सुनको मूल्य तोलाको हजार बढ्यो

भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला एक हजार रुपैयाले वृद्धि भएको छ।

नेपाली बजारमा छापावाला सुनको मूल्य आज ७३ हजार ५०० रुपैया कायम भएको महासङ्घले जनाएको छ।
मङ्गलबार पनि सुनको मूल्य प्रतितोला ५०० रुपैयाले वृद्धि भई तोलाको ७२ हजार ५०० मा कारोवार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २०० रुपैया निर्धारण गरिएको महासङ्घले जनाएको छ।
मङ्गलबार तेजाबी सुन प्रतितोला ७२ हजार २०० रुपैयामा कारोवार भएको थियो।
सुनको मूल्य वृद्धिसँगै चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ।
स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ३५ ले वृद्धि भई ९४० पुगेको छ।

पछिल्लो १५ दिनमा सुनको मूल्य छ पटक बढेको छ भने तीन पटक घटेको छ। भदौको शुरुआतदेखि आजसम्म सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाले वृद्धि भएको छ।
भदौ १ गते छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार रुपैया र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७०० रुपैया कायम भएको थियो।

साउन महीनाको शुरुआतदेखि नै नेपाली बजारमा सुनको मूल्य उकालो लाग्न थालेको हो। साउन महीनामा मात्रै सुनको मूल्य करीब रु सात हजार ५०० रुपैयाले वृद्धि भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा पनि मूल्य बढेको महासङ्घले जनाएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ५३७–५९ अमेरिकी डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा बढ्दो सुनको मूल्यले नेपाली बजारलाई दबाबमा पारेको हो।

बढ्दो क्रममा रहेको चीन–अमेरिका व्यापार युद्ध, अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौतीलगायत कारणबाट विश्वबजारमा सुनको मूल्य प्रभावित भइरहेको छ। पछिल्लो समय अमेरिका र चीनले एकअर्का देशका उत्पादनमा थप कर वृद्धिको घोषणा गरेसँगै सुनको मूल्य झन् प्रभावित हुने आँकलन गरिएको छ। अहिले बजारमा सुनको बिक्री ठप्प प्रायः रहेको व्यवसायी बताउँछन्।

प्रकाशित मिति: : 2019-09-04 18:16:24

प्रतिकृया दिनुहोस्