डेरीजन्य उत्पादनमा कन्ट्री फुड्सले गुणस्तरमा सम्झौता गर्दैनः सञ्चालक श्रेष्ठ

विगत सात वर्षदेखि गुणस्तरीय दुग्धजन्य बस्तु उत्पादन गर्दै आएको कन्ट्री फुड्स प्रा.लि.का सञ्चालक सन्तोष लाल श्रेष्ठ। तस्बिरः बिएल नेपाली सेवा

उपभोक्ताको पछिल्लो रोजाईमा कन्ट्री फुड्सका उत्पादनहरू

नेपालमा डेरी उद्योगको सङ्ख्यात्मक वृद्धिसँगै यस क्षेत्रमा लगानी पनि बढेको छ। अहिले ३२ अर्ब रूपैयाँभन्दा बढीको लगानीमा सानाठूला गरी २ सय हाराहारीमा डेरी उद्योग सञ्चालित छन्।

दुग्ध विकास संस्थानका अनुसार नेपालमा वार्षिक ६ देखि ८ अर्ब बराबरको दूधजन्य उत्पादनको कारोबार हुन्छ। जसमध्ये अधिकांश हिस्सा निजी क्षेत्रको डेरी उद्योगका उत्पादनले लिएका छन्।

केही वर्षअघिसम्म देशका प्रमुख शहरमा मात्र केन्द्रित डेरी उत्पादनमा विस्तारै विविधता थपिँदै गएकाले कारोबार बढ्दै गएको व्यवसायीहरू बताउँछन्।

पछिल्ला समय नेपालमा डेरी उद्योगका उत्पादनमा विविधता ल्याउन होडबाजी नै चलेको छ। अहिले दूध, दही, घ्यू, आइसक्रिम, चिजजस्ता परम्परागत दुग्धजन्य वस्तुसँगै पनिर, क्रिम, खुवा र विभिन्न किसिमका मिठाइँ पनि उत्पादन भइरहेका छन्। देशभरि गरेर १० लाखको सङ्ख्यामा किसानहरू दूध तथा दूधजन्य व्यवसायमा आश्रित रहेको व्यवसायीहरूको अनुमान छ।

यसै सन्दर्भमा नेपालमा विगत सात वर्षदेखि गुणस्तरीय दुग्धजन्य बस्तु उत्पादन गर्दै आएको कन्ट्री फुड्स प्रा.लि.का सञ्चालक सन्तोष लाल श्रेष्ठसँग बिएल नेपाली सेवाले गरेको कुराकानीको सम्पादित अंश।

पछिल्लो समय दुग्ध क्षेत्र र डेरी उद्योगलाई कसरी हेर्नुभएको छ?

अहिले समग्र डेरी उद्योग केही हदसम्म प्रोत्साहित छ। धमाधम डेरी उद्योग खुल्ने क्रम छ। लगानी पनि बढ्दै गएको छ। त्यसमाथि प्रतिश्पर्धा उत्तिकै छ, जसमा शुद्ध र गुणस्तरमा अझ बढी ध्यान दिन जरूरि छ।  डेरी क्षेत्रको विकास गर्ने हो भने उपभोक्ताको आवश्यकतालाई मध्यनजर राखेर अघि बढ्दा अझ बढी प्रभावकारी हुन सक्छ। 

तपाईं कहिलेदेखि डेरी क्षेत्रमा लाग्नुभयो? यो उद्योगबाट सन्तुष्ट हुनुहुन्छ?

कन्ट्री फुड्स् प्रालिले विगत ७ वर्षदेखि डेरी उद्योग सञ्चालन गरी नोभा ब्याण्डमार्फत आम उपभोक्तामाझ पुर्‍याउँदै आएको छ।

उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै शुद्ध र गुणस्तरीय प्रोडकक्टहरू बजारमा ल्याएका छौं। पछिल्लो समय हाम्रा प्रोडक्टलाई उपभोक्ताले रूचाउन थालेका छन्।

आम उपभोक्ताले हाम्रा उत्पादनप्रति गरेको विश्वास र रोजाईलाई मध्यजर गर्दै आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाउनेछौं।

उपभोक्ताको आवश्यकतालाई पुरा गर्नु हाम्रो दायित्व हो, हामीले उपभोक्ताको रोजाईलाई उचाईमा पुर्‍याउँने छौं।

यति छोटो समयमा हामीले राम्रो बजार पाएका छौं। बजारमा सबैले हाम्रा ब्राण्डहरू खोजी खोजी प्रयोग गर्न थालेका छन्। त्यसैले हामी एकदमै सन्तुष्ट छौं।

तपाईंको डेरी क्षेत्रमा लगानी कति छ?

वर्तमान अवस्था, स्रोत साधन र गुणस्तरीय वस्तु उत्पादन गर्नु अहिलेको मुख्य चुनौती छ। हामीले त्यही चुनौतीलाई ध्यानमा राखि डेरी क्षेत्रमा लगानी गरेका हौं। करीब करिब ३० करोडको हाराहारीमा लगानी गरेका छौं। तर, हामीले लगानीलाई प्रमुख विषय मानेका छैनौं। भोलिका दिनमा त्यो बढ्दै जान्छ।

हेर्नुहोस् विश्व बजारमा अहिले दिन प्रतिदिन उपकरणहरुको मूल्य वृद्धि हुँदै गएको छ, नयाँ नयाँ उपकरण थप्दै जानुपर्छ त्यसो गर्दा लागनीको त कुरै भएन। यती लगानी भयो भन्ने भन्दा पनि हामी गुणस्तरमा विश्वास गर्ने भएकाले हामीले नयाँ उपकरण थप्दै जाने र उद्योगलाई आधुनिक बनाउने क्रममा छौं।

किसानले दूधको बजार नपाएर मिल्क होलिडे मनाउनुपर्ने अवस्था बेला बेला आउने गरेको छ, साँच्चीकै अहिले मिल्क होलिडे अन्त्य भएकै हो? 

हो कुनै बेला यो समस्या थियो। तर, अहिले तपाईंले भनेजस्तौ छैन। अहिले केही हदसम्म यो समस्या समाधान भएको छ। किसानले मूल्य नपाएर मात्र मिल्क होलिडे मनाउने गरेको होइनन्। उनीहरुको बढी उत्पादन भएका बेला बजार पाउँदैनन्। त्यो बेला मात्र मिल्क होलिडे हुने हो। तर, हिजो आज उद्योगहरुले बढी भएको दुधलाई खरिद गरी पाउडर बनाएर राख्ने गरेका छन्। किसानको दुध उत्पादनमा कमी भएपछि त्यसलाई दुध बनाएर बजारको माग पुरा गर्दै आएका छन्।

किसानले मिल्क होलिडे मनाउँदा हामीलाई पनि कहाँ राम्रो लाग्छ र। किसाले मूल्य कम भयो भन्ने, सरकारले किसानको माग पुरा नगर्ने त्यसका बिचमा हामी पर्ने, हो यो समस्या बिगतमा केही नभएको हैन तर अहिले केही रुपमा भए पनि हल भएको छ। यस्ता समस्या आउन नदिन (कमर्सियल कोपरिटीम फारमिङ) को हिसावमा अघि बढ्नुपर्छ।

सरकारले केही समयअघि दुधमा प्रति लिटर ६ रूपैयाँ मूल्य बृद्धि गरेको छ। त्यसैगरी पछिल्लो मूल्य बृद्धिपछि किसानले प्रति लिटर ४ रूपैया १६ पैसा थप पाउन थालेका छन्। यसले किसानलाई केही हदसम्म राहत मिलेको छ।

किसानको मर्कालाई बुझेर सरकारले लामो समयपछि यति भए पनि मूल्य बढायो। जसका कारण अहिले किसान पशु पालनमा अग्रसर हुन थालेका छन्। दिनदिनै पशुपालन गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदैछ। तपाईँ हामी सबैले समाचारमा देख्न र सुन्छौं स्वदेशमा भएकाले मात्र होइन बिदेशमा सम्वन्धीत क्षेत्रको अनुभव बटुलेर फामहरू खोल्न थालिएको छ, यो राम्रो संकेत हो।

सरकारले अहिले विदेशबाट दुध पाउडर एसएमपीमा प्रतिबन्ध गरेको अवस्था छ। एसएमपी आयात नहुँदा यहाँका उद्योगलाई दूध कसरी पुग्छ ?

दुधमा मात्र हैन, अन्य दुध जन्य पदार्थ जस्तै दही, आईक्रिमलगाएतमा पनि एसएमपीको आवश्यक पर्छ। जुन धेरै आवश्यक छ, त्यो कुरालाई सरकारले प्रतिबन्द लगाएको छ। बजारमा यो नभई हुँदैन, त्यसैले चोरीको बाटो भएर एसएमपी बजालमा पुग्ने गरेको छ। यसबाट न सरकारलाई फाईदा छ, नत हामी उद्योगीलाईनै सहज भएको छ।

केही उद्योगले एसएमपी उत्पादन गर्दै आएका छन्, त्यो प्रयाप्त छैन। एसएसपी उत्पादन गर्न कच्चा दुध भारतबाट ल्याएर उत्पादन गरिएको छ। त्यसो नगरी यतैका किसानबाटनै कच्चा दुधको उत्पादन बढाउन जरुरी छ।

स्वदेशी दूधले मात्रै यहाँका डेरी उद्योग तथा कारखाना चल्छ?

तपाईंले ठीक कुरा उठाउनु भयो। स्वदेशी दूधले डेरी चल्छन्, चल्दैनन भन्ने कुरा राज्यले बुझ्न जरूरि छ।

सिजनमा मात्र पुग्छ, जस्तै चैतदेखि भदौसम्म सुख्खा सिजन हो, यो समयमा पुग्दैन। अन्य सिजनमा थोरै मात्र बढी हुने भएकोले उक्त बढी भएको दुधलाई उद्योगले पाउडर बनाएर राख्ने र अभावका बेला त्यसैले काम चलाउने गरेका छन्।

यो वर्षको मात्र कुरा गर्नेहो भने, कच्चा दुधको अभावले गर्दा खेरि कतिपय उद्योगले केही दिन बजारमा दुध पर्‍याउन सकेनन्। कतिपय उद्योगको उत्पादनमा कटौती गरेका थिए।

पछिल्लो समयमा धमाधम डेरी खुल्दैछन्, त्यही अनुसार राज्यले किसानलाई त्यसतर्फ आकर्शीत गराउनुपर्यो। राज्यको नीतिले किसानहरू झनै उत्साहीत भएर दूध उत्पादनमा अग्रसर हुनुपर्‍यो, त्यसका लागि राज्यले ध्यान दिनुपर्छ।

सरकारले पनि डेरी क्षेत्रको विकासका निम्ति सहज वातावरण ल्याउनुपर्‍यो, बजार बिस्तारका लागि आवश्यक पहल गर्नुपर्‍यो। तब मात्र यो समस्या समाधान होला, बाँकी तपाईँले भनेजस्तै अहिले स्वदेशी दूधले नै बजार धानेको छ।

अहिले सरकारले दूधको मूल्य बढाएको छ, यसले डेरी उद्योग र किसानलाई राहत पुग्ला?

पछिल्लो समय सरकारले किसानको समस्या बुझेर दुधमा प्रति लिटर ६ रुपैया बढाएको छ, जसमा ४ रुयैया १६ पैसा किसानलाई गएको छ। त्यसैगरी खुद्रा बिक्रेतालाई प्रति लिटर ३० पैसा बृद्धी भएको छ, बाँकी उद्योगको भागमा परेको छ।

अनि डेरी क्षेत्रको साच्चिकै विकास गर्ने हो भने उत्पादनमा सरकारले ठोष नीति ल्याउनुपर्‍यो।

बजार बिस्तार गरिदिनुपर्‍यो, बजारलाई रिसर्च नगरी अहिले देशमा यति धेरै डेरी खुलेका छन्, उत्पादनले बजार पाउलान् नपाउलान् त्यसमा पनि ध्यान दिन पर्‍यो।

मापदण्ड पुरा गराएर मात्र डेरी उद्योगलाई उत्पादन गराउन दिनपर्‍यो, किनभने गल्ती एउटाले गर्ला भोलि दोष सबैले अरूलाई जाला, उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखि गुणस्तरमा ध्यान दिनुपर्‍यो।

तपाईंको डेरी उद्योगबाट आम उपभोक्ताले कसरी सेवा पाइरहेका छन्, दुग्धजन्य वस्तुहरू के के उत्पादन गर्नुहुन्छ?

हाम्रो मुख्य लक्ष्य भनेको उपभोक्तासामू शुद्ध र गुणस्तरीय उत्पादन दिने हो। नेपाल सरकारको मापदण्ड अनुसार हामीले हाम्रा उत्पादनलाई बजारमा ल्याएका छौं।

त्यसका साथै हाईजेनिक र गुणस्तरलाई हामीले कुनै पनि सम्झौता नगरी बजारमा ल्याएका छौं, हामीसँग दुध, दही, घ्यू, बटर, पनिर, नौनीलगाएतका दूधजन्य बस्तुहरू उत्पादन गर्दै आएका छौं।

हाम्रा उत्पादनलाई आम उपभोक्ताले अत्यन्तै रूचाएका छन्। हामी उपभोक्ताको मागलाई पुरा गर्न अग्रसर छौं। हाम्रा उत्पादन वषैंभरी बजारमा पुगेका छन्।

अहिले डेरी क्षेत्रमा निजी क्षेत्रको झन्डै ३२ अर्ब माथि लगानी छ, अझै डेरी क्षेत्रमा लगानी बढाउन के गर्नुपर्ला?

हो ठिक प्रश्न गर्नुभयो, सुरुमा उद्योग अवस्था बुझ्न जरूरि छ। उनीहरुले के कस्तो उपकरणहरु राखेका छन्, उत्पादन कसरी र कति गरि रहेका छन्, त्यसमा सबै गम्भीर हुनुपर्‍यो। राखिएका उपकरणको क्षमता अनुसार उत्पादन हुनपर्यो, खाली उद्योग खोलेर मात्र हुँदैन। भएका उद्योगले त फुलफेजमा उत्पादन गरेर बजारीकरण गर्न सकेका छैनन्। उद्योग वृद्धि भएर दुधको माग पुरा हुँदैन, पहिला किसानको उत्पादन बढाउनुपर्‍यो।

त्यसैगरी सरकारले डेरी क्षेत्रको विकास गर्न पहिलो कुरा किसानलाई अनुदान दिनपर्छ। जस्तै उपकरण, आर्थिक सहायता, ब्याजमा सुविधा, ऋण लिन सहज र बिमा सुविधा, उनीहरूलाई सो सम्बन्धी शिक्षा र उनीहरुको उत्पादनको बजार र मूल्यको कुरामा ध्यान दिनपर्‍यो।

त्यसैगरी डेरी क्षेत्रको विकास गर्ने हो र आत्मनिर्भर बनाउने हो भने, बाहिरबाट आउने दूधजन्य बस्तुलाई प्रतिबन्द लगाउनुपर्छ। करमा छुट गरेर हुन्छ यात, सरकारले सहुलियत दरमा ऋण दिन पर्छ।

उपकरण ल्याउँदा भन्सार छुट दिनपर्‍यो, करोडौं रकम लगानी गरेर खुलेका डेरी क्षेत्रको सुरक्षामा ध्यान पुगेको छैन। त्यसमा सरकारले चासोका साथ ध्यान दिनपर्यो, डेरी क्षेत्रलाई आवश्यक पर्ने स्रोत साधन र जमिनलाई समेत सस्तो सुलभ तरिकाले भाडामा दिने ब्यवस्था गर्नुपर्यो।

कच्चा पदार्थ आयातमा सरकारले सहज वातावरण बनाईदिनुपर्यो। त्यस्तै बजारको पनि ग्यारेन्टी गर्नुपर्यो। विश्व बजारमा आउने नयाँ नयाँ उपकरणलाई यहाँसम्म ल्याउन निजी क्षेत्रले मात्रै नहोला त्यसमा सरकारले सहयोग गरेर हुन्छ यात सहजीकरण गरेर हुन्छ त्यता तिर पनि ध्यान दिनुपर्यो, तब मात्र भनेको जस्तो होला।

अन्त्यमा, तपाईंको डेरी क्षेत्रमा आगामी योजनाहरू के के छन्?

भविश्यमा हामीले आम उपभोत्ताको चाहाना अनुसार अरु डेरीजन्य बस्तुको उत्पादन छिट्टै बजारमा ल्याउनेछौ। र हाम्रा पोडक्टलाई देशब्यापी बनाउनेछौं। अहिलेको अवस्थामा पोखरा र काठमाडौंका उपभोक्ताले करिब ७० प्रतिशत हाम्रा प्रोडकहरु मन पराएका छन्। त्यसैले डेरी क्षेत्र र हामीले उत्पादन गर्ने प्रोडक्टलाई अझ कसरी राम्रो र गुणस्तर बनाउने, साथै नेपालभरि कसरी बजार बिस्तार गर्ने भन्ने बारेमा योजना बनाएका छौं।

हाम्रा उत्पादनले अहिले राम्रै बजार पाएका छन्, नेपालमा चलेका राम्रा होटल, अस्पताल, स्कुल, कलेजलगायतका ब्यापारिक केन्द्रमा हाम्रो उत्पादन पुगेको छ, हाम्रो माग दिन प्रतिदिन बढ्दै गएको छ।

प्रकाशित मिति: : 2019-10-03 10:25:11

प्रतिकृया दिनुहोस्