स्वदेशमा रोजगारीको सम्भावना नदेखेर अहिले पनि अधिकांश नेपाली युवा विदेश पलायन भइरहेका छन् । तर विदेश गएर दुःख भोगेका नेपाली भने स्वदेशमै केही व्यवसाय गर्ने योजनामा नेपाल फर्किएका छन्।
विदेश जाने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको बेला सिन्धुलीका शेर बहादुर मगरले व्यवसायिक टमाटर खेती गरेर लाखौँ कमाइरहेका छन्।
ललितपुरको गोदावरी नगरपालिका ६ टीकाभैरवस्थित भगवती टोलमा करिब ५ रोपनी जग्गा भाडामा लिएर उनले व्यवसायिक तरकारी खेती सुरू गरेका हुन्।
उनले ९ वटा टनेलमा टमाटर लगाएका छन्। बाँकीमा सिमी, बोडी, साग र फर्सीकोसहित सिजनेबल तरकारी लगाएका छन्।
उत्पादित तरकारीले भगवति टोलका साथै नजिकैका बजारको माग केही मात्रामा पुरा गरेको छ ।
उनी सन् २०१४ मा वैदेशिक रोजगारीकै लागि कतार पुगेका उनले सोचेजस्तै कमाई नभएपछि स्वदेश फर्किए।
‘त्यो बेला नेपालमा केही नदेखेर विदेश गएको थिएँ,’ विगत खोतल्दै कृषक मगरले बिएल नेपाली सेवासँग भने, ‘कतारमा दिनको १८ घण्टा काम गर्नुपथ्र्यो, तर साहुले मात्र १२ घण्टा काम गरेको पैसा दिँदा साह्रै दुःख लाग्थ्यो।'
उनले विदेशमा अरूको पसिना लुट्नेबाहेक अरू केही काम नहुने बताए। 'परिश्रम गरे अनुसार फल मिल्छ होला भनेको त, कहाँ हुनु कसैले पनि पसिनाको उचित मुल्य नतिर्ने रहेछन्,' उनले भने।
कतारमा ३ वर्षको बसाइपछि उनी सन् २०१७ मा नेपाल फर्किए।
नेपाल फर्किएपछि अब स्वदेशमै केही गर्ने भन्दै उनले कृषि सम्बन्धी केही तालिम लिए। त्यसपछि शुरू भयो उनको टमाटर खेती।
उनले टमाटर खेति गरेको मात्र १० महिना भयो।
त्यो बेला तीन दिने तालिम लिएका उनले छोटो समयको तालिमले व्यवसाय गर्न नपुग्ने उनको अनुभव छ।
‘तरकारी खेती शुरु गरेको बेला बेर्ना हुर्काउँनै गाह्रो भयो, तीन दिन मात्र तालिम लिएको खासै जानकारी पनि थिएन, त्यसैले कति बेर्नाहरु मरेर गए,’ उनले भने।
तर विस्तारै कामप्रति इमान्दर भएर लागेसँगै उनले विरूवा कसरी जोगाउने, कसरी हुर्काउने भनेर थाहा पाए। अहिले उनको तरकारी खेती राम्रो भइरहेको छ।
उनी अहिले दुई दिनमा ८–९ हजारको तरकारी बेच्ने गर्छन्। सिमी, बोडी, साग र फर्सी धेरै नलगाएको भन्दै उनले यसबाट एकलटमा १५–२० हजार कमाइ हुने बताए।
एउटा टमाटरको बोटबाटै १५ किलोसम्म उत्पादन हुने गर्छ। एक पटक टमाटरको बिरुवा रोपेपछि ९ महिनासम्म त्यसबाटै उत्पादन खान सकिने उनले बताए।
ठूलोबुबाका छोराले उनलाई काममा सघाउँछन्। दाजुभाइ मिलेर काम गर्छन्। उनका भाइ पनि विदेशबाट फर्किएर नै व्यवसाय गर्न थालेका हुन्।
उनीहरूले अहिले मासिक ७५ हजारको तरकारी बेच्ने गरेका छन्। उनले त्यसमा जग्गा, मल, पानी र औषधीको भाडा तिरेर र सबै खर्च कटाएर पनि ५० हजार बचत गरिरहेका छन्।
त्यसमा दुई दाजुभाई आधा आधा बाँडेर लिन्छन्। थोरै ठाउँ भएकाले आम्दानी पनि थोरै भएको भन्दै उनले ठाउँ बढाउन खोजिरहेको बताए। 'अहिले थोरै ठाउँमा लगाएकोले धेरै कमाउन नसके पनि अब १० रोपनीमा लगाउँदा धेरै कमाइ हुने आशा छ', उनले भने।
‘विदेशमा हुँदा ४० हजार कमाउँथे त्यसमा पनि खाना, खाजा र कोठा भाडा तिर्दा सबै सकिन्थ्यो, गाह्रो हुन्थ्यो, के बचाउन सक्नु’ उनले विगत सम्झिए।
तर अहिले उनले मासिक डेढ लाख कमाउँछन्। गोडमेलमा उनको खर्च हुँदैन। किनभने उनीहरु आफैँ गोडमेल गर्छन्। जग्गाको उनीहरूले वार्षिक ५ रोपनीको ६० हजार तिर्ने गरेका छन्।
उनीहरू स्थानीयहरुलाई बजारको मूल्य भन्दा सस्तोमा तरकारी दिन्छन्।
बजारको मूल्य भन्दा सस्तो पाए पछि स्थानीय पनि मख्ख छन्।
‘आफ्नै गाउँ ठाउँको टमाटर बजार मूल्य भन्दा सस्तोमा पाइन्छ, किन बजारमा किन्न जानू,’ एक स्थानीय विवेक तिमल्सिनाले भने।
तराईबाट ल्याएको बासी हुने र आफ्नै ठाउँको तरकारी ताजा पाइनाले बजारको भन्दा मीठो लाग्ने गरेको उनले बताए।
विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके विदेश गइराख्नु नपर्ने कृषक मगर बताउँछन्।
शुरुमा डेढ लाख रुपैयाँमा लगानीबाट तरकारी खेती शुरू गरेका उनीहरूको लगानी अहिले साँढे ४ लाख पुगेको छ।