फेवातालमा डुंगा पल्टियो, २७ डुबे, ३ जनाको हेलिकप्टरद्वारा उद्धार

तस्बिरः बिएल

पोखराको फेवातालमा शुक्रबार करिब १२ बजे २ वटा डुंगा पल्टिए। २७ जना यात्रु तालमा डुबे। उनीहरूलाई बचाउन तत्कालै तीन वटा मोटरबोट परिचालन भए। मोटरबोटबाट तत्कालै २४ जनाको स-कुशल उद्धार भयो।

बाँकि तीन जना बेपत्ता भए।

हराएका तीन जनालाई खोज्न गोताखोरको टोली नेपाली सेनाको हेलिकप्टरबाट डोरीको सहायताले तालमा झरे।

नेपाली सेनाका उद्धारकर्मीको टोलीले कुशलतापूर्वक घाइते फेला पारे। र आफूसँगै राखेर सुरक्षित रुपमा हेलिकप्टरमा झुण्डीएर फेवातालबाट करिब ५ किलोमिटर परको पोखरा विमानस्थलमा पुगे। 

विमानस्थलबाट घाइतेलाई एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल लगियो।

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा पोखरामा विगत ६ दिनदेखि जारी विपत व्यवस्थापन सम्वन्धी सैन्य अभ्यास तथा तालिमका क्रममा नेपाली सेनाले बिपत पर्दा हुने जोखिमका बेला गर्ने उद्धार कौशल अन्य देशका सैनिकलाई देखाएका हुन्। 

सैन्य अभ्यासमा अमेरिका रनेपालसहित श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, बंगलादेश, क्यानडा लगायत विभिन्न ६ देशको सहभागीता थियो।

तालमा भएको उद्धार अभ्यासमा भने नेपाली सेनाको मात्र सहभागिता थियो।

 ‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’ (डिआरईई) नामाकरण दिइएको सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेका हुन्।

नेपालको तर्फबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिको समेत सहभागिता छ।

जेठ १२ सम्म चल्ने अभ्यासमा करिब २ सय २० जना सहभागी रहेको नेपाली सेनाको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जीत बहादुर गुरुङले जानकारी दिए।

उनीहरूले पोखराको पाताले छाँगो, फेवाताल, चमेरे गुफा, पोखरा स्वास्थ्यय विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज, पोखरा विमानस्थल लगाएतका ठाउँमा प्रयोगात्मक अभ्यास गरेका थिए। 

संयुक्त सैन्य अभ्यासबाट विपत व्यपस्थापन सम्बन्धी विभिन्न देशका घरेलु अनुभव र ज्ञानआदान–प्रदान हुने र त्यसबाट भविष्यमा आउन सक्ने सम्भावित विपत्लाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली सेना र अमेरिकी सेनाको प्यासेफिक कमाण्डले सन् २०११, १३, १५ र १८ मा काठमाडौमा यस्तो खाले अभ्यास गरेका थिए ।

प्रकाशित मिति: : 2019-05-25 14:47:48

प्रतिकृया दिनुहोस्