राजधानीका घर-घरमा मिनी क्यासिनोः प्रहरी अप्रेसन देखाउँन कि कमाउँन ?

तस्बिरः बिएल

गत असोज १९ गते राति एउटा खबरले सबैलाई त्रसित बनायो। मूलपानीस्थितएक घरमा जुवा खेलिरहेको ठाउँमाप्रहरीले छापा मार्दा साढे तीन तलाबाट हाम्फालेर भाग्न खोज्दा दुई जना घाइते भए।

शुक्रबार राति नै धेरै अनलाईले यसलाई मुख्य समाचार बनाए।

शनिबार बिहान नहुँदै अर्को खबर आयो। घाइते ती दुई युवकको मृत्यु भयो।

काठमाडौंका ४३ वर्षीय सरोज घले र सिन्धुपालचोक इन्द्रावती-१ सिङ्पाल काभ्रेका ३८ वर्षीय सोमलाल तामाङको मृत्यु भएको प्रहरीले पुष्टि गर्‍यो।

उनीहरू सामान्य मजदुरी गर्ने व्यक्ति थिए। यो घटनालाई लिएर धेरैले प्रहरीको अप्रेसनमाथि नै प्रश्न उठाए। तर, दिनबिते सँगै घटना सेलायो।

घरभित्र मिनी क्यासिनो नै सञ्चालन भइरहेको खबर प्रहरीकहाँ पुगेको थियो। प्रहरीका अनुसार हेमा गुरूङले घरमा जुवाको कारोबार गराउने गरेकी थिइन् भने घरधनी तेन्डु शेर्पाले दैनिक १० हजार रुपैयाँ भाडा लिएर जुवा खेलाउन घर दिएका थिए।

प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूबाट प्रहरीले ४ लाख ५८ हजार रुपैयाँ पनि जफत गरेको छ।

यही घटनासँगै जोडिए महानगरीय प्रहरीवृत्त बौद्धका तत्कालिन डिएसपी श्यामकुमार राई। डिएसपी राईले रकम बुझेर मिनी क्यासिनो सञ्चालन गर्न दिएको प्रहरी भित्रकै एउटा समूहले आरोप लगायो।

त्यसैको परिणाम थियो राईलाई नै थाहा नदिई रातारात छापा। त्यसो त राई यो घटना भएको केही समयमा नै घुस लिँदै गर्दा अख्तियारको भन्दामा परे। यसले झनै डिएसपी राईले नै रकम बुझेर जुवा खाल सञ्चालन गर्न दिएको शंकालाई मलजल गर्‍यो।

मुलपानीस्थितजुवाखालमा प्रहरीले छापा मारेर २३ जना नियन्त्रणमा लिएपनि राजधानीको जुवा खाल घटेर बीसबाट उन्नाइस भएन।

गत माघ १८ गते महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गर्‍यो।

वृत्तको टोलीले टोखा नगरपालिका९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरूङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङलाई शुक्रबार राति पक्राउ गरेको थियो ।

प्रहरीले सातामा एक दुईवटा घरमा छापा मार्ने गरेको छ। केही मानिस पक्राउ पनि गर्ने गरेको छ। तर, प्रहरीकै संरक्षणमा जुवा खाल चल्ने गरेको आरोप लाग्ने गरेको छ।

जुवा खालको पैसा प्रहरीको खल्तिमा!

गत कात्तिक पहिलो साता जुवा खालमा छापा मार्न गएका प्रहरीले नै खालमा रहेको रकम आफ्नै गोजीमा हालेको खुलेपछि एक प्रहरी कारबाहीमा तानिए।

म्हेपी अस्थायी प्रहरी बिटका इन्चार्ज असई विचित्र थापा मगरले खालको रकम लुटेको उजुरी प्रहरीमा परेको थियो।

जुवा खालमा रहेको १७ लाख रुपैयाँ मध्ये असई थापाले पाँच लाख आफैंले राखेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी परेको थियो।

असई थापा म्हेपीमा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा छापा मार्न पुगेका थिए। चेन गेट लगाएर जुवा खेलिरहेका जुवाडेहरू प्रहरी आएपछि भागाभाग हुँदा असई थापाले पैसा गोजीमा हालेको भन्दै प्रहरीमा उजुरी परेको हो।

तर असई थापाले प्रहरीमा दिएको बयानमा भने जुवाडेहरूले नै कारबाही नगर्नु भन्दै दिएको ३ लाख रुपैयाँ आफूले राखेको बताएका थिए। प्रहरीकै संरक्षणमा राजधानीमा मिनी क्यासिनो सञ्चालन हुन्छ भन्ने यो घटनाले प्रमाणित गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामा कुनै पनि प्रहरीले जुवा खालको संरक्षण गरेको जानकारी आए तत्कालै कारबाही गर्ने दावी गर्छन्। उनी भन्छन्,’ ‘प्रहरीले यस्तो काम गरिरहेको भए हामीलाई जानकारी दिनुहोला । म कारबाही गर्छु।‘

१०८ स्थानमा प्रहरीको छापा ८ सय २६ पक्राउ

गत वैशाखदेखि फागुनसम्म प्रहरीले काठमाडौंमा मात्र १ सय ८ स्थानमा छापा मारेको छ। छापा मार्ने क्रममा प्रहरीले अहिलेसम्म ८ सय २६ जनलाई नियन्त्रणमा लिएको छ। तर, उनीहरु अदालतबाट २ सय रुपैयाँमात्र धरौटी बुझाए समेत छुट्ने गरेको उदाहरणहरु छन्।

लाखौंको खेलमा सयको जरिवानमा छुट्दा उनीहरु पुनः परानै धन्दामा फर्किने गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी भने काठमाडौंमा जुवा केही कम भएको दाबी गर्छन्। ‘जुवाको बारेमा धेरै नै कम सूचना आउने गरेको छ,’ डिएसपी बोगटीले भने।

प्रहरीले छापा मार्दा १ सय ८ स्थानबाट १ करोड १४ लाख ८५ लाख ८३० रुपैयाँ रकम समेत बरामद गरेको छ। प्रहरीले गत मंसिरबाट सञ्चालनमा ल्याएको मोबाइल सेवामा भने आम मानिसले जुवा खेलाएको सूचना समेत दिइहरका छन्।

प्रकाशित मिति: : 2019-03-24 10:14:51

प्रतिकृया दिनुहोस्