राजधानीको सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएका छन्।
आइतबार दिउँसो करिब ४:३० एकै समयमा भएको छुट्टा-छुट्टै विस्फोटमा परी ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सुकेधारारको एक सैलुन नजिक भएको विस्फोटमा परि २ जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएको महाराजगन्ज प्रहरी वृत्तका प्रमुख डीएसपी फणीन्द्र प्रसाईंले जानकारी दिए।
यस्तै अनामनगर, घट्टेकुलोमा सोही समयमा भएको अज्ञात वस्तु विस्फोटमा परि १ जनाको मृत्यु हुनुका साथै १ जना घाइते भएका छन्।
घट्टेकुलाका लोकमञ्जरी कार्कीको घरभित्र सिलिण्डर बिस्फोट भएको र १ जनाको मृत्यु भएको प्रहरीको भनाई छ।
उक्त घरमा बिस्फोट हुँदा पाहुना आएका एक जनाको मृत्यु भएको र कोठा भाडामा बस्ने एक जना घाइते भएको जनाएको छ। घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार विस्फोटबारे अनुसन्धान भइरहेको र घटनास्थलमा विज्ञ टोली पुगिसकेको छ।