कीर्तिमानधारी पर्वतारोही शेर्पा भन्छन्– ‘२५ पल्ट सगरमाथा चढ्ने मेरो लक्ष्य’

AP

नेपालका कीर्तिमानधारी पर्वतारोही कामी रिता शेर्पाले २५ पल्ट विश्वको अग्लो हिमाल सगरमाथा आरोहण गर्ने धोको रहेको बताएका छन्।

बुधबार २३ पल्ट सगरमाथाको सफल आरोहण गरेका शेर्पा विश्वको अग्लो हिमाल सबैभन्दा बढी चढ्ने कीर्तिमानधारी पर्वतारोही हुन्।

उनले गत वर्ष मे १६ मा २२ पल्ट सगरमाथाको सफल आरोहण गर्दै आफ्ना अग्रज आप्पा शेर्पा र फुर्बा तासी शेर्पाको कीर्तिमानलाई उछिनेका थिए। यी दुबैले २१ पल्ट सगरमाथाको सफल आरोहण गरेका थिए।

बुधबार आफ्नो अभियानमा सफल भएपछि ४८ वर्षीय आरोहीले भने, ‘मेरो लक्ष्य २५ पल्ट सगरमाथाको सफल आरोहण गर्नेछ।’

शेर्पा २४ वर्षको उमेरदेखि सगरमाथा आरोहण गर्दै आइरहेका छन्। उनी १९९४ मा पहिलो पल्ट ८ हजार ८ सय ४८ मिटरको उचाइमा पुगेका थिए।

सन् १९९५ मा आरोही दलका एक साथी बिरामी भएपछि उनले बीचैमा आरोहण परित्याग गरेका थिए।

शेर्पाले विहान ७ बजेर ५० मिनेटमा सगरमाथाको सफल आरोहण गरेको बताइएको छ। सोलुखुम्बु जिल्लाको थामेमा जन्मिएका शेर्पाले मंगलबार राती शिविर–४ बाट आफ्नो अभियानको सुरुवात गरेका थिए।

प्रकाशित मिति: : 2019-05-16 09:39:37

प्रतिकृया दिनुहोस्