चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसियाली क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ ।विश्वविद्यालय अन्र्तगत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा आगामी कार्तिक ३ गतेदेखि ६ गतेसम्म विश्वविद्यालयको बहुउद्देश्यीय भवनमा सम्मेलन हुने लागेको हो ।
‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ सुरु हुने सम्मेलनमा १४ देशमा बाख्रा अनुसन्धान तथा विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्याउन सफल वैज्ञानिक, अनुसन्धानकर्ताहरु सहभागी हुनेछन् ।विश्वविद्यालयकी कायम मुकायम उपकुलपति प्रा.डा. शारदा थपलियाले दिएको जानकारीअनुसार नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, क्युबा, क्यानडा, इटाली, जापान, हंगेरी, इन्डोनेसिया, फ्रान्स, केन्यालगायतका प्रतिनिधिहरुको सम्मेलनमा सहभागीता हुनेछन् ।
चारदिनसम्म चल्ने सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृङ्खला र विकास, बाख्राको आहार, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन् तथा जैविक प्रविधि व्यवस्थापन विषयमा कार्यपत्र पेश हुनेछ । त्यस्तै स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण, बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधिसम्बन्धी करीव ७ वटा विशेषज्ञ, २१ वटा आमन्त्रित, ३५ वटा मौखिक एवम् ५२ बढि पोष्टरहरु गरी जम्मा ११५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने सम्मेलनका सदस्य सचिव डा. निराजन भट्टराईले जानकारी दिए ।
सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतीका रुपमा रहेको पीपीआर रोग र त्यसको नियन्त्रण जस्ता विभिन्न विषयमा समूहगत छलफल गरिने डा. भट्टराईको भनाइ छ ।
नेपालमा के छ बाख्राको अवस्था?
पशु सेवा विभागको तथ्याङ्क अनुसार नेपालका चौपाया पशुहरुको कुल संख्यामध्ये बाख्राको संख्या सबैभन्दा धेरै करीव १ करोड १६ लाख रहेको अनुमान छ । विश्वमा करीव ३५१ प्रजातिका बाख्रामध्ये एशिया महादेशमा मात्रै १४६ प्रजातिका बाख्रा पाइन्छन् । नेपालमा ४ प्रजातिका रैथाने बाख्रा छन् ।
हिमाली भेगमा २ देखि ३ प्रतिशत च्याङ्ग्रा, उच्च पहाडी भेगमा सिनहाल १५ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ५० प्रतिशत खरी र बाँकी तराई बाख्रा तराइ क्षेत्रमा पाइने गरिन्छ । नेपालमा पाइने बाख्राको ३५ प्रतिशत उन्नत जातका बाख्रा छन् ।