मध्ययुगिन वास्तुकलाको ‘मास्टरपिस’ मा सल्किएको आगो मेरो मथिंगलमा जलेको पन्ध्र दिन भइसक्यो। एक साताअघि म क्योटोको सान्जुसाङगेन–दो मन्दिरमा थिएँ।
ई.पू. ११६४ मा स्थापना भएको यो मन्दिरले १२६६ ताका वर्तमान स्वरूप पाएको हो। सोमबार आंशिक रूपमा जलेको पेरिसको नोत्रे देम कथिड्रलको निर्माण पनि त्यही समय, ई.पू. ११६० मा सुरू भएर १२६० मा सम्पन्न भएको हो।
सान्जुसाङगेन–दो कान्नोन देवताप्रति समर्पित छ। उनी बोधिसत्व अवलोकितेश्वेरका जापानी स्वरूप हुन्। क्यानोन ब्रान्ड यही नामबाट प्रेरित भएको हो।
मन्दिरको बाहिरी स्वरूप क्योटोेका शानदार संरचनासँग मिल्दैन। तर, यसको होन्दो वा केन्द्रीय हलको लम्बाइ विशिष्ट छ। हल यति लामो छ कि १६ औं शताब्दीदेखि यसको बरन्डामा ‘आर्चरी’को प्रतिस्पर्धा हुन
थाल्यो। मन्दिरभित्र कान्नोनका एक हजार एक सय ओटा ‘लाइफ–साइज’ प्रतिमा छन्। लहरै मिलाएर राखिएका ती प्रतिमाले होन्डो भरिएको छ। मन्दिरको अग्रभाग र छेउछाउका भाग आगन्तुकका लागि खुला छ। आकार, आसन र आचरणमा वास्तुहरू एकअर्कासँग दुरूस्तै मिल्छन्। नजिकबाट नियाल्दामात्रै फरक छुट्याउन सकिन्छ।