म्याग्दीमा निर्माण उपकरणमा आगजनी, दोषिलाई कडा कारबाही गर्न महासंघको माग

तस्बिरः एजेन्सी

म्याग्दीस्थित बेनी नगरपालिका वडा नं. ५ स्थित बगुवखोला नजिक अज्ञात समूहबाट तीन वटा स्काभेटरमा आगजनी गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ।

महासंघका अनुसार निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बी.एन. कन्स्ट्रक्शन प्रा.लि.का प्रबन्ध निर्देशक नारायणघर्ती क्षेत्रीको स्वामित्वमा रहेका ती स्काभेटरमा भदौ २६ गते आगजनी गरिएको थियो।

देश निर्माणमा होमिएका व्यवसायीहरुलाई आतंकित पारी पेशाबाटै पलायन गर्ने कुचेष्टाका साथ भएको आगजनीको घटनामा संलग्न दोषीलाई तत्काल कानूनी कठघरामा ल्याई आवश्यक कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ।

'व्यवसायी र तिनका उपकरणको सुरक्षाको सवालमा महासंघले राज्यका सरोकारवाला निकाय सबैको पटकपटक ध्यानाकर्षण गराइरहेको सन्दर्भमा त्यस्ता घटनामा कमी नआउनु ठूलो चिन्ताको विषय हो,' महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

देशभरका निर्माण व्यवसायीहरु वर्तमान सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को नारालाई साकार रुप दिन विभिन्न प्रतिकूलताका बीच अहोरात्र विकास निर्माणको लागि आफ्नो कार्य क्षेत्रमा खटिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्ण व्यवसायी मैत्री कानून तथा निर्माण सामाग्रीको अभाव, महंगी, चन्दा आतंक, सरकारी निकायबीचको समन्वयमा कठिनाई लगायतका समस्यासँग जुध्दै देशभरका व्यवसायीहरु कार्य क्षेत्रमा खटिएको अवस्थामा व्यवसायी र उनीहरुको उपकरणको सुरक्षामा चरम लापरवाही देखिएको महासंघले जनाएको छ ।

घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

भविष्यमा यस्तो अपराधिक घटना दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि महासंघले सरकार समक्ष अनुरोध गरेको छ ।

प्रकाशित मिति: : 2019-09-15 18:57:49

प्रतिकृया दिनुहोस्