गलत रगत चढाएर निधन भएकी बालिकाका बुवा भन्छन्-‘न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिन मान्दैन्’

बालिकाका आफन्त सरेन्द्र यादव

यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग गरेका हुन्। आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको उनले गुनासो पोखे । उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं। तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’

शल्यक्रिया गर्नुपूर्व विरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि बुवाले सुनाए। उनले भने,‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ।’

आफूहरूले स्वास्थ्य मन्त्रालयमा पुगेर पनि न्याय पाउँ भनि हारगुहारसमेत गरेको उनले सुनाए। उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे।

उनले भने,‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन्।’

उनले भने,‘अब हामी कहाँ जाने? हामीलाई कहिले न्याय दिनुहुन्छ?’

कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । उनले भने,‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ।’

शल्यक्रियापूर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा विरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको थियो। तर, निधनपछि सोही ठाउँमा टिपेस लगाएर २० देखि ३५ प्रतिशत बनाईएको छ।’

प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदापनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाए। उनले थपे,‘कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छौं। तर, हाम्रो उजुरी दर्ता गराउन कोहीपनि तयार छैनन्।’

आफूहरु शल्यक्रियामा संलग्न चिकित्सक र ल्याबका व्यक्तिको नाम उल्लेख गरेर मुद्दा दर्ता गराउन गएको भएपनि मुद्दा दर्ता नभएको पनि उनले सुनाए ।

उनले प्रहरी वृत्त महाराजगन्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको पनि जनाए। त्यस्तै, उनले पछिल्लो समय आफूहरुलाई ज्यानको पनि असुरक्षा महशुस भैरहेको जानकारी दिए ।

उनले भने,‘स्वास्थ्य मन्त्रालयमा पुग्दा त्यहाँ अस्पतालका निर्देशक जोतेन्द्र शर्मा, जो बालिकाको शल्यक्रियामा संलग्न थिए, उनी पनि मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र सचिव पुष्पा चौधरीपनि सँगै थिए ।’ मन्त्रालयले उजुरी दर्ता गरेको तर अहिलेसम्म कुनै कारबाही नगरेको उनले सुनाए ।

यस्तो लापरबाही गर्ने डाक्टरलाई जागिरबाट हटाउनुपर्ने र उनको प्रमाणपत्र नै रद्द गर्नुपर्ने यादवको माग छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो। आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ ।

तर, बालिकाका बुवा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ ? भन्ने कुरा अहिलेसम्म थाहा नभएको सुनाए। उनले भने,‘मलाई त ईन्साफ चाहिएको छ। तर, खुरुक्क लाश लिएर जान, बढि बोलिस भने तलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन् ।

’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भयो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ताद्धय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घट्नामा लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । भण्डारीले मृत्तकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिने पनि जनाए ।

भण्डारीले आफूहरुले पीडित परिवारलाई सहयोग गर्ने विश्वास दिलाए । उनले भने,‘कानूनको शासनलाई धज्जी उडाउने काम भएको छ।’ प्रहरीले अनुशन्धान गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनले जोड दिए।

नेपालका लागि नेपालीका अभियन्ता अधिवक्ता घिमिरेले यो घट्नाको अनुशन्धानको दायरा अघि बढ्नुपर्ने माग गरे। उनले भने,‘प्रहरीले उजुरी लिनुपर्छ ।’

उनले भने,‘उपचारको क्रममा गलत प्रवृत्ति, गलत उपचार र गलत ग्रुपको रगत दिएर गलत उपचार गरेर लापरवाहीको कारण निधन भएको भन्ने कुरा आएको छ। एउटा अस्पताल, जहाँ नागरिकहरु उपचार गर्न बसेको छ । उनीहरुको लापरवाहीको कारण कसैको ज्यान जाने अवस्था आउँछ भने उनीहरुले उन्मुक्ति पाउने अवस्था हुँदैन् । यसले दुई चार वटा कुरा र फौजदारी आचारसंहिता आकर्षण हुन्छ।’

प्रकाशित मिति: : 2019-05-15 15:44:08

प्रतिकृया दिनुहोस्