राष्ट्र बैंकले हजारको नोटको स्वरुपमा परिर्वतन गर्ने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोटलाई परिर्वतन गरेर अब एक जोर हात्ती राख्ने तयारी गरिएको हो ।
डेपुटी गभर्नर सिवाकोटीले चितवनका जुम्ल्याहा हात्ती रामलक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको जानकारी दिए।सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको ग्लोबल टेन्डर आह्वानबाट चिनियाँ कम्पनीले जिम्मा पाइसकेको सिवाकोटीले बताए।
अब ३/४ दिनमै सो कम्पनीसँग नोट छपाइको सम्झौता हुने र सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आउने उनले बताए।हाल रहेको हात्ती विदेशी भएको भन्दै कतिपयले आलोचना गरेपछि राष्ट्र बैंकले स्वदेशकै हात्ती अंकित हुनेगरी नयाँ नोट छपाइ गर्ने भएको हो।