मिडिया मालिकको आवरणमा उदाएका युनुस अन्सारी को हुन्? (भिडियोसहित)

तस्बिरः बिएल

युनुस अन्सारी शुक्रबार चौथोपटक करोडौंको नक्कली भारतीय नोटसहित पक्राउ परे। जाली नोट कारोबारी अन्सारी यसअघि पनि दुई पटक जाली नोटसहित पक्राउ परी जेल सजाय भुक्तान गरेर निस्किएका ब्यक्ति हुन्।

प्रहरीका अनुसार अन्सारी २०६६ साल माघ १७ गते पहिलोपटक नक्कली भारतीय नोटसहित पक्राउ परेका थिए।  २०६६ सालमा खोटा चलन मुद्दामा जेल परेका अन्सारी २०७० असोज १८ गते सजाय भुक्तान गरी निस्किए। त्यसपछि पनि उनको भारतीय नक्कली नोटको कारोबार धन्दा बन्द भएन।

उनी फेरि २०७० को माघ १० गते पक्राउ परे। खोटा चलन मुद्धामा जेल परेका अन्सारी २०७४ साल चैत २ गते जेल मुक्त भए।  अन्सारी जेलमै भएका बेला भारतीय नागरिकले कारागारमै पुगेर गोली प्रहार समेत गरेका थिए।

यसरी पटकपटक जाली नोटसहित पक्राउ पर्ने गरेका अन्सारी शुक्रबार पनि बिमानस्थलबाट सात करोड ७७ लाख ९६ हजारको नक्कली भारतीय नोटसहित पक्राउ परे। यसपटक उनी भारतीय जादी नोटका तीन पाकिस्तानी भरियासहित पक्राउ परे। नोट बोक्न लगेका सालो र चालक पनि पक्राउ पर्नबाट जोगिन सकेनन्।

अन्सारीको नक्कली भारतीय नोट कारोबार ब्यवसायिक रूपमै फैलिएको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ। अन्सारीलाई भारतले पनि नक्कली नोट कारोबारीकै रूपमा प्रस्टै चिन्ने गरेको सुरक्षा अधिकारीको दाबी छ।

कुनै बेला एभिन्यूज टेलिभिजनका साझेदार युनुस मिडियालाई ढाल बनाएर जाली नोट कारोबार गर्न चाहन्थे। एभिन्यूजमा स्वामित्वको विषयमा कुरा नमिलेपछि उनी बाहिरिए र नेशनल टेलिभिजन स्थापना गरे। नेशनल टेलिभिजन सञ्चालन भैरहेकै बेला २०६६ सालमा उनी जाली नोटसहित पक्राउ परे। उनी पक्राउ परेको केही समयपछि नेशनल टेलिभिजन नै बन्द भयो।

कहाँ र कहिले पक्राउ परे युनुस?

युनुसलाई प्रहरीले २०६५ पुस १८ गते ललितपुरको नख्खुस्थित उनकै घरबाट पक्राउ गरेको थियो।  तीन वर्ष नौ महिना कारागार भुक्तान गरेका अन्सारी दोस्रोपटक २०६६ पुस ७ गते थापाथलीस्थित ब्लूस्टार कम्प्लेक्सबाट २५ लाख ४४ हजार ५ सय नक्कली भारतीय रूपैयाँ र ३ किलो ७ सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए।  त्यसपछि ११ माघ २०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो।  त्यतिबेला युनुस जेल सजाय भुक्तान गरी २०७४ चैत २ गते छुटेका थिए।

अहिलेसम्म युनुस चार पटक पक्राउ परिसकेका छन्। युनुस अन्डरवर्ल्ड दन दाउद इब्राहिमका नेपाल एजेन्ट रहेको भन्दै भारतीय गुप्तचर निकायले आरोप लगाउँदै आएको छ।  

नेपालका क्यासिनोदेखि हाउजिङ हुँदै नेटवर्किङको व्यवसायमा समेत दाउदको लगानी रहेको भारतीय पक्षको आरोप छ। पाकिस्तानमा बसेर भारतविरोधी काम गर्दै आएका दाउद मुम्बइ विष्फोटका योजनाकार समेत हुन् भनिन्छ।

अन्सारी मिडियाको आवरणमा भारतीय जाली नोटको कारोबारी रहेको भारतीय पक्षको ठहर थियो। सोही विषयमा भारतीय पक्षले नेपाल प्रहरीलाई पटकपटक सचेत समेत गराउदै आएको नेपाल प्रहरीको विशेष ब्यूरो स्रोतले जानकारी दियो ।

कारागारमै हत्या प्रयास

२०६७ फागुन २६ गते केन्द्रीय कारागार सुन्धारामा जेल सजाय भुक्तान गर्दै आएका युनुस अन्सारीमाथि हत्या प्रयास पनि भएको थियो। भारतीय ‘सार्प सुटर’ मनमित सिंह भाटियाले कारागारभित्रै छिरेर अन्सारीमाथि गोली प्रहार गरेका थिए। नक्कली भारतीय नोटको तस्करीमा अन्सारीको मिलेमतो रहेको भन्दै उनको हत्या गर्न भाटियालाई नेपाल पठाएको रहस्य खुलेको थियो।

को हुन् युनुस ?

युनुसु कुनै बेला एमालेका नेता रहेका सलिम मिया अन्सारीका छोरा हुन्। बाराका लोकप्रिय मुस्लिम नेता सलिम बाराबाट दुई पटक प्रतिनिधिसभामा विजयी भएका थिए। एमालेको शासनकालमा पर्यटनमन्त्रीसमेत भएका उनले एमाले छोडेर समाजवादी पार्टी बनाएका थिए।  

पूर्वराजा ज्ञानेन्द्रका पालामा मन्त्री भएका उनी पछिल्लो समय माओवादीमा प्रवेश गरेका थिए। उनको २०७१ साल चैतमा निधन भएको थियो।  

तर, सलिम छोराको व्यवहारबाट आजित थिए।  उनीहरूको सम्बन्ध कहिले सुमधुर थिएन।

प्रकाशित मिति: : 2019-05-24 20:23:41

प्रतिकृया दिनुहोस्