केन्याले आन्तरिक चिया उद्योगको प्रवर्द्धन गरी स्वदेशी उद्योगकै चिया खपत गर्ने नीति लिएको छ। केन्याली सरकारले बिहीबार सो नीति बनाएको बताइएको छ। यसअघि केन्याले किसानबाट राजस्व संकलन मात्र गर्ने नीति बनाएको थियो। यसका लागि केन्याका किसानले चिया निर्यात धेरै गर्ने गर्दथे।
केन्या चिया विकास संस्थाले बिहीबार दिएको जानकारीअनुसार यसअघि केन्याली सरकारले यहाँबाट चिया निर्यात गर्ने र त्यसका माध्यमबाट राजस्व संकलन गर्ने कार्यलाई बढी प्राथमिकतामा राखेको थियो। तर अहिले भने स्वदेशी चिया उद्योगको चियाबाट नै चियाको खपत बढाउने र किसानमार्फत राजस्व संकलनलाई भन्दा पनि स्वदेश चिया उद्योगको चिया स्वदेशमै खपत गर्ने नीति अख्तियार गरेको जनाएको छ।
उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत लिरियोन्का तियाम्तीले केन्याली पत्रकारहरुलाई भने– हामीले अहिलेसम्म चियाको निर्यातबाट राजस्व संकलन गर्ने नीति लिएका थियौँ तर अब भने स्वदेशी उद्योगबाटै चिया उपभोग गर्ने र स्वदेशी चिया उद्योगलाई प्रवर्द्धन गर्ने भएका छौँ। उनले केन्याले अहिलेसम्म स्वदेशी चिया उद्योगमा उत्पादित भएको कम्तीमा पनि ९५ प्रतिशत चिया निर्यात गर्ने गरेको बताए।
स्वदेशी चिया उद्योगको प्रवर्द्धनका लागि देशको युवा बर्गलाई लक्षीत गरेर विभिन्न सुविधाहरु दिइएको र यसबाट चिया उद्योगको प्रवर्द्धन हुने ठानिएको बताए। केन्या संसारमा ठूलो चिया निर्यातक देशका रुपमा चिनिन्छ। यहाँको सरकारी तथ्यांकअनुसार केन्याले विश्वको चिया निर्यातमा कम्तीमा २३ प्रतिशत स्थान ओगटेकाे छ।
केन्याले खासगरी कालो चियापत्तीको निर्यात गर्ने गर्दछ। उसको यो कालो चियापत्ती विश्व बजारमा निकै लोकप्रिय मानिन्छ। यहाँ उत्पादन हुने कालो चिया खासगरी साना किसानहरुको निजी प्रयासबाट ९० प्रतिशत उत्पादन हुने गरेको छ।