अभियुक्तसँग सम्पर्कमा रहेका डीएसपी निलम्बित

तस्बिरः बिएल

अभियुक्तको सम्पर्का रहेको भन्दै डीएसपी कुमोद ढुंगेल अनुसन्धानका लागि निलम्बनमा परेका छन्।

डकैती घटना अनुसन्धानको क्रममा अभियुक्तको फोनमा ढुंगेललाई पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत डीएसपी ढुंगेललाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाएको छ।

यसअघि गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ढुंगेलमाथि छानबिन गर्ने प्रतिक्रिया दिएका थिए।

ढुंगेलमाथि आईजीपीको सचिवालय र महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

गत चैत २६ गते रानीबारीमा लालेन्द्र शेरचन्दको घरमा भएको डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठ र डिएसपी ढुंगेलबीच फोन र एसएमएस आदान प्रदान भएको खुले पछि उनी अनुसन्धानमा परेका थिए।

श्रेष्ठ र ढुंगेलबीच महाराजगञ्जस्थित भेनस रेष्टुरेन्टमा भेट भएको समेत अनुसन्धानका क्रममा खुलेको थियो।

उनीहरू भेट भेटेकै दिन शेरचन्दको घरमा डकैती घटना भएको हो। प्रहरी हिरासतमा रहेका श्रेष्ठले डीएसपी ढुंगेलसँगको भेटघाट भएको स्वीकारेका छन्।

९८५११५५१८४ नम्बरको मोबाइलबाट श्रेष्ठले डीएसपी ढुंगेलको ९८५११८०००० नम्बरमा चैत २७ गते साँझ ६ बेर २३ मिनेटमा र २८ गते अपराह्न तीन बजेर पाँच मिनेटमा संवाद भएको कलडिटेलले देखाएको हो।

त्यस्तै श्रेष्ठको ९८५११५५१८४ मोबाइलबाट डिएसपी ढुंगलेको ९८०८२३७०८२ मोबाइलमा चैत २८ गते बिहान १० बजेर ३७ मिनेटमा र चैत २९ गते अपराह्न १२ बजेर ४७ मिनेटमा फोनमा कुराकानी भएको कलडिटेलमा देखिन्छ।

श्रेष्ठले ढुंगेलको मोबाइलमा सन्देश पनि पठाएका थिए। श्रेष्ठले प्रहरी बयानमा भने जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट गरेको दाबी गरेका छन्।

श्रेष्ठले उल्लेख गरेका दीपेश भनिने सन्तबहादुर तामाङ हुन। तामाङ अहिले डकैत घटनामै पक्राउ परेका छन्।

शेरचन्दको घरमा डकैत गर्ने योजना नवराज, दीपेश र सन्तोषले बनाएका हुन्। लुटपाटको योजनालाई मूर्तरुप दिन श्रेष्ठसम्म प्रस्ताव गर्ने व्यक्ति भने दीपेश रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले पक्राउ गर्नुपर्ने अभियुक्त र बहालवाला डीएसपीबीच फोन सम्वाद देखिएपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृत आश्चर्यचकित बनेका थिए।

डीएसपी ढुंगेलले भने आफूले श्रेष्ठलाई चिनजान भएको नाताले फोन गरेको बताए। मातातीर्थ बस्ने श्रेष्ठलाई सतुंगलमा हस्पिटल कहाँ छ भनेर सोधेको ढुंगेलले बताएका थिए।

प्रकाशित मिति: : 2019-05-03 00:59:43

प्रतिकृया दिनुहोस्