त्रिभुवन विमानस्थल: पहिला ड्रग्सको तस्करी ट्रान्जिट, अहिले सुनको (भिडियो रिपोर्टसहित)

तस्बिरः बिएल

नेपालको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन विमानस्थल एक ताका लागुऔषध तस्करीको मुख्य ट्रान्जिटका रुपमा बदनाम थियो, अहिले यो सुन तस्करी ट्रान्जिटका रूपमा थप बदनाम छ।एक वर्षमा तीनहजार आठसय किलो सुन छिरेको यो विमानस्थलबाट अहिले चाँहि थोकमा भन्दा पनि खुद्रामा सुन तस्करी भैरहेको पाइएको छ।

लागूऔषधको तस्करीको समयको कुरा गरौं, त्यतिबेला साउथ अफ्रिकामा बनेको कोकिन, हिरोइनलगायतका लागुऔषध नेपाल भित्रिन्थ्थो र भारत हुदै युरोप, चीन, जापान लगायतका देशमा जाने गर्थ्यो।त्यसैगरी नेपालमा उत्पादन हुने चरेश, अफिम र पाकिस्तानबाट आउने खैरो हिरोइन नेपाल हुदै युरोप, चीन, थाईल्याण्डलगायतका देशमा जाने गर्थ्यो।

त्यतिबेला कोकिन माछा मार्ने डोरीदेखि स्याम्पुको बोतलभित्र समेत लुकाएर ल्याउने गरिन्थ्यो।अनि यताबाट जाने चरेशलाई बौद्ध धर्मग्रन्थदेखि सुटकेसमा फल्स बटम बनाएर समेत लैजाने गरिन्थ्यो।

तर, नेपाल प्रहरीले विशेष सूचनाको आधारमा बिमानस्थललगायत विभिन्न स्थानबाट ठुलो परिमाणको लागुऔषध चरेश, अफिम, गाँजालगायत बरामद गरेर तस्करहरूलाई चुनौति दियो। उनीहरूले अब नेपालमा दैया नचल्ने महसुस गरेर बाटो नै फेर्न बाध्य भए।



यसरी कुनै बेला लागुऔषधका कारण फेमस नेपालको एक मात्र अन्तराष्ट्यि बिमानस्थलको परिचय फेरिएको छ।पहिला जसरी लागुऔषधको तस्करी हुन्थ्यो, अहिले त्यही शैलीमा सुन तस्करी हुन थालेको छ।

४/५ वर्ष अघिसम्म त्रिभुवन विमानस्थलबाट सुन आउने चर्चा खासै चल्ने गरेको थिएन।त्यसबेला सुन तस्करीको मुख्य नाका नै तातोपानीलाई ठानिदै आएको थियो।प्रहरी प्रशासनदेखि सबैको ध्यान तातोपानीमै गयो तर यता तस्करले बिमानस्थलबाट टन टनका सुन छिराइरहेको अत्तोपत्तो नै भएन।

जव ७१ सालमा त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध भन्सार छलीको ३३ किलो सुन बरामद भयो, तव बिमानस्थलमा सुन तस्करीको अड्डा भएको सुइको मिल्यो।

त्यसको केही समयपछि बिमानस्थलबाटै तस्करीको ३३ किलो सुन हराएको विषयमा सनम शाक्यको हत्या भयो। सोही प्रकरणामा २ जनाले आत्महत्या गरे। त्यसपछि राज खुल्यो- सुन तस्करीको अड्डानै बिमानस्थल रहेछ।

सनमको हत्यापछि सरकारले छानबिन गर्न वृहत छानबिन समिति बनायो, उक्त समितिको छानबिनपछि पाँच वर्षमा ३८ सय किलो सय किलो सुन बिमानस्थलबाट भित्रिएको रहस्यको पर्दाफास भयो।यस मुद्दामा प्रहरीका अवकाशप्राप्त डिआईजीदेखि दुईजना बहालवाला एसएसपीसहित ९ जना प्रहरी नै पक्राउ परे।



त्यसपछि भने त्रिभुवन बिमानस्थलबाट हुने सुन तस्करी केही समय रोकियो। बजारमा सुनको अभाव हुन थाल्यो। यो थाहा पाएर सुन तस्करले नयाँ नयाँ उपाय लगाएरै भएपनि सुन भित्रयाउन थाले। जसका केही उदारण यस्ता छन् ।

गत चैत २८ गते साढे तीन किलो तीन सय ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे।चाइना इस्टर्न एयरलाइन्समार्फत् काठमाडौं आएका उनीहरूले सुन कार्बनमा र्याप गरेर कण्डममा बेरी मलद्धारमा लुकाएर ल्याएका थिए। भन्सार पास गरी बाहिर निस्कने बेला मेटल डिटेक्टर मेशिन कराएपछि केरकारको क्रममा उनीहरू पक्राउ परेका थिए।



त्यसैगरी ७५ चैत्र २१ गते प्रहरीले त्रिभुवन बिमानस्थलबाट चारजना भारतीय नागरिकलाई ६ किलो सुनसहित पक्राउ गर्य। थाई एयरलाइन्सबाट काठमाडौं आउँदै गरेका उनीहरूले झट्ट हेर्दा स्टील र रबरका बाला जस्तै देखिने गरी बाला बनाएर सुन ल्याएका थिए।

त्यसैगरी ७५ साउन १० गते थाइ एयरलाइन्सको फ्लाइट नम्बर ३१९ को उडानमार्फत बैंककबाट काठमाडौँ आएका भारतीय नागरिक ईश्वर दास, हर्मिन्द्र बबेजा, अमृतपाल सिंह र अवतार सिंहलाई प्रहरीले एक किलो सुनसकित पक्राउ गर्यो।सुटकेसको पांग्रा बनाएर उनीहरुले सो सुन ल्याएका थिए।

त्यसको एक साताअघि नेपाल एयरलाइन्सको विमानमा दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक रिज्वान अब्दुल रज्जाकलाई प्रहरीले तीन सय ४८ ग्राम अवधै सुनसहित पक्राउ गर्यो।रज्जाकले पाइन्टमा लुकाएर सुन ल्याएका थिए ।

त्यसैगरी ७५ साउन २ गत दुबईबाट काठमाडौं आउँदै गरेका एक भारतीय नागरिकबाट एक हजार ९६७ ग्राम सुन बरामद भयो।सुनलाई पगालेर झोल बनाएर त्यसको बेल्ट बनाएर शरिरमा बाधेर ल्याएको बेला प्रहरीले उक्त सुन बरामद गरेको थियो ।

त्यस्तै, ७५ साउन अन्तिम साता दुई थाई नागरिकलाई प्रहरीले करिव एक किलो सुनसहित पक्राउ गर्यो।थाई नागरिक रुथमस जकपारनीकुल र मिस प्रिमियम डेजाहो काचीले माला, बेल्ट, घडीको कभर र वाला बनाएर उक्त सुन नेपाल भित्रयाएका थिए ।

यी र यस्ता जुक्ति लगाएर विदेशीले कैयनपटक अवैध सुन नेपाल भित्रायाउने गरेका छन्। ठुलो मात्रामा तस्करी गर्नेको जालो प्रहरीले तोडेपछि तस्करले विभिन्न उपाय लगाएर नेपाल सुन भित्रयाउने गरेको प्रहरीको भनाइ छ।

पछिल्लो सयममा सुन तस्करीको जालो तोडिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीको दाबी छ । उनी भन्छन्, 'बिमानस्थलबाट तस्करी गर्नेहरुलाई हामीले पक्राउ गर्यौ, अव त्यस्तो ठुलो मात्रामा आउँदैन, यसरी सानो मात्रामा विभिन्न उपाय लगाएर सुन भित्रयाउने गरिएको छ, अव त्यो पनि बन्द हुन्छ।'

उनका अनुसार सुन तस्करले खाडीबाट आउँने भरिया र नेपाल भ्रमणमा आउने बिदेशीलाई प्रयोग गर्न थालेका छन्।

प्रकाशित मिति: : 2019-04-25 08:54:14

प्रतिकृया दिनुहोस्