क्यानडामा मैनालीसहित १७ नेपालीद्वारा रक्तदान

कीर्तिमानी रक्तदाता अर्जुनप्रसाद मैनालीसँगै क्यानडाका नेपाली रक्तदाताहरू । तस्विर: बीएल

विदेशमा रहेर सबैभन्दा धेरैपल्ट रक्तदान गर्ने नेपालीको कीर्तिमान बनाएका अर्जुनप्रसाद मैनालीको उपस्थितिमा क्यानडामा रहेका नेपालीले रक्तदान गरेका छन्।

परोपकारका निम्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको रक्तसंचार पद्दति विकास कार्यक्रमअन्तर्गत मैनालीको उपस्थितिमा क्यानडाका नेपालीले रक्तदान गरेका हुन्। टोरन्टोको मिसिसागास्थित हर्टल्याण्डमा शनिवार आयोजित कार्यक्रममा मैनालीले १७०औं पटकको रक्तदान गरे।काभ्रे जन्मथलो भई झण्डै १९ बर्षदेखि अमेरिका बस्दै आएका मैनाली रक्तदातालाई प्रोत्साहन गर्न टोरन्टो आएका थिए।

‘यो मेरो १७०औं रक्तदान हो’ ५० बर्षीय मैनालीले रक्तदान गर्ने क्रममा सुनाए, ‘एकपल्ट दान गरेको रगतले तीन जनासम्म मानिस बाँच्नसक्ने हुँदा यो पुन्य काममा सहभागी हुनु राम्रो हो।’ मैनालीले एनआरएनएमार्फत विश्वका १५ मुलुक पुगेर रक्तदान गरिसकेका छन्।

नेपालीमा सर्वाधिक रक्तदान गर्ने कीर्तिमान चाहिँ काठमाडौंका प्रेमसागर कर्माचार्यको नाममा छ। ‘ब्लड बैंक’ चलाउने निकायमाझ कर्माचार्य र मैनाली दुबैको नाम परिचित छ।

एनआरएनए क्यानडाले टोरन्टोमा चौथोपटक आयोजना गरेको रक्तदान कार्यक्रममा अध्यक्ष गोपिकृष्ण काफ्लेले पनि रक्तदान गरेका थिए। उनले अब  ३/३ महिनामा रत्तदान कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उल्लेख गर्दै यस्ता परोपकारजन्य कामले सकारात्मक सन्देश जाने अपेक्षा गरेको बताए।कार्यत्रम समापन गर्नेक्रममा अध्यक्ष काफ्लेले भने, ‘रक्तदान भनेको जीवनदान हो, बेला बेला रगत दान गर्दा केही हानी हुन्न, बरु, केही त गर्न सकें भन्ने महसुस हुन्छ ।’

रक्तदान गर्ने सबैलाई एनआरएनएका तर्फबाट प्रमाणपत्र प्रदान गरिएको थियो। 

प्रकाशित मिति: : 2019-04-21 02:39:13

प्रतिकृया दिनुहोस्