भेनेजुएलाको एउटा जेलमा झडप हुँदा २९ कैदीको निधन भएको छ। घटनामा १९ सुरक्षाकर्मी पनि घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जानकारी दिएका छन्।
घटना शुक्रबार एकारिगुआ शहरमा अवस्थित प्रहरी ‘लक–अप’ मा भएको सुरक्षा सचिव ओस्कार भेलेरोले बताए। ‘कैदीले भाग्ने प्रयास गर्दा दुई गुटबीच झगडा भयो। यसै क्रममा प्रहरीसँग मुठभेड हुन पुग्यो,’ भेलेरोले भने।
स्थानीय एफे न्युजको रिपोर्टअनुसार कैदीको तर्फबाट तीनवटा ग्रिनेड प्रहार भएको थियो, जसका कारण १९ सुरक्षाकर्मी घाइते भए।
एकारिगुआ प्रहरी ‘लक–अप’ मा ३ सय ५० भन्दा बढी अपराधीहरू ट्रायलको पर्खाइमा छन्।
भेनेजुएलामा जेलको अवस्था त्यति राम्रो मानिदैन। देशभरि ३० जेलमा पहिले देखि नै पुराना कैदीको भीड छ।
भेनेजुएलाको एउटा स्वतन्त्र एडभोकेसी ग्रुप ‘द भेनेजुएन प्रिजन्स अब्जिर्भेटोरी (ओभिपी)’ ले ट्वीट गर्दै घटनालाई सामूहिक हत्या भनेको छ।
झगडा अगाडि कैदीको सुविधाको विषयलाई लिएर विरोध प्रदर्शन भएको थियो। ओभिपीले जनाएअनुसार ३५ हजार ५ सय ६२ क्षमताको जेलमा ५५ हजारभन्दा बढी कैदी राखिएको थियो।
विगत एक दशकयता भेनेजुएलामा जेलभित्र भएको हिंसात्मक घटनामा धेरैले ज्यान गुमाइसकेका छन्।