काठमाडौंका तीन जनाको ज्यान जानेगरी भएको विष्फोट विप्लवले गराएको आशंका

तस्बिरः बिएल

काठमाडौंको सुकेधारा र अनामनगरमा ३ जनाको ज्यान जाने गरी भएको विस्फोट विप्लव माओवादीले गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

आइतबार दिउँसो भएका दुबै बिस्फोट बम हुनसक्ने महानगरीय प्रहरी आयुक्तका डिआईजी शैलेश थापा क्षेत्रीले शंका गरेका छन्।

विप्लव माओवादीले आगामी जेठ १३ गते नेपाल बन्द आह्वान गरेको र त्यसैको पूर्वसन्ध्यामा बम विस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ।

सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएका छन्।

आइतबार दिउँसो करिब ४:३० एकै समयमा भएको छुट्टा-छुट्टै विस्फोटमा परी ३ जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार सुकेधारारको एक सैलुन नजिक भएको विस्फोटमा परि २ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएको महाराजगन्ज प्रहरी वृत्तका प्रमुख डीएसपी फणीन्द्र प्रसाईंले जानकारी दिए।

यस्तै अनामनगर, घट्टेकुलाका लोकमञ्जरी कार्कीको घरभित्र सिलिण्डर बिस्फोट भएको र १ जनाको मृत्यु भएको प्रहरीको भनाई छ।

उक्त घरमा बिस्फोट हुँदा पाहुना आएका एक जनाको मृत्यु भएको र कोठा भाडामा बस्ने एक जना घाइते भएको जनाएको छ। घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ।

डिआईजी शैलेश थापा क्षेत्रीका अनुसार विस्फोटबारे अनुसन्धान भइरहेको र घटनास्थलमा विज्ञ टोली पुगिसकेको छ।

प्रकाशित मिति: : 2019-05-26 18:15:49

प्रतिकृया दिनुहोस्