रोग, भोक र अशिक्षा कर्णालीलाई चिनाउने विम्ब हुन्।कर्णाली भन्ने वित्तिकै सबैको नजरमा भौगोलिक विकटता, चेतनाको अभाव, सँधै महामारी र भोकमरीले बल्झिएको क्षेत्र नै पर्छ।मानौं नेपालमा कुनै नर्क जस्तो ठाउँ छ भने त्यो कर्णाली नै हो। सरकारी अधिकारीदेखि अन्य सरोकारवालासम्म कसैलाई यहाँ काम गर्न खटाइयो भने सजाय भुक्तान गर्ने आएको महशुस गर्छन्। केही दिन बसेजस्तो गर्ने र अधिकांश समय विदा लिएर सुविधासम्पन्न सहरमा नै बस्ने गरेका छन्।
कुनैबेलाको ऐतिहासिक र शक्तिसम्पन्नशाली कर्णाली आज हरेक नागरिकले सजाय भोग्ने ठाउँको रुपमा परिचित भएको छ।एक टाटो सिटामोलकै लागि तड्पिनुपर्ने अवस्था सिर्जना भएको छ। दुई सय वर्षदेखिको नाकाबन्दी अहिले पनि जारी छ। हिजो शक्ति नियन्त्रणका लागि सुरु भएको नाकाबन्दी अहिले नेतृत्व तहमा हुने निर्णयदेखि अनेक विकास निर्माणमा कानुनी रुपमै कायमै छ।
राज्यले कर्णालीका लागि नहेरेको पनि होइन।तर, दायित्वका रुपमा नभएर बोझका रुपमा हेर्ने गरेको छ।केही वर्षअगाडि जाजरकोटमा झाडापखालाको चार सयभन्दा बढीको ज्यान गयो।सयौंको ज्यान जाँदासम्म पनि केही भएको छैन भनी रिपोर्ट गर्ने सरकारी निकायका कर्मचारी र तीनको रिपोर्टकै विश्वासमा कानमा तेहल हालेर बस्ने राज्यको प्रवृतिका कारण चारसय जनाको ज्यान गएको थियो। जतिबेला मिडियाले यस्ता कुरा बाहिर ल्याए तब मात्रै राज्य र त्यसको नेतृत्वमा बसेकाको ध्यान पुग्यो।
आधारभुत आवश्यकताबाट समेत बञ्चित कर्णालीका नागरिकले गुणस्तरीय सेवा पाउनु भनेको 'आकाशको फल आँखा तरी मर' भन्ने उखान नै सावित भएको छ।कर्णालीको विकास र नागरिकको जीवनस्तर सुधारका लागि नीति तथा योजना नबनेका पनि होइनन्।तर, ती योजना काठमाडौं र आसपासका मुकामबाट कर्णालीमा पस्न नै पाएनन्।केही बचेखुचेको पनि त्यहीका बाठा-टाठाले आफ्नो घर बनाउने काममा लगानी गरे।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट कर्णालीका नागरिकको जीवनस्तर सुधार र विकासका निम्ति जति लगानी भएको छ, त्यो रकम प्रत्येकलाई सिधै हातमा पारेको भए अहिले नेपालका सुविधासम्पन्न शहरमा बंगला नै ठडिन्थे होला।तर, विडम्बना कर्णालीका नागरिकले सँधै नर्कमय जीवन भोगी राख्नुपर्यो।
वर्षमा एकदिन पनि सहज तरिकाले सेवा भोग गर्न पाएमा धन्य मान्नुपर्ने स्थिति सिर्जना भएको छ।लाग्छ, अँझै केही दशकसम्म यो स्थिति कायमै रहनेछ। पछिल्लो एक दशकमा हेर्दा कर्णालीबाट राजनीतिक र नीतिगत तहमा मानिसहरु नपुगेका पनि होइनन्।तर, जतिबेलासम्म पद् र स्थान पाउँदैनन् त्यतिबेलासम्म कर्णालीको गरिबी र निरिहताको भावनाको एजेण्डा बोकेर माथि आउने काम गरे।पदमा पुगिसकेपछि आफ्ना बालबच्चा, परिवार र आफन्तकै लागि सोचे।सरकारी सेवामा होस् वा गैरसरकारी क्षेत्रमा होस् नेपालका अधिकांश क्षेत्रमा अहिले कर्णालीका नागरिकको प्रशस्त उपस्थिति छ।तर,आफ्नो स्वार्थ पूरा भएपछि उनीहरुले गाउँको लागि कहिले सोचनन्।एकछाक मिठो खान र एकदिन सहज तरिकाले सेवा पाउन हम्मे हुने स्थितिबाट माथि उक्लेकाहरू अहिले त्यही धरातल विर्सेर सुविधासम्पन्न सहरमा महल बनाएर सुकुनको निँदमा सुतिरहेका छन् ।
आजभन्दा पाँच वर्षअगाडि कालिकोकोटको बित्तामोडमा मध्यराती गाडी दुर्घटना हुँदा ३२ जनाको ज्यान गयो।तर, राज्य र सञ्चालकहरुले साँघुरो बाटो र दुर्गममा त्यतिको गाडी दुर्घटना हुनु र मान्छे मर्नु स्वभाविकै ठाने।एकदिन श्रदाञ्जलि दिने फुर्षदसम्म भएन।कुनै एउटा नेता मर्दा देशभर नै सार्वजनिक विदा दिने सरकारले दैनिक दर्जनौं मानिस मर्दा स्वभाविक ठानेको पाइन्छ।
त्यस्तो स्थिति सुधारका लागि कुनै पहल भएको पाइदैन।अहिले पनि कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरु ढुक्कका साथ हिड्न सकेका छैनन्।बाटो सुधार गरी नागरिकलाई सहज बनाउनु त कहाँ हो कहाँ राज्यका निकायले नै कर्णाली राजमार्गलाई मृत्युमार्गका नाममा घोषणा गर्दै कर्णाली नर्क हो भन्ने सावित गरे।अधिकांशले कर्णाली भन्नेवित्तिकै अहिले पनि नाक खुम्च्याउनुपर्ने स्थिति छ। हरेक वर्ष विभिन्न तथ्यांक सार्वजनिक हुन्छन्।त्यसमा प्रत्येक वर्ष कर्णाली यस्तो, उस्तो आदि भनेर नकारात्मक कुरा मात्रै बाहिरिन्छन्।सुधारका लागि अहिलेसम्म प्रभावकारी योजना कार्यान्वयनसम्म भएको पनि पाइदैन।
बस नकारात्मक सन्देश फैलाउँदै कर्णालीमा सेवा गर्न मन भएकालाई पनि गन्त्व्यमा पुग्नै नपाई बीच बाटोबाटै भड्काइन्छ।नेपालमै जलविद्युत उत्पादन क्षमताको हिसाबले कर्णाली नै उच्च सम्भावना युक्त क्षेत्र हो।तर, अहिले टुकीमुनिको अध्याँरो कर्णाली छ।हुन त कर्णालीमा विकास नभएर राज्यलाई के फरक पर्छ भन्ने तर्क गर्नेहरु पनि छन्। तर, राज्यको समृद्धिको आधार भनेकै कर्णाली हो।यतातिर नीति निर्माताहरुको ध्यान कहिले जान्छ थाहा छैन।
आज यी विषयभन्दा पनि अर्को गम्भीर विषयमा प्रवेश गरौं।भर्खरै मात्रै हुम्लाको ताजाकोटमा मौसमी फ्लुका कारण १० जनाको ज्यान गयो। नौजनाको मृत्यु नहुँदासम्म कसैको पनि ध्यान जान सकेन।तर, जब मिडियामा यो खबर आयो अनि मात्र के रहेछ भनेर बुझ्ने कोशिस गरियो।अब हामी लाग्यौं भन्ने खबर पनि मिडियामा आएपछि मात्रै सरकारको दृष्टि हामीतिर फर्किने अवस्था आएकै हो?आफ्ना नागरिकको अवस्था कस्तो छ भनेर खोजीनीति गर्नुपर्ने दायित्व कसको हो?
दुई-चारजना मानिस अकालममा मर्नु कर्णालीको लागि सामान्य भैसकेको छ।चाहे त्यो रोगले होस् वा दुर्घटनाले होस्।एकैपटक धेरैको क्षति हुँदा मात्रै मिडियामा खबर आउने गर्छ।तर, दैनिक दर्जनौं आमाहरु अस्पताल पुग्न नपाउँदै बाटैमा मृत्युवरण गर्नुपर्ने स्थिति कहिलेसम्म रहिरहने हो? एक दुईजनालाई तत्काल उद्दार गर्न आवश्यकता अनुसार हेलिकप्टरको व्यवस्था पनि होला।तर, अहिले हुँदाहुँदा कस्तो अवस्था देखिएको छ भने गम्भीर भएमा हेलिकप्टर छँदैछ, सामान्य हुँदा आफै निको भइहाल्छन् भन्ने सोच नै राज्यमा देखिन थालेको छ।
अहिले पनि कर्णालीले अब हामी मर्न लाग्यौं, राज्य ध्यान दिनुपर्यो भनेर चिच्याहट नगर्दासम्म सुन्ने प्रवृति छैन।के कर्णालीमा हामी अकालमा मर्नकै लागि जन्मिएका हौ? कहिले दुर्घटना, कहिले महामारी त कहिले अनिकालले। एकपटक होइन, पटकपटक उही ठाउँमा महामारी फैलिँदा पनि यसको निदानका लागि किन सोचिन्न? महामारी फैलिन्छ।दर्जनौं मान्छे मशानघाटमा पुगेपछि चिकित्सकहरु लाश कोट्याउँदै परीक्षणका लागि पुग्छन्।केहीदिन उपचार गरेर रोकथाम भएपछि फर्किन्छन्।तर, दीर्घकालिन निदानका लागि कहिले योजना बनेको सुन्नमा आएको छैन।
ताजाकोटमा एकैपटक भाइरल प्रकोपबाट यति धेरैको ज्यान गएको यो पहिलोपटक भने होइन।यसअघि पनि पटकपटक विभिन्न प्रकोपका कारण दर्जनौंले ज्यान गुमाएका छन्।स्थानीय नरजित खड्काका अनुसार गाउँमा पटकपटक झाडापखालाको प्रकोप देखिने गरेको छ।२०४८ सालमा झाडापखालाको प्रकोप फैलिँदा एक महिनामा २७ जनाको मृत्यु भएको उनले बताए।
‘२८ वर्षअगाडि गाउँमा झाडापखालाले महिनामै २७ जना मरे, जडीबुटी गर्नुको उपाय थिएन’ उनले भने, ‘बिरामी नपरेका मानिस पनि मर्ने डरले गाउँ नै छाडेर भाग्नुपरेको थियो।’ यस्तै, २०६४ सालमा पुनः झाडापखालाको संक्रमण फैलिएपछि एक सातामै सातजनाको ज्यान गयो। पछि केन्द्र सरकारको पहलमा हेलिकप्टरमार्फत चिकित्सक र औषधी ल्याएपछि मात्रै रोग नियन्त्रणमा आएको थियो।
‘सुरुमा रोग लाग्दा सामान्य नै मान्छौं, तर पछि ठूलो रुप लिएपछि चिकित्सक आउने बेलासम्म धेरैको मृत्यु भइसकेको हुन्छ’ उनले थपे, ‘गाउँमा राम्रो औषधी नै पाइदैन, सदरमुकामबाट आउन तीन दिन लाग्छ।उपचार नपाएर हामी दुर्गमका मानिसले ज्यान गुमाउनुपर्छ।’ यस्तै गाउँमा खोनपानी अभाव छ।ताजाकोटमा अधिकांश गाउँमा एक-एक मात्रै खानेपानीका धारा छन्।खानेपानीको अभाव हुँदा अधिकांशले खोलाको पानीले नै प्यास मेटाउने गरेको खड्काको भनाइ छ।खोलाको दुषित पानी खाँदा पटकपटक झाडापखालाको संक्रमण देखिने गरेको हो।
शैक्षिक चेतनाको अभावमा ताजाकोटका अधिकांशले अहिले पनि उपचारको लागि धामी झाँक्री नै गुहार्ने गरेका छन्।विगतमा प्रकोप हुँदा धामी गुहार्दा दर्जनौंको ज्यान गएको अनुभव भए पनि गाउँमा सुविधासम्पन्न अस्पताल नहुँदा धामीकै शरणमा पुग्ने गरिएको हो।
चैत्र २६ गतेबाट मान्छे मर्न सुरु भए पनि रोगको पहिचान नहुँदा अधिकांश स्थानीय उपचारका लागि धामीकै शरणमा पुगे।लामो समयसम्म धामी झाँक्री गराउँने र स्वास्थ्य चौकीमा सामान्य उपचार मात्रै गराउँदा शनिबारसम्म नौजनाको ज्यान गएको अर्का स्थानीय तारा खत्रीले बताए।‘अस्पतालमा नाम लेखाएर सिटामोल बाहेक अरु केही पाइदैन’ उनले भने, ‘त्यसपछि हामी सबै धामी झाँक्री नै गर्न लाग्यौं, धेरै समयपछि प्रकोप बढेपछि मात्रै गाउँपालिकालाई जानकारी गराएका थियौं।’
मौसमी फ्लुको संक्रमण फैलिएपछि हरेक दिन गाउँमा धामी बसाउने र हेराउने काम भएको उनको भनाइ छ।‘सुर्खेतबाट डाक्टर नआउँदासम्म हामीले प्रत्येक राती घरमा धमेलो(धामी) बसालेर हेराउने काम गर्यौं’ उनले थपे, ‘दैनिक धामी बसाल्दा चामल चढाउनुपर्छ, न त हाम्रो चामल नै बच्यो न बिरामी नै बचाउन सकियो।’