सयपत्री कसरी पुग्छ तपाई हाम्रो घरसम्म (भिडियो)

सुन्दरी चालिसे

खेतमा लहलह धानबाला। गाँउघरमा मखमली, सयपत्रीलगायतका फूल ढकमक्क फुलेसँगै हिन्दुहरूको दोस्रो महान पर्व तिहार आँउछ।

गाँउदेखि शहरसम्म झिलीमिली बत्ती बल्न थाल्छन्। आफ्ना घर आँगन सिंगार्छन्। फूलको व्यापार शहर बजारमा अझै फस्टाउँछ।

फूल जति सुन्दर हुन्छ त्यति नै कोमल पनि हुन्छ। फूल टिपेर घर सजाउन जति सहज छ। त्यति नै त्यसलाई स्याहार गर्न गाह्रो हुन्छ। फूलको व्यापार जति सहज र फाइदा देखिन्छ। त्यो भन्दा बढी घाटा हुन्छ।

घाम, पानी मिलाएर राख्नुपर्छ। धेरै पानी भए कुहिन्छ। धेरै घाम भए सुक्छ।

पशुपति क्षेत्रमा पुस्तेनी फूलको व्यापार गरिरहेका राम खलित माली भण्डारीको अनुभव यस्तै छ।

उनको परिवारै फूल व्यवसायमा लागेको छ। मालीको घर जनकपुरमा पर्छ। जनकपुर उप–महानगरपालिका वडा न २०, देवरा रूपैठामा १४ रोपनीमा उनले फुलको खेती गरेका छन्।

राम खलित माली भण्डारीले कलकत्ताबाट सयपत्री फूल मगाउँछन् र काठमाडौंमा बेच्छन्।

अहिले आएर नेपालमै स्थानीय फूल खेती गर्नेको संख्या केही बढिरहेको उनी बताउँछन्। गएको वर्ष मालीले सिन्धुलीबाट स्थानीय सयपत्री फूल १० लाखको बिक्री गरेका थिए। मालीले सो फूलहरु बिक्री गरेवापत १० प्रतिशत लिने गरेका छन्।

भण्डारी भन्छन्, 'फूल बिक्री हुने तिहार, दशैं, शिवरात्रीमा हो। सिजनमा फूल हेरेर मुल्य तोक्ने गर्छौ।'

भण्डारीले कलकत्ताबाट दिनको २ देखि ३ टोकरी सयपत्री फूल र रजनीगन्धा फूलहरु मगाउने गर्दछन्।

भण्डारीलाई गत वर्ष ९ लाख रूपैयाँ बराबरका फूलहरू कुहिएर घाटा लागेको थियो।

कहिलेकाहीँ नसोचेको घाटा व्योहोर्नुपर्छ। भण्डारीको जनकपुरघरमा बुबा, आमा, दाजुभाइले फूलको खेती गरिरहेका छन्।

उनको आर्थिक व्ययभार यसैले धानिरहेको छ। उनका जेठा छोरा अहिले चिलीमा छन्। उनले फ्लोरिकल्चर सम्बन्धी पढाइ गरेका थिए। अहिले चिलीको एक फूल पसलमै काम गरिरहेका छन् ।

राम खलित माली भण्डारी जस्तै राम आशिस पण्डित पनि पशुपतिको देवपत्तन गल्लीमा बीस वर्षदेखि फूल व्यापार गरिरहेका छन्।

पण्डित एकाबिहानै सयपत्री फूलका माला मोरसाइकलमा लगेर आफ्ना दैनिक ग्राहकको पुर्‍याउन जान्छन्। अब उनको यो दैनिकी भइसकेका छ।

उनले कलकत्ताको रानाघाटबाट दैनिक ३ देखि ४ टोकरी फूल मगाउँछन्। तिहारमा बढी खपत हुने सयपत्री तिहारको मुखमा महङ्गो हुने गर्छ।

उनकोमा कलकत्ताबाट मगाएको सयपत्री फूल किन्ने बढी आउँछन्। भारतबाट आउने सयपत्री फूलको माला धेरै दिन टिक्ने हुँदा नेपाली सयपत्री भन्दा भारतबाट आउने बढी बिक्री हुने गरेको छ।

गत वर्ष राम आशिष पण्डित आफूलाई १० देखि १५ लाख रूपैयाँ घाटा लागेको सुनाए। पानी परेर फूल कुहिएकाले नोक्सान ब्यहोर्नुपरेको उनले भने।

यस्तै सुन्दरी चालिसेको बौद्ध, जोरपाटी, फूल तथा पूजा सामग्रीको खुद्रा पसल छ।

उनले पण्डितकै फूल पसलबाट सयपत्रीको माला किन्न थालेको सात वर्ष भएछ।

उनको श्रीमान पुरोहित भएका कारण सुन्दरीले पसलमा फूल बेच्ने काम पनि गर्छिन्। उनलाई पनि नेपालको सयपत्री भन्दा पनि कलकत्ताबाट ल्याएको सयपत्री बढी बिक्री हुने अनुभव रहेको छ।

प्रकाशित मिति: : 2019-10-23 06:54:06

प्रतिकृया दिनुहोस्