी भएको उनी सम्झन्छन्। ‘बंगाली साहुँ थियो। यो सुनेर ऊ स्वर्गमै पुगेको जस्तो महसुस गर्‍यो। काम देखेर आफ्नो फ्यानै भएको थियो,’ उनले भने।

साहुँ खुशी भएरै पासाङलाई सहायक मेनेजरको जिम्मेवारी दियो। त्यसपछि झन मेहनत गर्न थाले। एक वर्षभित्रै उनी म्यानेजर बने।

एक दिन नियमित आउने इजिमार्ट बहुराष्ट्रिय कम्पनीको साहुँले आफूसँग काम गरे बढी पैसा दिने भन्दै कामको प्रस्ताव राखे।

त्यसलाई अवसरको रूपमा लिँदै पासाङले नयाँ ठाउँमा काम थाले। साहुँलाई चाहिने नो ओभरटाईम, हिसाब कितावको घाटारहित विवरण र स्टोर सफा राख्ने जस्ता आधारभूत कुरालाई ध्यान दिँदै उनी वेष्ट मेनेजर भएर त्यहाँ पनि साहुँको मन जिते।

मेजेजरबाट उनी छिट्टै सुपरभाईजर बने। उनको जिम्मेवारी बढेर आयो। अब उनले दर्जन स्टोरहरूको जिम्मेवारी सम्हाल्न थाले।

काममा आत्मविश्वास बढ्दै गएपछि आफैंले व्यवसाय गर्ने सोच्न थाले। काम गर्दाको अनुभवले उनको दिमागमा सेभेन इलाभेन र इजिमार्ट जस्तै एउटा व्यवसाय गर्न सक्ने ‘आईडिया’ फुर्‍यो।

यो व्यवसायको लुपहोल पनि थाहा भएकोले उनलाई केही गर्न सक्ने आँट आयो। कर्मचारी भर्नाको झन्झट, काम गर्ने मान्छेले राम्रो काम नगर्दिने, सामान स्टक नहुँदा पुनः प्राप्त गर्न एक साता लाग्ने र ग्राहक गुम्ने जस्ता कर्पोरेटका सुधार्न सकिने कमजोरीलाई आधार मानेर उनले आफैं स्टोर खोल्ने निधो गरे।

उनले काम गरेका सेभेन इलाभेन र इजिमार्टमध्ये सेभेन इलाभेनमा धेरै लुपहोल देखेकोले सेभेन इलाभेन खोल्ने निर्णय गरेँ।

यतिखेर उनी इजिमार्टमा काम गर्दै थिए। उनीसँग जम्मा १० देखि १५ हजार डलर थियो। अब उनले थप काम गरेर पैसा जम्मा गर्न थाले। सुपरभाईजर भएकोले इजिमार्टमा ४० घण्टाभन्दा बढी घन्टा पाइदैनथ्यो र बाहिर गर्न पनि पाईदैनथ्यो। तर, उनले लुकेर बाहिर पनि काम गर्न थाले। यसरी उनले झण्डै एक वर्ष काम गरेर पैसा जम्मा गर्दै गए।

२००४ को कुरा हो। आफूले काम गरेको सेभेन इलाभेनको नजिकै अर्को कर्नरमा रहेको एउटा बन्द ‍स्टोरलाई मर्मत सम्हार गरेर स्टोरको आकार दिए।

त्यहीँ उनले लामा पासाङ अर्थात एलपी फुडमार्ट खोले।

सामान सस्तो भए पनि सेभेन इलाभेनको अगाडि उनको स्टोर थोत्रो देखिन्थ्यो। सामान महंगो भए पनि चिटिक्क देखिने सेभेन इलाभेनमा बानी परेका ग्राहकलाई आफूतिर तान्न शुरुमा हम्मे हम्मे पर्‍यो।

विस्तारै सेभेन इलाभेनमा आउने ग्राहकले पार्किङ गरेका गाडीमा सस्तो मूल्यका आफ्ना उत्पादनका पर्चा राखेर विज्ञापन गर्न थाले।

गरे के हुन्न र।  विस्तारै ग्राहकलाई आफूतिर तान्न थाले। एक वर्षमा उनले सेभेन इलाभेनको आधा व्यापार आफूतिर ताने। त्यसको केही समयपछिनै सेभेन इलाभेन स्टोर बन्द हुने अवस्थामा पुग्यो। अन्ततः बन्द भयो। यसबाट पासाङको आत्मविश्वास थप ‍बढ्यो।

उनले बन्द भएको सेभेन इलाभेनलाई किनेर दोस्रो स्टोरको रूपमा सञ्चालनमा ल्याए।

यसरी शुरू भयो उनको क्वीक ट्रयाक व्यवसायको यात्रा।

डलासबाट शुरू भएको यात्रा टेक्सासभरि फैलियो। गत वर्षसम्म यो नाम राखेका पचास वटा स्टोरहरु थिए अहिले एक सय वटा सेभेन इलाभेन स्टोर खरिद गर्दै डेढ सय पुर्‍याएका छन्।

उनी भन्छन्,‘२०१९ भित्र स्टोरको संख्या डेढ सय पुग्ने छ।’ क्वीक ट्रयाक व्रान्डलाई स्थापित गर्ने उद्धेश्यले अगाडि बढिरहेका उनी अझै भविश्यमा ३, ४ सय स्टोर चलाउने योजनामा छन्।

मल्टाइमिलिनियर पासाङको यसबाहेक १४ वटा क्षेत्रमा लगानी गरिसकेका छन्। यसै व्यवसायसँग अन्तरसम्वन्धित व्यवसायहरु जस्तै रियल स्टेट, ग्याँस, ग्रोसरी उत्पादन, फाईनान्स, इन्सुरेन्सलगायतका व्यवसायमा उनले लगानी गरिसकेका छन्।

१९९७ मा अमेरिका आएका पासाङले २००७ सम्म दैनिक २२ घण्टासम्मा काम गरे। ‘४ देखि ५ घण्टामात्र सुत्ने मेरो त्यो बानीले अहिले पनि निद्रा लाग्दैन,’ उनी भन्छन्, ‘त्यतिखेर वाध्यता थियो अहिले वाध्यता नभए पनि निद्रा लाग्दैन। मेरो लागि काम नशाजस्तै भइसक्यो।’

यहाँ सम्म कि, उनी बिदासमेत मनाउने गरेका छैनन्।

‘मैले गफ लगाएको होइन भ्याकेसन मनाउँनै सक्दिनँ। साथीहरू लोभ भएर काम गरेको भन्छन्। तर, त्यो होइन। दिमागमै काम बाहेक केही छैन।’

आजभोलि भने उनी व्यवसायको कामबाट बचेको समय समाजसेवामा लगाउन थालेका छन्। युनाईटेड नेप्लिज एशोसिएसन ‘युएनए’ नामक सामाजिक संस्था खोलेर उनले समाज सेवाको यात्रालाई अगाडि बढाएका छन्।

नयाँ पुस्तालाई प्राथमिकतामा राखेर अन्तर्राष्टियस्तरमा नेपाली समाजलाई अगाडि बढाउन खोज्ने उनको अभियान अन्तर्गत यही मे २५ र २६ मा न्युयार्क राज्यमा एनआरएनका पूर्वअध्यक्ष शेष घले र उनका श्रीमति जमुना घले, वर्तमान अध्यक्ष भवन भट्टलगायत व्यक्तिसहित उनी आफ्नो प्रेरणादायी जिवनका भोगाई र प्राप्तिहरुलाई नेपालीहरुमाझ बाँड्ने कार्यक्रम रहेको जानकारी गराए।

एनआरएनका पूर्व अध्यक्ष शेष घलेलाई आदर्श मान्ने उनले अरु थुप्रै प्रेरणा पात्रहरुसँग संगतमा रहेको बताउँछन्। ‘पैसा जति कमाए पनि पुग्दैन। तर, समाज सेवा मेरो रूचीको विषय पनि हो।’

प्रकाशित मिति: : 2019-05-27 13:42:18

प्रतिकृया दिनुहोस्