तातो घामको पसिनामा भिज्नु रहन हैन, बाध्यता हो।नेपाली समाजमा ब्याप्त राजनीतिक खिचातानीकै कारण मुलुक अनेक समस्यामा जकडिएको छ र आज लाखौं नेपाली युवा यस्तै भावनामा बग्दै भए पनि विदेशी भूमिमा पसिनाको भेल बगाउँन बाध्य छन्।
तर, मुम्बईको भैसी गोठाला प्रकाश खनालको कथा भने बेग्लै छ।उनी नेपालको नवलपरासी कावासोतीबाट आएका हुन्।२६ बर्ष अघि युवा जोश, खाइलाग्दो ज्यान र मनमा अनगिन्ति सपना बुन्दै उनी मुम्बई हानिएका थिए। जीवनमा पहिलोचोटि छुकछुके रेलको रमाइलो यात्रा समुद्र नजिकै आइपुग्यो।सपना पूरा गर्ने ईट्टा अथात् कामको खोजी भयो।सँगै मुम्बई आएका साथीभाइ कम्पनी, होटेल, चौकीदारमा लागे।कता जाने होला?, प्रकाश भने अल्मलमा परे।
एकजना गाउँले पनि साथमै थिए।साथीहरु कता, कता पुगे?,प्रकाश भने भैँसीगोठतिरै अल्झिए।उनको दैनिकी भैँसीको गोठालो, दुध बेच्न बजार जाने हुँदै आम्दानीको लेखाजोखा गर्नेसम्म पुग्यो।राम्रोसँग काम गर्दै गए । मालिकको बिश्वास जिते।जिम्मेवारी पनि बढाए।सुरुमा नरमाइलो लागेपनि, हातमा राम्रै आम्दानी पर्न थालेपछि, जिन्दगी बद्लिएको बताए।
प्रकाश भैँसीगोठमै रमाएका छन्।उनलाई कुनै पछुतो छैन, बरु यतिबेला त खुशीले फुरुङ्ग पो भएका छन्।कम दुःखले, राम्रो पैँसा कमाउँछन्।तबेलामा काम गरेको, दुई दशक बढी भयो।छ सय भैँसीको हेरचाह गर्ने जिम्मा लिएका छन्।सँगै काम गर्ने करिब ४५ जना कामदार पनि उनै खटाउँछन्।आरे कोलोनी गोरेगावबाट मुम्बईको मार्केटमा बिहानैदेखि दुध पुर्याउने काम सुरु हुन्छ।
प्रकाशलाई मालिकको राम्रो साथ छ।आफुले मुम्बईमा यस्तै पेशा गर्ने बताउँदा, मालिकले उनलाई नै रोज्छन, अन्य ठाउँमा जान दिँदैनन्।अनुभव, कामको लगनशिलता, मेहेनत र सबैतिरको विश्वासले, उनको जीवनमा आर्थिक पाटो उच्चो बनेको छ।
सामान्य जीवनशैलीमा रमाउने खनाल, स्वास्थ्यमा निकै ख्याल राख्छन्।धार्मिक आस्थाभन्दा पनि, धार्मिकस्थल घुम्ने रुचि छ उनको।फुर्सदै हुँदैन।बिहान चार बजेदेखि दिउँसो दुई बजेसम्म दुधको लेखाजोखा हुन्छ। तर, जहाँ ईच्छा त्यहाँ उपाय भनेझै प्रबासी नेपालीका कार्यक्रममा भने उनी जसरी पनि समय मिलाएर पुग्छन्।खनाल भन्छन् ‘गाउँवाले, मित्रजनसँग बिरलै भेटघाट हुन्छ, तैपनि म पुग्छु।'
दुधबाट बन्ने सबै चिजको राम्रो ज्ञान छ खनालसँग।'दुध नबिके धेरै प्रकारका परिकार बनाएर खपत गर्न सकिन्छ, दुधलाई खेर जान दिइदैन' उनी अगाडि भन्छन्- 'दुध भने ताजा नै बेच्नुपर्छ।'
प्रकाशले दुईवटा अटो किनेर आफैले काम गर्ने तबेलामा भाडामा प्रयोग गरेका छन्।भाडाबाट आउँने रकमसमेत जोड्दा मासिक, नेपाली एक लाख साठी हजारसम्म कमाउने गरेको उनी सुनाउँछन्।
'धेरैलाई अचम्म लाग्छ, मुम्बई पुगेको मान्छे, किन भैँसीको हेरचाहमा?' मलाई केही साथीभाइ यही प्रश्न गर्छन्। प्रकाश भन्छन्- 'तर, तिनीहरुलाई भैँसीकोठको आम्दानी कति हुन्छ, भन्ने थाहा छैन।' पहिला भैँसी हेरचाहमा लागेकै कारण साथीभाइले आफूलाई मजाकको विषय बनाएको सम्झदै प्रकाश भन्छन्- 'बल्ल आजकाल बुझेछन, पछुताउँछन, उनीहरु।'
'धेरैको सोच हुन्छ, आधुनिक युगमा भैँसीगोठमा किन, काम गर्ने।बरु जोखिम मोलेर अप्ठेरा काम गर्न तयार हुने हाम्रो युवा पुस्ता, सजिलो कामबाटै राम्रो आम्दानी चाहँदैनन्', प्रकाश भन्छन्- 'कम्पनी, होटेल र सरकारी जागिर रगत छउन्जेल मात्रै हो।मैले गर्ने काम राम्रोसँग सिकियो, जानियो भने, भोलि देशमै फर्किएर गाउँमै मजाले भैसीपालन गर्न सकिन्छ।'
उनीसँग काम गर्नेले महिनाको नेपाली १६ हजारसम्म बचाउन सक्ने प्रकाश बताउँछन्। तर पनि नेपालीले काम गर्ने ईच्छा नदेखाएको उनको गुनासो छ।'सामान्य काम न हो, भैँसीको रेखदेख, सरसफाई, दानापानी, दुध ओसारपसार, यस्तामा पनि हाम्रो जाँगर चल्दैन।जीवन यतै बिताउने होइन, यो त सिक्ने ठाम न पर्यो।पछि त गाउँमै गएर यस्तै काम गर्नुपर्छ।काम गर्दा, धेरै कुरा सिक्ने अवसर भयो', प्रकाश भन्छन्।
युवाहरु दैनिकजसो मलेसिया, कतार र दुबई कामदारकै रुपमा पुग्छन्। उता पुग्दा सोचेअनुरुप काम र दाम पनि हुँदैन, ज्यानको जोखिम मोलेर काम गर्न बाध्य हुन्छन्।तरपनि गाउँमै फर्किएर केही ब्यबसाय गर्ने मनस्थिति देखिदैन। उता गर्ने काम गाउँमै फर्किएर, गर्न सम्भब पनि छैन।तर, प्रकाश मुम्बई आएर, जुन काम गरिहेका छन्, त्यो भने नेपाल फर्केर गर्न सकिन्छ।
प्रकाश पहिलेका कुरा सम्झदै भन्छन्- ' उबेला गाउँमा स्कुल थिएनन्।परिवारको आर्थिक अबस्था पढ्न सक्ने थिएन।तर, पनि सात कक्षा पास गरें।' भैँसीको उपचार गर्ने बिधि पूरै थाहा पाउँन त्यति पढाइ पनि काफी भएको बताउँदै उनी अगाडि भन्छन् -' काम गर्दै जाँदा, सबै कुराको अनुभव हुने र कामले नै काम सिकाउँने रहेछ।'
संसार आधुनिक भैसक्यो।युवा शिक्षित छन्।पढे-लेखेका छन्।नयाँ ढंगले गाउँमै राम्रो ब्यबसाय गर्न सक्छन्। किन, गाम् छोड्न पर्यो।गरे जे पनि सम्भब छ', प्रकाश युवाहरुलाई यसरी काम गर्न अनुरोध गर्छन्। 'युवाहरु अमेरिका, कोरिया, जापान र लण्डन नै ताक्छन्।कहिलेकाहीँ सोच्छु, के उनीहरुले त्यहाँ कामै नगरेर धेरै पैँसा कमाउँछन् होला त? त्यो पनि होइन, परिवार एकातिर, गाउँ कता हो कता?, कडा परिश्रम गरेर पनि उनीहरूले भने जति त कमाउँन सकेका छैनन्।'
प्रकाश भन्छन्- 'अर्काको देशमा गएर तातो धुपमा पसिनाको भेल बगाइरहेका छन्।गाउँमै केही गरम् भन्यो भने कोही तात्दैनन्।यसो भन्यो भने आफूचाँहि मुम्बई पसेको भन्छन्।' प्रकाशलाई आफ्नो समय र परिस्थिति फरक रहेको लाग्छ।तर, अहिलेका युवाका लागि भने देशमै सम्भावना छ जस्तो लाग्छ उनलाई।त्यसैले उनी भन्छन्- 'म पनि एकदिन गाउँमै फर्कने हो।सकेसम्म आफ्नै गामठाममा पसिना बगाउँन सकेको