जो आफूजस्तै पीडित महिलालाई निःशुल्क गाडी चलाउन सिकाउँछिन् (भिडियाे सहित )

बिएल

महिलाको सफल कथा -५

के तपाई ड्राइभिङ पेशा अंगाल्न चाहनु हुन्छ? यदि तपाईसँग पैसा छैन भने पनि चिन्ता नगर्नुस्।

लाजिम्पाटस्थित खुर्सानिटार क्याम्पको ठूलो चौरमा एक महिला बिहान ७ देखि साँझ ५ बजेसम्म महिलालाई निःशुल्क गाडी चलाउन सिकाउदै गरेको भेटिन्छिन्।

उनी विपन्न र हिंसामा परेका महिलालाई गाडी चलाउन सिकाउँछिन्। हालसम्म उनले चारहजार महिलालाई गाडी चलाउन सिकाइसकेकी छिन्।

गुल्मी जिल्लाको विकट गाउँ जुगुम भिरबासमा जन्मिएकी मीना चन्दले आखिर किन महिलालाई नै निःशुल्क गाडी चलाउन सिकाइरहेकी छिन्?

कामको खोजीमा १५ वर्षअघि काठमाडौं प्रवेश गरेकी मीनाले सुरुमा टेम्पो खलासीबाट ‘करिअर’ सुरु गरेकी थिइन्।

काठमाडौंको आकासिँदो महंगीमा पक्कै पनि उनलाई खलासी पेशा मात्र अंगालेर जीवन धान्न सहज थिएन। त्यसैले उनले नुन–तेलको जोहो गर्न श्रीमानलाई आफैले गाडी चलाउने योजना सुनाएकी थिइन।

याे पनि हेर्नुहाेस।

 नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

तर, श्रीमानको प्रतिक्रिया प्रिय थिएन। श्रीमतीको गाडी चलाउने योजनाबाट आगो भएका श्रीमानले उनी उठ्नै नसक्ने गरी लात्तले हिर्काए।

मीना अहिले पनि त्यो नमिठो घटना सुनाउँदा भावुक हुने गर्छिन्। भन्छिन्, ‘उहाँ (श्रीमान्) ले उठ्नै नसक्ने गरी लात्तले हिर्काउनु भयो। तर, त्यो घटना मेरो लागि ठूलो शिक्षा थियो। त्यही लात्तिले मलाई कहिल्यै नढल्ने गरी उठायो।’

यो घटना हुँदा उनको कोखमा ३ महिनाको दुधेबालक थियो। उनी त्यही दिन छिमेकीको सहयोगले घरबाट निस्किन। र, गाडी चलाउन सिकाउने ठाउँमा पुगिन्।

याे पनि हेर्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

‘मैले गाडी सिक्दा पुरुष गुरुबाट दुर्ब्वयवहार सहनुपर्थ्यो। ब्रेक लगाउन जानेन भनेर कहिले खुट्टामा हिर्काउने। कहिले झापड हान्ने। पुरुषको पिटाइ सहेर गाडी सिक्नु पर्दा नमज्जा लाग्थ्यो,’ उनी भन्छिन्।

यो घटनाले पनि मीनालाई ठूलो शिक्षा दिएको थियो। उनले त्यही दिनदेखि अर्को अठोट पनि गरेकी थिइन– आफूले गाडी सिकिसकेपछि आफू जस्तै दिदी–बहिनीलाई गाडी चलाउन सिकाउने।

काखको बच्चा हरेक दिन छोडेर रोजगारीमा निस्किनुपर्दा आमाको मन कति रुदो होला?

मीनालाई पनि त्यस्तै भएको थियो। भन्छिन्, ‘गाडी चलाइरहेकै बेला कहिले काही आँसुका ढिक्काले बाटो छेकिन्थ्यो। घर फर्किदा बच्चा गु–मुतमा लतपतिएर भोकै निदाएको हुन्थ्यो।’

गाडी चलाउने क्रममा केही वर्षभित्रै मीनाले अलिकति पैसाको जोहो गरिन् र ऋणमै भएपनि एउटा थोत्रो गाडी किनिन्। र, यही थोत्रो गाडीबाट अहिले उनी आफूजस्ता दिदी–बहिनीलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेकी छिन्।

‘मैले गाडी सिकाउने चौर खोजे। पैसा तिरेर जग्गा भाडामा लिने हैसियत थिएन। त्यसैले कसैको व्यक्तिगत जग्गामा निःशुल्क गाडी सिकाइरहेको छु,’ उनी भन्छिन्। उनको यो कार्यका लागि केही सहयोगी मनहरूले पेट्रोल किन्ने पैसा उपलब्ध गराएर सहयोग गरिरहेका छन्।

याे पनि हेर्नुहाेस।

एक गरिब बाबुको इच्छा– छोरीलाई आँखा दान गरेर संसार देखाउने (भिडियो सहित)

हिजोआज उनी कहाँ गाडी सिक्न धेरै महिला आउने गरेका छन्। ती महिलामा धेरै जसो कुनै न कुनै प्रकारको घरेलु हिंसाको शिकार भएका छन्।

समाजका लब्ध प्रतिष्ठित र महिला सांसद पनि उनीसँग गाडी सिक्न आउने गरेका छन्। तर, उनीहरूले सामान्य महिलाजस्तै निःशुल्क गाडी सिकाइदिनु पर्ने कुरा गर्दा उनको मन कुडिने गरेको छ।

‘हुने खानेले पेट्रोलको पैसा मात्र दिएपनि त हुन्थ्यो नि। सिक्छन् पैसा दिदैनन्,’ उनी भन्छिन्।

गाडी सिक्न आउनेको भीड बढ्न थालेपछि मीनाको आर्थिक संकट पनि चुलिन थालेको छ। ‘कहिले गाडीको ऋण तिर्ने? यहि चिन्ताले निद्रा पर्दैन, उनी भन्छिन्।

याे पनि हेर्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

 आर्थिक समस्याबाट ग्रज्रिएपनि मीनालाई आफूले थालेको अभियानप्रति ठूलो मोह छ। उनी जब समाजबाट उपेक्षित महिला आफ्नो सहयोगले आत्मनिर्भर बनेको देख्छिन, उनलाई आत्मसन्तुष्टी प्राप्त हुने गरेको छ।

‘हिंसाले विक्षिप्त महिला गाडी सिकेर जब म कहाँ म्याम मैले महिनाको ४० हजारको काम पाए नि भनेर आउँछन् मलाई निकै आनन्द लाग्छ,’ उनले छुट्टिने बेला भनिन्।

 

 

 

 

 

प्रकाशित मिति: : 2019-05-12 18:43:07

प्रतिकृया दिनुहोस्