सिडिओको आँखै अगाडिको त्यो भयानक दुर्घटना

तस्बिरः बिएल

सोलुखुम्बुको खुम्बुपासाङल्हामू गाउँपालिका २ लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुँदा को–पाईलटसहित तीन जनाको ज्यान गएको छ।

आईतबार बिहान करिब ९ बजेर २० मिनेटमा रामेछापको मन्थलीका लागि उड्दै गरेको समिट एयरको जहाज धावनमार्गबाट अनियन्त्रित भएपछि दुर्घटना भएको हो। दुर्घटनाबाट समिट एयरका को–पाईलट सुजित ढुंगानासहित दुई प्रहरीको ज्यान गएको छ।

समिट एयरको कलसाईन नाईन एन– एएमएच जहाज मनाङ्ग एयरको हेलिकप्टर नाईन एन–एएलसँग ठोक्किएर दुर्घटना हुँदा विमानस्थल सुरक्षाको लागि खटिएका दोलखा घर भएका पर्यटन प्रहरी (असई) रामबहादुर खड्का, काठमाडौं महानगरपालिका ७ चाबहिलका समिट एयरका सुजित ढुंगाना र विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको ज्यान गएको हो।

को–पाईलट ढुंगाना र पर्यटन प्रहरी खड्काको घटनास्थलमै ज्यान गएको हो भने घाईते श्रेष्ठको काठमाडौंस्थित वि एण्ड बि हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सालिग्राम शर्माले बताए।

दुर्घटनामा चार जना घाईते भएका छन्। समिट एयरका पाईलट रविनाथ रोकाय, मनाङ एयरका पाईलट चेत बहादुर गुरुङ, मनाङ एयरका लुक्ला ईन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार स्याङबुचे कार्की घाईते भएका हुन्।

काठमाडौं कालिमाटीका पाईलट रोकाय उपचारपछि डिस्चार्ज भईसकेका छन् भने ललितपुर उपमहानगरपालिका बस्ने मनाङ एयरका पाईट गुरुङको ग्राण्डी अस्पतालमा उपचार भईरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले जानकारी दिए।

ढाडमा गहिरो चोट लागेको उनी खतरामुक्त रहेको बताईएको छ। मनाङ एयरका लुक्ला ईन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार स्याङबुचे कार्कीको पनि काठमाडौंमा उपचार भईरहेको छ। समिट एयरका एयर होस्टेज रमिता ढुंगाना भने सकुशल रहेको प्रहरी जनाएको छ।

रामेछापको लागि उड्न लागेको विमान धावनमार्गबाट अनियन्त्रित भई उड्ने तयारीमा रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुर्घटना भएको हो।

मन्थली विमानस्थलबाट पर्यटक बोकेर ल्याण्ड भएको जहाज रित्तै अर्को उडानका लागि मन्थली जान गुडेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले बताए। उनले भने, ‘दुर्घटनामा परेका जहाजले ५ फ्याईट गर्ने तालिका थियो। तेस्रो फ्याईट सफल भएपछि चौथो फ्याईटका लागि उड्नेक्रममा दुर्घटना भयो।’

दुर्घटनाको कारणबारे यसै भन्न नसकिने उने बताए। धावनमार्ग चिप्लो पनि नभएको अधिकारीले दाबी गरे।

सिडिओको आँखै अघि दुर्घटना

प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना र प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेल विहान ९ बज्दानबज्दै तेन्जिङ हिलारी विमानस्थलमा ओर्लेका थिए। उनीहरु खुम्बु क्षेत्रको अनुगमन र लुक्लामा आयोजित एक सामाजिक कार्यक्रममा सहभागी हुन फाप्लु विमानस्थलबाट लुक्ला ओर्लिएका थिए। ‘विमानस्थलको चाप अवलोकन गर्दैगर्दा करिब ९ बजेर १० मिनेट जाँदा पर्यटक ओरालेर रामेछापको मन्थली तर्फ उड्नलाई उडेको समिट एयरको जहाज एक्कासी विमानस्थलको दाँया तर्फको पार्किङमा रहेको हेलिमाथी बजारियो।’ प्रजिअ रानाले भने, ‘अकल्पनीय दुघर्टना हेर्दाहेर्दै भयो। तत्काल उद्धारमा परिचालित भयौ।’

दुर्घटनास्थलमा उद्धारमा खटिएका लुक्लाका तोया श्रेष्ठले रनवेमा सिधा गुडेर उड्नुपर्ने जहाज उड्नकै लागि तयारीमा रहेको मनाङ एयरको हेलिमाथि बजारिएको बताए। श्रेष्ठले भने, ‘ड्याङ..... ठूलो आवाज आयो। हतारहतार घरबाट विमानस्थल पुग्दा धुवाँको मुस्लो आईरहेको थियो। त्यसपछि म पनि उद्धारमा खटेँ। मृतक प्रहरी जवानको टाउको फुटेको र समिट एयरका को–पाईलट सुजित ढुंगानाको देब्रे हात शरीरसंग छुटिट्एको थियो।’

उद्धार गर्नासाथ हेलिमार्फत उपचारका लागि काठमाडौं पठाएको श्रेष्ठले बताए।

प्रारम्भक प्रतिवेदनको टोलीद्धारा अनुगमन

जहाज दुर्घटनामा परि तीन जनाको ज्यान गएपछि फ्याईट सेफ्टी स्टाण्डर डिपार्टमेन्टका क्याप्टेन दिपक लामा र ईन्जिनियर प्रभाकर मल्लिकको टोलीले घटनास्थलको अनुगमन गरेका छन्।

दुर्घटनाको प्रारम्भिक प्रातिवेदन तयार पार्नका लागि आईतबार दिउँसो अनुगमन गरि फर्किएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख ईमनाथ अधिकारीले बताए।

विश्वकै जोखिम विमानस्थल

तेन्जिङ–हिलारी विमानस्थल विश्वकै उच्च जोखिमयुक्त विमानस्थल भित्र पर्छ। विमानस्थलको रनवे मात्र ४६० मिटरको छ। साना हेलिकोप्टरहरु ल्याण्ड गर्न सकिने यो विमानस्थलको दक्षिणमा ६ सय मिटर गहिरो भीर रहेको छ। विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन्।

विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक विमानस्थलको सूचीमा राखिएको हो।

प्रकाशित मिति: : 2019-04-15 13:28:55

प्रतिकृया दिनुहोस्