मानवतस्करीको आरोपमा जर्मनीमा 'हाइप्रोफाइल' एनआरएन नेता पक्राउ

तस्वीर सौजन्य: एनआरएन

गैरआवासीय नेपाली संघ एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य छत्रकुमार श्रेष्ठ मानव तस्करीको अभियोगमा जर्मनीको डर्टमुन्डमा पक्राउ परेका छन्।

लामो समयदेखि इटालीमा रेष्टुरेन्ट व्यवसायमा संलग्न श्रेष्ठ केही वर्षयता जर्मनीमा समेत रेष्टुरेन्ट व्यवसायमा संलग्न थिए। जर्मनीको असाध्यै महँगो ठाउँमा राम्रै लगानी गरेर रेष्टुरेन्ट चलाइ रहेका श्रेष्ठमाथि मानव तस्करीलगायतका २० संगीन आरोप लगाइएको छ।

डर्टमुन्ड पुलिसले लामो समयदेखि श्रेष्ठको गतिविधि, श्रेष्ठसँग सम्पर्कमा आएका व्यक्ति र उनको आर्थिक क्रियाकलापको निगरानी गरिरहेको बताएको छ।पर्याप्त प्रमाण पुगेपछि उनलाई गिरफ्तार गरिएका प्रहरीको दाबी छ।

गैरआवासीय नेपाली संघ जर्मनीका पुझवअध्यक्षसमेत रहेका श्रेष्ठ पक्राउ परेको एनआरएन जर्मनीले पनि पुष्टी गरेको छ। इटाली र पोर्चुगलबाट नेपालीलाई ल्याएर जर्मनीको कागजपत्र मिलाइदिने काममा सक्रिय श्रेष्ठ इटालीमा पनि निश्चित रकम लिएर कागजात मिलाइदिने काममा संलग्न भएका थुप्रै उजुरी संस्थालाई प्राप्त भएपनि संस्थाको बदनाम हुन भयले सबै कुरा गुपचुप राखिएको बताइएको छ ।

स्मरण रहोस्, एनआरएनका संस्थापक तथा पूर्वअध्यक्ष जीवा लामिछाने पनि जर्मनीमै विभिन्न व्यवसाय गरेर बस्छन्। आगामी अध्यक्षको दाबी गरिरहेका उपाध्यक्ष कुमार पन्त पनि जर्मनीमै व्यवसायमा क्रियाशील छन् । प्रतिष्ठित संस्थाकै नाम मुछिएर पत्रपत्रिकामा खबर आउन थालेपछि श्रेष्ठको गिरफ्तारी एनआरएन नेताहरूको टाउको दुखाइको विषय बनेको छ।

प्रकाशित मिति: : 2019-04-14 20:49:56

प्रतिकृया दिनुहोस्