दाइको लागि भाइ प्रहरीको सतिः एसईईको पश्नपत्र आउट गर्दा जागिर चट्!

प्रश्नपत्र आउट गराउने प्रहरीद्वय ब्रम्हदेव सुनरैत, दिपेन्द्रकुमार मण्डलसहित शिक्षक विष्णुदेव यादव र मनोज यादव तथा राजेश यादव र उमेश यादव। तस्बिरः नेपाल प्रहरी

एसईई परीक्षाअन्तर्गत गत चैत १४ र १५ गते भएको विज्ञान र सामाजिक शिक्षा विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरियो। प्रश्नपत्र बाहिरिएसँगै परीक्षा नै रद्ध गरियो।
'आइरन गेट' को रुपमा हेरिदै आएको परीक्षाको प्रश्नपत्र लिक हुनुले प्रहरीको सुरक्षा र समाजको अवस्थालाई उदाङगो बनाइदियो। देशभर नै हल्लाखुल्ला भएपछि प्रहरीले अनुसन्धान शुरु गर्‍यो।

स्थानीय प्रहरीले मात्र अनुसन्धान गर्न नसक्ने भएपछि केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी) बाट डिएसपीको नेतृत्वमा टोली पठाएर अनुसन्धान गरियो। कुनै घटनामा महिनौं दिन अनुसन्धान गर्दा पनि कुनै सुराक हात नपार्ने प्रहरीलाई यस घटनामा भने कुनै हम्मे नै परेन।

गत २२ गते प्रहरी प्रश्नपत्र लिक गर्ने ६ जनालाई समात्न सफल भयो। तर, अपशोच जुन प्रहरीले अनुसन्धान गर्‍यो त्यही संगठनका दुई कर्मचारी फन्दामा परे। सुरक्षामा खटिएका दुई रक्षक नै भक्षक साबित भए।

सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत जवान ब्रम्हदेव सुनरैत र दिपेन्द्रकुमार मण्डलको प्रश्नपत्र लिक गराउनेमा मुख्य भूमिका देखियो। कल्याणपुर प्रहरी कार्यालयमा जनता मावि, बनिया र रादु मावि, कल्याणपुरको प्रश्नपत्र राखिएको थियो। प्रश्नपत्र सुरक्षामा हवल्दार हरिनन्दन ठाकुर खटिएका थिए। १३ गते साँझ हवल्दार नभएको मौका छोपी प्रश्नपत्र राखिएको ठाउँबाट प्रश्नपत्र लिक गराउन सफल भए।

दुई जवानमध्ये ब्रम्हदेव सुनरैतले आफ्ना दाइ विष्णुदेव यादवलाई प्रश्नपत्रको फोटो पठाएका थिए। मोबाइलमा रहेको सामाजिक सञ्जाल प्रश्नपत्र लिक गराउन गतिलो माध्यम बन्यो।

भाइ प्रहरीले पठाएको प्रश्नपत्र दाइले राम्रो मूल्यमा बिक्रीसमेत गर्न सफल भएका थिए। ‘एक हजार रुपैयाँदेखि पाँच हजारसम्ममा विक्री गरेको देखियो,’ डिआइजी निरज शाही भन्छन्।

प्रश्नपत्र लिक गराउने मुख्य डिजाइनर दाइ भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। भाइ प्रहरी भएकाले दाइले उनलाई प्रयोग गरेको देखियो। भाइले प्रहरी दाइलाई नाइ भन्न नसक्दा आफु फसेको  बताएका छन्।

डिआइजी शाहीले भने, ‘हामीले दुई प्रहरीको अनुसन्धान गरेका छौं। भाइले दाइको लागि काम गरेको मात्र देखियो। कुनै पैसा लिएको र लोभमा परेको देखिएको छैन। थप अनुसन्धान भइरहेको छ।'

जवान सुनरैतको प्रहरी सेवामा भर्ना भएको लामो समय भएको छैन।

प्रकाशित मिति: : 2019-04-08 21:04:52

प्रतिकृया दिनुहोस्