युएनलाई आफ्नै कर्मचारीलाई तलब–भत्ता ख्वाउन धौं–धौं

एजेन्सी

संयुक्त राष्ट्र संघ (युएन) मा आर्थिक मन्दीको प्रभाव परेको छ। आर्थिक अभावका कारण युएनका महासचिव आन्तोनियो गुटेरेसले युएनमा आवद्ध ३७ हजार कर्मचारीलाई तलब तथा अन्य सुविधा घटाउने जानकारी दिएका छन्।

गुटारेसका अनुसार हाल युएनमा २३ करोड डलर कमी छ। यसका कारण युएनको गतिविधि सञ्चालन गर्न अफ्ठेरो परेको उनले बताएका छन्।

आउँदो अक्टोबर २४ मा युएन ७४ वर्षमा प्रवेश गर्नेछ। दोस्रो विश्व युद्धपछि विश्वमा शान्ति स्थापना गर्न युएनको गठन भएको थियो।

हाल यसअन्तर्गत १७ वटा संस्था कार्यरत छन्। युएनमा १ सय ९३ देश सदस्य छन्। यी देशहरूले दिने आर्थिक सहयोगले नै युएनको गतिविधि सञ्चालन हुने गरेको छ।

तर पछिल्लो समय थुप्रै राष्ट्रले अनुदान नदिएका कारण युएनको अवस्था कमजोर बन्दै गएको बताइएको छ।

प्रकाशित मिति: : 2019-10-09 17:28:09

प्रतिकृया दिनुहोस्