मेलम्चीको बाँकी काम सक्न सिनो हाइड्रोसँग सम्झौता, समय आगावै सके प्रोत्साहन भत्ता

फाइल तस्बिर

सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम एक वर्षमा सक्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार सम्झौता गरेको छ ।सिनोले सम्झौता आगावै कार्यस्थलको अवलोकन गरिसकेको छ ।

सिनो माथिल्लो तामाकोसीको सिभिल ठेकदार हो । सिनोले कुलेखानी तेस्रोमा पनि काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ ।

आयोजनाले सिनोलाई समय आगावै काम सके प्रतिदिन १२ लाख ७५ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए । यदि काममा ढिलाई भए पनि सिनोले दिनमा १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ ।

सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

हेडवर्क्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नुपर्नेछ ।

यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकेदारसँग समन्वयको काम पनि गर्नुपर्नेछ ।

यसअघि इटालियन कम्पनी सीएमसीले मलम्चीको ठेक्का पाउँदा सिनो हाइड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सक्ने जिम्मा उसैले पाएको छ ।

मेलम्ची आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर सरकारले अघि बढाउन लागेको छ । तर त्यसमा ढिलाइ भइरहँदा काठमाडौंमा मेलम्चीको पानी कहिले आईपुग्छ भन्ने अन्योल छ । मेलम्चीको बाँकी ८ वटा प्याकेज पुराना स्थानीय ठेकेदारलाई दिइएको छ। 

प्रकाशित मिति: : 2019-09-29 17:52:39

प्रतिकृया दिनुहोस्