नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर

समझदारी पत्रमा हस्ताक्षर

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार दुई देशका प्रतिनिधिमण्डलबीच क्यानडामा भएको वार्तापछि हवाई सेवा विस्तारमा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको हो।

मन्ट्रियलस्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको प्रधान कार्यालयमा भएको वार्तापछि अक्टोबर १ (आज) समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारीमा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियाको तर्फबाट संघीय पूर्वाधार, यातायात,शहरी एंवम् क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जोम वल्फले हस्ताक्षर गरेका छन्।

यो सम्झौता पछि नेपाल र अष्ट्रेलियाबीच भएको सैद्धान्तिक सम्झौताका आधारमा अनुमति प्राप्त एयरलाइन्सहरुले उडान गर्नसक्ने छन्।

समझदारीअनुसार नेपालका एयरलाइन्सले अष्ट्रेलियाको पर्थ, सिड्नी र ब्रिसबेनमा हप्ताको सात उडान गर्न पाउने छन्। अन्य विमानस्थलहरुमा भने असिमित उडान गर्न पाउने सम्झौता भएको छ।

त्यस्तै अष्ट्रेलियाका एयरलाइन्सहरुले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साताको सात उडान गर्न पाउनेछन्। पोखरा, भैरहवालगायतका अन्य विमानस्थलमा भने सातामा २८ उडान गर्नसक्ने छन्।

समझदारीअनुसार नेपाली एयरलाइन्सले अष्ट्रेलियाको मध्यवर्ती विन्दुलाई आधार मानेर न्युजिल्यान्डका दुई विन्दु उपयोग गर्नसक्ने छन् भने अष्ट्रेलियाका एयरलाइन्सले नेपाललाई मध्यवर्ती विन्दु उपयोग गरी भारतको नयाँ दिल्ली बाहेकका दक्षिण एसियाका २ विमानस्थलमा फिफ्थ फ्रिडम उपयोग गर्नसक्ने छन्।

दुई देशका एयरलाइन्सहरुले कोड सेयरको सुविधा पाउनेछन्। समझदारीका तोकिएका उडान संख्य न्यून भएमा तत्काल समझदारी पुनरावलोकन गर्दै संख्या बढाउन सकिने समझदारी पनि भएको छ।

प्रकाशित मिति: : 2019-10-01 09:27:15

प्रतिकृया दिनुहोस्