यातायात व्यवसायीको बैंक खाता फुकुवा

तस्बिरः बिएल

नेपाल राष्ट्र बैंकले सिन्डिकेटधारी यातायात व्यवसायीको बैंक खाता फुकुवा गरेको छ। राष्ट्र बैंकले रोकिएको अवस्थामा रहेका साविकका यातायात व्यवसायी समितिका बैंक खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थालाई सोमबार एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको हो।

यसअघि साउन १६ गते मन्त्रिपरिषद् बैठकले समितिका बैंक खाता फुकुवा गर्ने निर्णय गरेपछि अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले भदौ १२ गते राष्ट्र बैंकलाई पत्राचार गर्दै साविकका सबै यातायात समितिका खाता फुकुका गर्न भनेको थियो।

राष्ट्र बैंकका अनुसार उक्त पत्रका आधारमा त्यस्ता बैंक खाताहरु फुकुवा गर्न निर्देशन दिएको हो।

रोक्का राखिएका साविक यायायात व्यवसायी समितिका नामा रहेको चल/अचल सम्पत्ति (बैंक खातामा रहेको रकमसमेत) प्रचलित नियमानुसार रुपान्तरिक कम्पनीको खातामा सार्ने व्यवस्था गर्न गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले पत्राचार गरेको हो।

राष्ट्र बैंकका अनुसार प्रदेश नम्बर १ का ३२, प्रदेश २ का १०, प्रदेश ३ का १ सय १८, प्रदेश ४ का २४, प्रदेश ५ का ४०, प्रदेश ६ का १२ र प्रदेश ७ का ९ गरी २ सय ४३ वटा समितिका बैंक खाता फुकुवा गर्न निर्देशन दिइएको हो।

यसअघि सरकारले सिन्डिकेट अन्त्य गर्न भन्दै सिन्डिकेटधारी सबै यातायात समितिका बैंक खाता रोक्का गरेको थियो।

हाल सबै यातायात व्यवसायी समिति खारेज गरी कम्पनीमा जान तयार भएका छन्।

प्रकाशित मिति: : 2019-09-09 19:11:03

प्रतिकृया दिनुहोस्