चार्डपर्वलाई लक्षित गर्दै सरकारले सुरु गर्यो सहुलियत बजार

सरकारले सोमबारदेखि दशैँतिहार तथा छठका लागि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सिंहदरबार अगाडिको नेशनल ट्रेडिङ लिमिटेडको प्रथम दिवसको शुभारम्भ गरेका हुन्।

पसलको उद्घाटन गर्दै मन्त्री यादवले किसान र उपभोक्ता दुवैले राम्रोसँग चाडपर्व मनाउन भन्ने उद्देश्यले सरकारले एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको जानकारी दिए।
उनले नेपाल सरकारले बजार व्यवस्था सुव्यवस्थित गरी उपभोक्तालाई बढीभन्दा बढी सहुलियत दिएर दशैँतिहार मनाउने व्यवस्था गरेको बताउँदै जनता कालोबजारीबाट नठगिन सचेत गराए।

मन्त्री यादवले सुपथ मूल्यका पसल निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए।
मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सोमबारदेखि आगामी कात्तिक १७ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालनमा रहने जानकारी गराउँदै यसबाट उपभोक्ता लाभान्वित हुने बताए।
उनले सहुलियत पसल खोलेर बजारमा हस्तक्षेप नगरेको बताए।

नेपाल चेम्बर अफ कमर्स प्रदेश नं–३ का अध्यक्ष कृष्णमान श्रेष्ठले उपभोक्ताले मात्र नभइ किसानले पनि चाडपर्व मनाउनुपर्ने भएकाले किसानलाई पनि केन्द्रित गरेर सस्तोमा सामान उपलब्ध गराउने तथा कृषिजन्य वस्तुको परल भाउ पाउनुपर्नेमा जोड दिए। सोमबारदेखि सञ्चालनमा ल्याइएको सो पसलमा चिनी, मैदा पिठो, चामल, चिउरा तथा गेडागुडी प्रतिकेजी तथा बोरामा रु पाँचदेखि अधिकतम रु २५ सम्म छुट दिएको छ। रासस

प्रकाशित मिति: : 2019-09-09 19:41:28

प्रतिकृया दिनुहोस्