क्यानडा किन आउँदैछन् दिनबन्धु पोखरेल ?

तपाईं क्यानडामै भए पनि टोरन्टो आउनु भएको छैन ?

कि नयाँ भएकाले बिस्तारै घुमौंला भन्ने सोच्दै हुनुहुन्छ ?

या, ‘घुम्न त मन हो, खर्च नै धेरै’ भन्ने चिन्तामा हुनुहुन्छ ?

बहुसांस्कृतिक शहर टोरन्टो घुम्ने चाहना राखेर पनि यी खाले समस्या झेल्ने कोही हुनुहुन्छ भने चिन्ता नगर्नुस्, तपाईंलाई दुई महिनाभित्रै टोरन्टो घुम्ने एउटा अवसर मिल्दैछ। त्यसनिम्ति मात्र इच्छा गर्नुस्, टोरन्टोमा सित्तैमा आवास र भोजन मात्रै होइन, एअरपोर्टबाट ल्याउने र पुर्याउने बन्दोबस्त पनि हुन्छ।

सुन्दा कुनै ट्राभल कम्पनीको ‘टुर प्याकेज’ जस्तो लाग्छ, तर यो न व्यापारिक प्रयोजनको ‘बन्दोबस्त’ हो न कुनै एक संस्थाको ‘बिजनेश अफर’ नै।

यो त क्यानडामा छरिएका सबैजसो नेपाली संघ संस्थाले आयोजना गर्न लागेको सप्ताहव्यापी महायज्ञका अवसरमा ‘बढीभन्दा बढी नेपालीलाई सहभागी गराउने उद्देश्यले तयार पारिएको’ योजना हो।

निर्धारित कार्यतालिका फेरबदल नभए अब ठ्याक्कै दुई महिनापछि क्यानडाको टोरन्टोमा बृहत धार्मिक महायज्ञ सुरु हुनेछ । नेपाली समुदायको अगुवाईमा वेद तथा बुद्ध दर्शनमा आधारित भई गर्न लागिएको महायज्ञलाई ‘क्यानडामा रहेका सबै नेपाली संघ संस्थाको साथ सहयोग रहने’ आयोजकको अपेक्षा छ।

टोरन्टोको ब्राम्प्टनमा अवस्थित पशुपतिनाथ मन्दिर बिस्तार गर्न आर्थिक स्रोत जुटाउने मुख्य उद्देश्यले जुलाई ६ देखि १३ सम्म महायज्ञ गर्न लागिएको हो। महायज्ञ हुने स्थान अहिलेकै पशुपतिनाथ मन्दिर परिसर या अन्यत्र भन्ने टुंगो भइसकेको छैन, छलफल चल्दैछ।

महायज्ञका निम्ति नेपालबाट ‘वाचन– प्रवीण’ दिनबन्धु पोखरेल आउने पक्कापक्की भइसकेको छ । देश विदेशमा छ सयभन्दा धेरै यज्ञ सम्पन्न गराए पनि पोखरेलको यो पहिलो क्यानडा भ्रमण हो । र, क्यानडामा सबै संघ संस्था समेटेर गर्न लागिएको पहिलो नेपाली धार्मिक अनुष्ठान पनि ।

‘नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर’ मूल आयोजक रहेको महायज्ञमा वेद र बुद्ध दर्शनमा आधारित भई प्रवचन दिइनेछ।बौद्ध प्रवचनका लागि गुरु को ल्याउने या यहीं बन्दोबस्त गर्ने भन्ने टुंगो लागिसकेको छैन।

सप्ताहव्यापी महायज्ञ सफल पार्न डा. हरि गुरुङ अध्यक्ष रहेको मूल आयोजक समितिमा एक हजार एक सदस्य छन् भने १६ वटा उपसमिति बनाइएको छ । जसले दान दाता पहिचान गर्नेदेखि, प्रचार प्रसार, पूजा व्यवस्थापन आदिमा काम गर्नेछन् ।

‘क्यानडामा छरिएका नेपालीलाई एउटै कार्यक्रममार्फत अझ नजिक्याउन, जे धर्ममा आश्था भए पनि सामाजिक हितमा एकै ठाउँ जुट्न प्रेरित गर्ने उद्देश्यले वेद र बुद्ध दर्शनमा आधारित सप्ताहव्यापी महायज्ञ तथा प्रवचन गर्न लागिएको हो’ मूल आयोजक समिति अध्यक्ष डा. गुरुङले बताए।

क्यानडाका १० प्रोभिन्स र तीन टेरिटोरिजमध्ये सबैजसोमा थोरबहुत नेपाली फैलिएको तथ्य मध्यनजर गर्दै आयोजकले टोरन्टोको महायज्ञमा उनीहरुलाई सकेसम्म सहभागी गराउन निःशुल्क आवास र भोजनको बन्दोबस्त गर्न लागेको हो।

‘एक काम दुई पन्थ भने झैं त्यही समयमा कोही टोरन्टो आउन चाहन्छ र पशुपतिनाथ मन्दिर विस्तारमा सघाउन चाहन्छ भने एउटा मौका हुनेछ’ कार्यक्रम सफल पार्न सुरुबाटै खटिरहेका अभियन्ता मोहन सापकोटाले भने, ‘त्यसरी आउन चाहने नेपाली दाजुभाईलाई हामी एअरपोर्टमै लिन र पुर्याउन जाने व्यवस्था पनि गर्छौं।’

क्यानडामा सबै नेपाली संघ संस्था समेटेर पहिलोपल्ट वेद र बुद्ध दर्शनमा आधारित महायज्ञ– प्रवचन गर्न लागिएको उल्लेख गर्दै अभिन्यता सापकोटाले ब्रेक एण्ड लिंक्सलाई भने, ‘पशुपतिनाथ मन्दिर अझ विस्तार गर्ने र दोस्रो पुस्तालाई धार्मिक सांस्कृतिक कार्यक्रमतर्फ प्रेरित गर्ने मुख्य उद्देश्य हुन्।’

आठ दिन चल्ने यज्ञ तथा प्रवचनको उद्घाटन कलश यात्राबाट सुरु गरिने उल्लेख गर्दै अभियन्ता सापकोटाले कार्यक्रमभर नेपालीमूलका किशोरहरुले वेद पाठ गर्ने जनाए।त्यसनिम्ति १५/२० जना किशोरलाई पालैपालो वेद पाठ गर्न लगाइनेछ।

ब्राम्प्टन र मिसिसागाका मेयर सहभागी हुने महायज्ञ हरेक संघ संस्था सह आयोजकका रुपमा रहनेछन्।त्यसनिम्ति टोरन्टो क्षेत्रमा रहेका नेपालीमूलका झण्डै ३० संघ संस्थाको साथ रहनेछ।महायज्ञबाट एक मिलियन क्यानेडियन डलर संकलन हुने आयोजकको अपेक्षा छ।

संकलित रकम पशुपतिनाथ मन्दिर बिस्तार गर्न खर्च गरिने जनाइएको छ।हाल ब्राम्प्टनमा रहेको पशुपतिनाथ मन्दिर साँघुरो भवनमा रहेको र ठूला जमघट गर्न समस्या परिरहेको अवस्था छ।महायज्ञपछि मात्रै मन्दिर नयाँ ठाउँमा बिस्तार गर्ने या त्यहीं भन्ने निर्णय हुनेछ।

प्रकाशित मिति: : 2019-05-06 05:00:37

प्रतिकृया दिनुहोस्