सरकारद्वारा बंगलादेशका २० हजार वेबसाइट बन्द

PHOTO : BREAKNLINKS

बंगलादेशमा अश्लील सामग्री राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ। अश्लीलताविरुद्धको अभियानका क्रममा ती साइट बन्द गरिएको उच्च अधिकारीले मंगलवार बताएका छन्।मुस्लिम समुदायको बाहुल्य रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्री पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो। ‘मैले बंगलादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ’, बंगलादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने।

अश्लीलताविरुद्ध आफूले ठूलो लडाइँ लड्नुपरेको बताउँदै उनले यसलाई निरन्तरता दिने जानकारी पनि दिए ।उनले हालसम्म १५, ६३६ अश्लील साइट र २, २३५ जुवा खेलाउने साइट बन्द गराएको जानकारी दिए। बंगलादेशका उच्च अधिकारीले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपको दुरुपयोग भएको ठानेका छन्।

बंगलादेशमा दुरुपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपमाथि प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिए। अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश विदेशी रहेको उनले जानकारी दिए। बंगलादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशन बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीले यस्तो अभियान थालेका हुन्।

बंगलादेशमा अश्लील वेबसाइट सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । बंगलादेशमा झण्डै आधा जनता इन्टरनेट प्रयोग गर्छन् । बंगलादेश दूरसञ्चार नियामक आयोगका एक अधिकारीले भने, ‘सोमवार अश्लील ५५ वेबसाइट बन्द गरेका छौं।’ उनले आइतवार मात्र जुवा खेलाउने १७६ वेबसाइट बन्द गरेको जानकारी दिए।

प्रकाशित मिति: : 2019-02-24 03:59:32

प्रतिकृया दिनुहोस्