कर्णालीमा बजेट खर्च छानबिन गर्न समिति गठन

फाइल तस्बिर

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कर्णाली सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिइन् ।

आर्थिक वर्ष २०७५र७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा विभिन्न क्षेत्रबाट आएका गुनासा र प्रदेशसभामासमेत भएको छलफलका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको उनले बताइन् ।

‘समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ’, प्रवक्ता केसीले भनिन्, ‘जुन प्रतिवेदनले संसद् तथा अन्य क्षेत्रबाट प्राप्त गुनासालाई सम्बोधन गर्नेछ ।’ त्यस्तै बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजका लागि आदेश जारी गर्ने निर्णय गरेको उनले बताए ।

त्यसैगरी प्रदेश सरकारको सोही दिनको बैठकले सुर्खेतमा कार्यरत पत्रकार डिलप्रसाद शर्मालाई ‘बोनम्यारो ट्रान्सप्लान्ट’का लागि उपचार खर्चबापत पाँच लाख र करेन्ट लागेर बिरामी भई काठमाडौंमा उपचारत सोरु गाउँपालिका–१ मुगुका भ्यागे नेपाली भन्ने अमर दमाईंलाई एक लाख रुपैयाँ खर्च सहयोग निर्णय गरेको प्रवक्ता केसीले बताइन् ।

प्रकाशित मिति: : 2019-09-23 13:00:29

प्रतिकृया दिनुहोस्